PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टेकुको अनियन्त्रित लाइनले काठमाडौं सोतर हुने चेतावनी



प्रकाश भण्डारी

टेकुको अनियन्त्रित लाइनले काठमाडौं सोतर हुने चेतावनी

काठमाडौं: पछिल्लो समय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गर्नेको भिड अनियन्त्रित भिडले काठमाडौंमा कोभिड-१९ संक्रमणको जोखिम बढाएको छ।

विभिन्न ठाउँबाट पेशा/व्यवसायदेखि रोजगारीका लागि काठमाडौं आउनेहरु पीसीआर परीक्षणका लागि टेकु पुग्नेको अस्तव्यस्त भिडले संक्रमणको जोखिम बढाएको हो।   

यो पनि : राज्यको लथालिंग पाराले कोरोना परीक्षणका लागि यसरी टेकुमा घण्टौं लाममा उभिन बाध्य छन् रामहरु

घरभेटीहरुले पीसीआरको रिपोर्ट मागेपछि रातभर लाइनमा लागेर पीसीआर गर्नेबाट संक्रमण फैलन सक्ने चेतावनी जनस्वास्थ्यविद्हरुले दिएका छन्।

'टेकुको लाइनले नै काठमाडौं सोतर हुने खतरा'

माइक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरेले सरकारी अव्यस्थापनका कारण नागिरकले पीसीआर गर्न दु:ख यस्तो सास्ती व्योहरेको बताए। उनी काठमाडौंमा आउनेहरुलाई बस चढ्दा नै पीसीआर अनिवार्य गरे टेकुमा भिड नै नहुने तर्क गर्छन्। 'बस चढ्दा नै ७२ घण्टाको रिपोर्ट अनिवार्य गरेको भए अहिलेको भिड हुने नै थिएन,' उनले भने।

काठमाडौं आउन पाइन्छ पनि भन्नु र पीसीआर अनिवार्य नगर्नु सरकारी लापरवाहीको हद भएको उनले बताए। आइसकेकाको फास्ट ट्र्याकबाट पीसीआर र आउनेको सीमा क्षेत्रमै पीसीआरको रिपोर्ट जाँच गरे अहिलेको समस्या समाधान हुने उनको सुझाव छ।

हाल देशभर नै पीसीआर बढाउन नसक्नुको कारण पीसीआर ल्याबको अभाव नभइ जनशक्तिको अभाव भएकोले भएको उनले बताए। 'जसरी टेकुमा भिड भइरहेको छ यो ल्याबको कारणले मात्रै होइन। जनशक्ति कति छ? जनशक्तिको पनि क्षमता हुन्छ। अर्कोतिर ट्रेन जनशक्तिलाई काममा पठाएको छैन,' उनले भने

यो पनि : लाचार सत्ताले निम्त्याएको दर्दनाक दृष्य : मध्यरातको झरीमा रुझ्दै परीक्षणको प्रतीक्षा, ४ दिनदेखि लेमुलहरुको उस्तै दु:खद् दैनिकी

टेकुको लाइनले पीसीआरका लागि भइरहको ढिलाइलाई मात्रै नदेखाइ संक्रमणको हुने खतरा पनि बढेको घिमिरेको भनाई छ। उनीहरु आएको ठाउँबाट संक्रमित नभएको भए पनि लाइनमा या काठमाडौंमा पनि संक्रमण भएको भए त्यसले समुदाय संक्रमणलाई निकै व्यापक बनाउने घिमिरेले बताए। घिमिरेका अनुसार संक्रमण भए नभएको पत्ता लगाउन ५ देखि ७ दिनेको समय लाग्ने भएकाले पनि उनीहरुलाई यतै संक्रमण भएको भए पत्ता लाग्ने सम्भावना न्युन छ। 'संक्रमण देखिन कम्तीमा पनि ५ देखि ७ दिन लाग्छ। उनीहरुको यताको रिपोर्ट घरभेटीलाई मात्रै देखाउन काम लाग्न सक्छ। यताको संक्रमणबारे केही बताउँदैन,' उनले भने। उनीहरुलाई लाइनमा राखेर पीसीआर गर्नु नै गलत भएको र त्यसले काठमाडौं जस्तो घना बस्ती भएका ठाउँमा ठूलो क्षति गर्ने खतरा भएको उनको भनाई छ। 'यो सरासर गलत हो। यसरी लाइनमा लगाएर परीक्षण नै गर्नु हुन्न। यसको व्यवस्थापनका विभिन्न उपाय छन्। त्यसो गरिएन भने मधेशतिरबाट आउने लाइन बस्ने र कोठामा जाने भए त्यसले नै काठमाडौंलाई सोतर बनाउँछ,' उनले भने।

स्थानीय सरकारलाई जिम्मेवार बनाएर पीसीआरको व्यवस्था जिम्मा दिए हालको गन्जागोलको अवस्था नै नहुने उनको तर्क छ।

गाइडलाइन बाइपास गर्दै परीक्षण गर्दा टेकुमा भिड

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकुमा निशुल्क पीसीआर हुन्छ भनेपछि निम्न वर्गीय मानिसहरु लाइनमा लागेको बताए। 'हामीले पीसीआरका लागि एक रुपैयाँ लिदैनौ। त्यसैले विभिन्न ठाउँबाट आएका मानिसहरु रातभर लाइनमा बस्छन्,' उनले भने। सरकरले बनाएको गाइडलाइनविरुद्धै भए पनि अस्पतालले पीसीआर गर्नुपर्ने बाध्यता भएको बास्तोलाको भनाई छ। लक्षण नदेखिएका तथा ट्रेसिङमा नपरेकालाई सरकारी मापदण्ड अनुसार पीसीआर अनिवार्य गरिएको छैन। तर काठमाडौंका घरभेटीले बाहिरबाट आउनेसँग पीसीआरको रिपोर्ट मागेपछि अस्पतालले बाध्य भएर पीसीआर गरिरहेको हो।

'यो सरकारले बनाएको गाइडलाइनभन्दा पनि सोसल इस्युले गर्दा हो। बाहिरबाट आएकालाई घरभेटीले पीसीआर मागेपछि हामीले अस्पताल आउनेको पीसीआर गरिरहेका हौ,' उनले भने।

शुक्रराजको ल्याबमा छैन धेरै क्षमता

शुक्रराज ट्रपिकल तथा सरुवा रोगसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि छ। प्रयोगशाला र शुक्रराज अस्पताल फरकै भए पनि नजिकै छन्। टेकुमा लाइन लाग्नेहरुलाई भने शुक्रराज अस्पतालले मात्रै परीक्षण गर्छ। तर त्यहाँको ल्याबको क्षमता धेरै छैन। बास्तोलाका अनुसार दैनिक ३ देखि ५ सयसम्मको मात्रै परीक्षण गर्न सकिन्छ, शुक्रराजको ल्याबमा। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको भने २ हजारदेखि २५ सयसम्मको दैनिक परीक्षण गर्ने क्षमता छ। तर उनीहरुलाई भने सरकारले कोभिड परीक्षणका लागि बनाएको मापदण्डमा परेकाहरुको मात्रै परीक्षण गर्ने जिम्मेवारी छ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले आफूहरुलाई मुख्यगरी ट्रेसिङमा परेकाहरुको मात्रै परीक्षण गर्ने जिम्मेवारी भएको बताइन। 'हामीले टेकुमा लाइनमा बसेकाहरुको परीक्षण गर्न मिल्दैन। मुख्यगरी ट्रेसिङको जिम्मेवारी हो। उनीहरुको मात्रै पनि हामीलाई दैनिक परीक्षण गर्न भ्याउन मुस्किल परिरहेको छ,' उनले भनिन्।

सरकारले उनीहरुका लागि कुनै वैकल्पिक व्यवस्था गरेको छैन। ५५ सय तोकिएको पीसीआरको मुल्य ४५ सय हुँदै दुई हजार तोकिँदासमेत टेकुमा पीसीआर गर्नेको भिड घटेको छैन।

स्वास्थ्य मन्त्रालयको भनाई यस्तो

स्वास्थ्य मन्त्रालयले नागरिकलाई पीसीआर ल्याबबारे राम्रो जानकारी नहुँदा टेकुमा भिड भएको दाबी गरेको छ। 'टेकु अस्पतालामा मात्रै निशुल्क हुन्छ' भन्ने सूचनाका कारण टेकुमा भिड भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

लक्षण नदेखिएको भए पनि उनीहरुलाई अब रोगग्रस्त क्षत्रबाट आएको भनेर पीसीआर गर्नुपर्ने उनको भनाई छ। 'हामीलाई पनि सुरुमा थाह भएन। उनीहरुको यस्तो भिड छ भन्ने। त्यहाँ लाइन लाग्नेलाई पनि टेकुमा मात्रै निशुल्क हुन्छ भन्ने भयो। उनीहरुको परीक्षण रोगग्रस्त क्षत्रबाट आएको भनेर गर्न सकिन्छ,' उनले भने। चाँडै उनीहरुबारे मन्त्रालयले व्यवस्था गर्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell