PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

परिवारभित्र नै हत्याका घटना : कतै योजनावद्ध त कुनै आवेगमै



सविन ढकाल

परिवारभित्र नै हत्याका घटना : कतै योजनावद्ध त कुनै आवेगमै

काठमाडौं : घटनास्थलको परिस्थितजन्य अवस्थाले मात्र होइन, केही प्राविधिक पक्षले पनि अहिले एउटै कुरा बोलिरहेको छ - घटना हत्या हो। सन्दर्भ भक्तपुरको घरमा भेटिएका तीन मृतक। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अहिले ३६ वर्षीय सुदीप अधिकारीलाई अभियुक्त बनाएको छ।

तर, यो अभियोगमा सुदीपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकेन। किनकि उनी पनि यो संसारमा छैनन्। ढिलै किन नहोस्, उनले श्रीमती र छोराको हत्या गरेको एक दिनपछि आत्महत्या गरेको खुलेको छ।

घटना हो भदौ २६ गते (शुक्रवार)को। मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेरामा एउटै घरभित्र तीन जनाको शव भेटियो। ५ बजेतिर एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका थिए।

सुरुमा प्रहरी नै घटना के हो भन्ने अष्पष्ट थियो। तर तीनै जनाको पोष्टमार्टम रिपोर्टपछि भने दुई जनाको हत्या र एक जनाको आत्महत्या भएको निष्कर्षमा पुगेको छ। शनिवार (भदौ २६) गते भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टले श्रीमती टाउकोमा धारितलो हतियार र छोराको टाउको र घाँटीमा धारितलो हतियार प्रहारबाट मृत्यु भएको देखियो। त्यसैले दुई जनाको हत्या भएको भन्न प्रहरीलाई कुनै कठिन भएन।

'दुई जनाको हत्या नै भएको हो। पोष्टमार्टम रिपोर्टले पनि त्यही देखाएको छ। बाबुको भने शरीरमा कुनै चोट नभएकाले थप रिपोर्ट नआएसम्म केही भन्न मिल्दैन,' महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्।

एउटै घरमा मृत फेला परेका सुदीपको भने पेटभित्र शंकास्पद बस्तु फेला परेको छ। अर्थात् कुनै विषादी पदार्थ। प्रहरीको त्यो आशंकालाई घटनास्थलमा फेला परेको विषदीको दुईवटा बट्टा र छेउमा मरेका किराफट्ट्याङ्ग्राले पनि बल पुर्‍यायो।

त्यस्तै, सुदीपले घटना गरेको अन्य आशंकाको प्रमाणमा तीन जनामको मृत्यु भएको समय फरक हुनु पनि रह्यो। आमा र छोराको मृत्युभन्दा २४ घण्टापछि मात्र सुदीपको मृत्यु भएको छ। बाहिरको मानिसले हत्या गरेको भए समय कसरी फरक पर्थ्यो भन्ने प्रश्नको जवाफ प्रहरीले भेटाएको छैन।

उसो त घटनामा अपराधिक पाटो सँगै इमोसनल फ्याक्ट पनि जोडिएको देखिन्छ। घरको पहिलो तलामा आफ्नै घाटमा मृत अवस्थामा फेला परेका छोराको शरीरमा पिताम्बर ओडाइएको छ। हिन्दु संस्कार अनुसार पिताम्बर मृत्युपछिको सस्कारमा सम्मानस्वरुप ओडाइने गरिन्छ। यदि अरु कसैले घरभित्र छिरेर हत्या नै गरेका भए यतिसम्म किन गर्थे? यसको पनि जवाफ नभेटिँदा सुदीपतिर नै घटनाले संकेत गरेको हो।

'अहिलेसम्मको अनुसन्धानले घरभित्र बाहिरका मानिस आएर हत्या गरेको देखिँदैन। कुनै लुटपाट तथा चोरी भएको छैन,' एसपी थापाले भनिन्।

सुदीप केही समयदेखि डिप्रेसन तथा आर्थिक समस्यामा रहेको भने खुलेको छ। उनले घर ऋण लिएर बनाएका थिए। त्यस्तै ससुरालीसँग पनि केही दिनअघि मात्र दुई लाख रुपैयाँ सापटी लिएको देखियो। आम्दानीका अन्य स्रोत देखिएन। घरमा खोलिएको सानो किराना पसलपनि लकडाउनपछि हुनु र नहुनु बराबरकै भएको थियो।

'घटना बाबुले नै गरेको देखिन्छ। केही टेक्निकल पक्षहरुले पनि पुष्टि भइसकेको छ,' अनुसन्धानमा खटिएका एक प्रहरीले सुनाए।

प्रहरीको अनुसन्धानले औपचारिक रुपमा यही निष्कर्ष निकाल्यो भने सुदीप हत्यारा हुनेछन्। त्यो पनि आफ्नै श्रीमती र छोराको। यदि सुदीप आर्थिक समस्या र डिप्रेसनमा भएको भए, त्यसको ठूलो परिणाम उनका श्रीमती र छोराले चुकाउनु पर्‍यो।

+++

सुदीपमात्र आफ्ना परिवारका सदस्यको हत्या गर्ने एक्ला अभियुक्त भने होइनन्। पछिल्लो समय देशभित्र बाबुले छोराको, छोराले बाबुआमाको, श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको हत्या गरिएका उदाहरण दोहोरिन थालेका छन्। नेपाल प्रहरीसँग परिवारले नै गरेका हत्याको तथ्याङ्क भने छैन। तर, यस्ता घटनाहरु बढ्दै गएको भने नेपाल प्रहरीका प्रवक्ता कुबेरबहादुर कडायतले बताए।

'यस्ता घटनामा आर्थिक र मनमुटावको कारण भएका देखिएका छन्,' एसएसपी कडायतले भने।

परिवारभित्र कै सदस्यको हत्यामा धेरैजसो आवेग र नाशाको सुरुमा भएको पछिल्ला केही घटनाले देखाएको छ। योजनावद्ध घटना निकै कम छन्। भक्तपुर घटनापछि झापामा छोराले आफ्नै आमाको हत्या गरेको घटना बाहिरएको थियो। यो घटना हत्या मदिरा सेवनपछि विवाद हँदा हत्या गरेको देखिएको छ।

मदिरा खाएर आएका छोराले आमाको टाउको र खुट्टामा बन्चरोले प्रहार घटनास्थलमा नै मृत्यु भएको थियो।

काठमाडौं घट्टेकुलको घटना पनि यस्तै प्रकृतिको रह्यो।

२०७३ सालमा बर्दिया बाँसगढी नगरपालिका ९ का अजय विक र काठमाडौंकै सुकुम्बासी बस्तीमा हुर्केकी पार्वती खड्काको प्रेम विवाह भएको थियो। चार वर्ष बित्न नपाउँदै प्रेमीबाट श्रीमान् बनेका अजय नै आफ्नो हत्यारा बने। काठमाठौंको घट्टेकुलोमा बस्दै आएका विकले एक रात मदिरा पिएर डेरा पुगेर आफ्नै श्रीमतीको चक्कु प्रहार गरेर हत्या गरे। उनी यसअघि पनि नशा गरेर डेरामा पुग्थे र श्रीमतीसँग झगडा गर्थे। झगडा पनि नशाले लठ्डिएका अजय सुत्थे। तर, त्यस दिन फरक भयो।

हत्या गरेपछि उनको नशाले ठाउँ छोड्यो। अजय डेराबाट हुर्रिँदै निस्किए। त्यहाँबाट उनी सोझै प्रहरीकहाँ पुगे र आत्मसमर्पण गरे। श्रीमतीको घाँटीमा चक्कु प्रहार गरेको उनले बताए लगत्तै प्रहरी घटनास्थल पुग्यो। घाइतेलाई अस्पताल पुर्‍यायो। तर, पार्वती बाँचिनन्।

अजय नशामा आएको र आफ्नी छोरीसँग झगडा गरेको सोही कोठामा रहेकी अजयकी सासु मीराले सुनिरहेकी थिइन्। तर, पहिले झैं विवादपछि अजय थाकेर सुत्छन् भन्ने लागेको थियो। तर त्यसो भएन। अजयका १४ वर्षीय छोरो टुहुरो भए।

'केहीबेरमा ज्वाइँ नै थाक्छन् र कुट्न छाड्छ भन्ने सोचेँ। फेरि मातेर आएको मान्छेलाई एक दुई दनक त छोरीले पनि दिन्छे भन्ने लागेको थियो,' मीराले भनिन्।

+++

परिवारभित्र हुने यस्ता हत्यामा पुरुष मात्र होइन महिलाहरुको पनि संलग्नता देखिएको छ। अर्थात् श्रीमतीले श्रीमानको, छोरीले आमाको, बुहारीले ससुराकाको समेत हत्या गर्ने गरेको देखिन्छ। महिलाहरु संलग्न भएका केही हत्याहरु भने योजनाबद्ध भएको देखिएका छन्। महिला जोडिएका घटनाहरु सम्वन्धको कारणले गर्दा हुने गरेको देखिन्छ।

'केही त्यस्ता घटनालाई हेर्दा जहाँ सम्बन्धले गर्दा पनि आफ्नै नाताभित्रका मानिसको हत्या गरेको देखिएको छ। योजनावद्ध र रिसको आवेगमा पनि भएका छन्,' नेपाल प्रहरीका एसएसपी कडायतले भने।

गत एकवर्ष अघि आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरमा एक छोरीले आफ्नी ६० वर्षीया आमाको हत्या गरेकी थिइन। भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६० वर्षीय सावित्री भट्टराईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

प्रहरीको अनुसन्धानको क्रममा साबित्रीको हत्या उनकै कान्छी छोरी इश्वरी भट्टराईले गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिएको थियो। आमाको हत्या गर्न छोरीले भारतीय नागरिकमा मोहम्मद नैसाफ, अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद राहिसलाई समेत प्रयोग गरेको खुलेको थियो। मोहम्मद र इश्वरीबीच प्रेम रहेको आमाले थाहा पाएपछि उनीहरुले लामो समय लगाएर आमाको हत्या गर्ने योजना बुनेका थिए।

दैनिक २ जनाको हत्या

देशभर सबै प्रकृतिका दैनिक २ जनाको हत्या हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। विगत तीन वर्षमा देशभित्र भएको हत्याको तथ्याङ्कलाई आधार बनाएर हेर्दा दैनिक दुई जनाले हत्यामा ज्यान गुमाउने गरेका छन्।

आर्थिक वर्ष २०७४\७५ देखि २०७६/७७ सम्म देशभर १ हजार ८ सय ४२ वटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन्। तीन वर्षको तथ्याङ हेर्दा यो दर प्रत्यक वर्ष घट्दै गएको छ। आर्थिक वर्ष २०७४/७५ मा ६ सय २८ वटा मुद्दा दर्ता भएका थिए। जसमा प्रदेश नम्बर २ मा सबैभन्दा धेरै १ सय २२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाउँछ। उपत्यकाभित्र ५३, प्रदेश नम्बर १ मा १ सय १०, वाग्मतीमा ८२, गण्डकी ५५, प्रदेश नम्बर ५ मा १ सय १३, कर्णाली ४५ र सुदुरपश्चिममा ४७ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले भने।

गएको आर्थिक वर्षमा ५ सय ५५ वटा हत्याका मुद्दा दर्ता भएका छन्। प्रदेश नम्बर एकमा सबैभन्दा धेरै १ सय १३ वटा मुद्दा दर्ता भएका हुन्। उपत्यकाभित्र ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै कर्णाली प्रदेश २७ जनाको हत्या भएको देखिन्छ। प्रदेश नम्बर २ मा १ सय ११ वटा मुद्दा दर्ता भएका छन्। वाग्मतीमा ८१, गण्डकी ४३, प्रदेश नम्बर ५ मा ९३ र सुदूर पश्चिममा ५२ वटा मुद्दा दर्ता भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell