PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

हुम्लामा गायब भएको '११ नम्बर पिल्लर' कहाँ छ? तत्कालीन सीमा प्रशासनका मुखिया छवाङ भन्छन्, ‘लिमीको शिरमा छ’



कमलराज भट्ट

हुम्लामा गायब भएको '११ नम्बर पिल्लर' कहाँ छ? तत्कालीन सीमा प्रशासनका मुखिया छवाङ भन्छन्, ‘लिमीको शिरमा छ’

काठमाडौँ: हुम्लामा नेपाल चीन सीमाको ११ नम्बर पिल्लर हराएको वर्षौँ भइसक्यो। जनप्रतिनिधिले पिल्लर २०६४ सालदेखि हराएको भनिरहेका छन्। त्यसयता सशस्त्र प्रहरीले खोजे पनि भेटिएको छैन। पिल्लर हराए पनि राज्यले खासै वास्ता भने गरेको थिएन।

अहिले जब पिल्लर भएको भनिएको हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चा क्षेत्रमा चीनले व्यापारिक भवन बनायो, तब पिल्लरको महत्त्व राज्यलाई खड्कियो। चीनले नक्सा देखाएरै भवन बनाएको भन्दा एक किलोमिटर वरसम्म भूभागमा आफ्नो दाबी गरिसेकेको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासले पनि लाप्चामा चिनियाँ पक्षले भवन बनाएको भूमि चीनकै भएको दाबी गरेको छ। बुधबार विज्ञप्ति जारी गरेर दूतावासले उक्त भूमि चीनतिरै पर्ने प्रस्ट भएपछि भवन निर्माण गरिएको बताएको छ।

‘मिडियामा आएको भवन नेपाल-चीन सीमाको चीनतिर निर्माण गरिएको छ। नेपालले चाहे फेरि पुष्टि गर्नसक्छ,’ विज्ञप्तिमा भनिएको छ।

दूतावासले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको पनि उल्लेख गरेको छ। ‘दुवै पक्षबीच सीमाको विषयमा सधैँ निकट सम्पर्क तथा संवाद हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सीमा विवादका बारेमा बहस बढ्दै जाँदा नेपाल सरकारले पनि उक्त भवन बनाएको क्षेत्र चीनकै रहेको बताएको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चीनले यसअघि घर बनाएकै स्थानमा थप घर बनाएको र त्यो भूमि उसकै भएको बताएका हुन्।

हुम्लाको लिमी उपत्यकामा चीनले घर बनाएको समाचार सम्प्रेषण भएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले अनुगमन गरेको बताए। टोलीले थप तथ्य ल्याउने उनको भनाइ छ।

प्रवक्ता ज्ञवालीले भने, ‘यस्तै खालको समाचार ०७३ सालमा पनि प्रकाशित भएको रहेछ। र, त्यो बेला अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर टिमले स्थलगत अध्ययन गरेको थियो। त्यो बेला बनेका घर चीनतर्फ एक किलोमिटर भूभागमा नै रहेको जानकारी छ। अहिले पनि त्यही भूभागमा नै घर बनाइएको छ।’

चीनले उक्त क्षेत्र आफ्नै रहेको भन्दै नेपाली पक्षलाई नक्सा नै देखाएको थियो। तर नेपालसँग भने उक्त नक्साविरुद्ध प्रस्तुत गर्न कुनै प्रमाण थिएन। बोल्ने त्यहीँ एउटा प्रमाण सीमा स्तम्भ थियो। त्यो हराएपछि चीनसँग नाजवाफ अवस्थामा छ नेपाल। सरकारले उक्त क्षेत्र चीनमा नै रहेको बताए पनि सीमा निर्धारण गर्नका लागि जिल्ला प्रशासन कार्यालय अहिले प्रमाणको खोजीमा लागेको छ। हराएको ११ नम्बर पिल्लर खोज्दैछ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली शनिबारदेखि सीमा क्षेत्रमा पिल्लर खोजिरहेको छ। यस्तै, सदरमुकाममा प्रशासन कार्यालयले पिल्लरसँग सम्बन्धित व्यक्ति र प्रमाण संकलनमा जुटेको छ। हुम्लामा अहिले केन्द्र सरकारदेखि जनस्तरसम्म चासो बढेपछि स्थानीय प्रशासनले पिल्लरको खोजीलाई तीव्र बनाएको हो।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले प्रमुख जिल्ला अधिकारीको टोलीले नारा लेकको पारिपट्टिको लेकमा पिल्लर छ भन्ने सूचनाका आधारमा खोजी गरिरहेको जानकारी दिए। उनका अनुसार यहाँ पिल्लर छ भन्ने सूचना चाहिँ तत्कालीन सीमा प्रशासन कार्यालयका कर्मचारी छवाङ टोक्केल लामाले दिएका हुन्।

सिडिओको टोलीसँग चीनले भवन बनाएको लाप्चा क्षेत्र पुगेर सोमबार फर्किएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले मानपेन्ने ठाउँको माथिपट्टि पिल्लर रहेको सुन्नमा आएको बताए।

‘सिडिओसहित नेपाली सेना र सशस्त्रको टोलीले तीन दिनदेखि १० नम्बर पिल्लर रहेको हिल्साबाट हेर्दै सम्भावित क्षेत्रमा खोजिरहेको छ,’ उनले भने, ‘आधिकारिक जानकारी आएको छैन। पिल्लर फेला पर्‍यो भने चिनियाँ भवन बनेको ठाउँ कताको हो भन्ने सहजै थाहा हुन्छ।’

भवन बनेको क्षेत्रमा दुवै देशका नागरिकले उपभोग गर्दै आएका छन्। नक्सा र सीमा मार्किङपछि मात्रै उक्त भूगोल कसको भन्ने यकिन हुने उनको भनाई छ। पिल्लर खोज्नमा नेपाली टोलीलाई चिनियाँ पक्षले भने सहयोग गरेको छैन।

‘चिनियाँहरू कोरोनाका कारण नेपालतिर छिरेको छैन। बोर्डर बन्द छ। नेपाली पक्षले एक्लै खोजिरहेको छ,’ अध्यक्ष लामाले भने।

सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले पनि पिल्लर खोजी भइरहेको बताए। सिडिओको टोलीमा सशस्त्रका डिएसपी मोहन विष्ट सो क्षेत्रमा खटिएका छन्।

प्रमाण संकलनमा प्रशासन कार्यालय

सहायक सिडिओ हमालले ११ नम्बर पिल्लरसँग सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्ने र प्रमाण खोज्ने काम भइरहेको जानकारी दिए। यस क्रममा प्रशासनले बुधबार दुईपटक पिल्लर निरीक्षणमा गएका तत्कालीन सीमा प्रशासन कार्यालयका मुखिया छवाङ टोक्केल लामासँग कुराकानी गरेको छ। प्रशासन कार्यालयका कर्मचारी अञ्जुब लामाले छवाङसँग फोनमा कुरा गरेका थिए। लामाले पिल्लर कुन ठाउँमा छ, कस्तो प्रकृतिको छ, कसरी खोज्ने भन्ने जानकारी दिएको सहायक सिडिओ हमालले बताए।

छवाङ भन्छन् : चीनले दायाँबायाँ गरेन भने सग्लै भेटिन्छ

'११ नम्बर पिल्लर देखेको दाबी गर्ने पूर्व कर्मचारी छवाङसँग हामीले पनि फोनमार्फत् सम्पर्क गर्‍यौँ। उनले २०५० र ५१ सालमा आफू सीमा निरीक्षणमा गएको दाबी गरे। चीनसँग जोडिएको ३ नम्बरदेखि १२ नम्बरसम्म पिल्लर हुम्लामा पर्छ,’ उनले भने, ‘सीमा प्रशासन कार्यालयबाट हामीले दुई पटक ११ नम्बरसहित जिल्लाका सबै पिल्लरको निरीक्षण गरेका थियौँ। त्यतिखेर सबै पिल्लर सकुशल थिए।’

सीमा प्रशासन कार्यालयमा ६ वर्ष सेवा गरेका छवाङले त्यति बेला वर्षमा एक पटक कार्यालयबाट सीमा निरीक्षण हुने गरेको जानकारी दिए।

‘अफिस हुँदा वर्षमा एकचोटी सीमा हेरिन्थ्यो। पिल्लर राम्रै थिए,’ उनले भने, ‘सीमा पिल्लरका त्यति बेलाको रेकर्डहरू प्रशासन कार्यालयमा होलान्। नक्सा पनि छ। प्रशासनले नचलाएको भए सुरक्षित होला।’

२०५३ सालमा सीमाको यस कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत गाभियो।

‘अफिस खारेज हुने भनेर मलाई सिँचाइमा लगियो। पियनलाई कारागार पठाइयो। मेरा सहकर्मी कोही धनगढी गए, कोही डोल्पा खटिए। किन गाभियो थाहा छैन। म त रिटायर्ड भएकै १२ वर्ष भइसक्यो,’ ७० वर्षीय छवाङले भने।

उनले लिमीको टाउको चाइनिज बोर्डरको गाउँ नजिकै उक्त पिल्लर रहेको सुनाए।

‘बीचमा अरु पिल्लर छैन। १२ नम्बरमा हाम्रो सीमा सकिन्छ। अहिले त्यहाँ भवन बनाइएको सुनेँ। हाम्रो बेला त्यस्तो भवन केही थिएन,’ उनले भने।

उनले प्रशासन कार्यालयबाट आफूलाई पिल्लरबारे आज सोधिएको बताउँदै कहाँ पर्छ भनेर बताइदिएको सुनाए।

‘यदि चीनले भत्काएको वा केही गरेको छैन भने 'जीवित' भेटिन्छ,’ उनले भने। छवाङले पिल्लर अफ्ठेरो ठाउँमा रहेको बताए।

‘माथि भिर भएको भञ्याङमा छ। गएर खोज्यो भने अलिकति समय लाग्ला। तर भेटिन्छ,’ उनी विश्वस्त सुनिए। सरकारी अधिकारीलाई उनले लोकेसन ब्रिफ गरिसकेका छन्। उनले सीमा पिल्‍लरको नियमित निरीक्षण र लाप्चा क्षेत्रमा सीमा सुरक्षा बलको उपस्थिति बढाउन पनि सुझाव दिए।

नापी र परराष्ट्रलाई छैन जानकारी

हुम्लामा पिल्लर हराएको वर्षौँ भइसक्दा र चिनियाँले सीमामा भवन बनाएको विषयमा केन्द्र सरकारलाई भने जानकारी छैन।

भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको नापी विभागले हुम्लामा पिल्लर हराएको बारे जानकारी नभएको बताएको छ। नापी विभागका प्रवक्ता दामोदर ढकालले पिल्लर हराएको कुरा आधिकारिक रूपमा नआएको बताए।

‘पिल्लर हराएको भए पनि एकतर्फी रूपमा जान मिल्दैन। दुई पक्षबीच कुरा भएपछि हामी नापजाँच गर्न जाने हो। परराष्ट्र मन्त्रालयबाट कूटनीतिक रूपमा संवाद भई खबर आएमा हामीले टेक्निकल टिम पटाउँछौँ,’ ढकालले भने।

पिल्लर हराएको भए पुनर्स्थापित गर्नुपर्ने उनको भनाई छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पनि हुम्लाको विषय आफूलाई जानकारी नभएको बताए। पिल्लर हराएको कुरा र सीमामा भवन बनाएको कुरामा उनले बुझ्न बाँकी रहेको जवाफ दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell