PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सम्झना हत्या प्रकरणमा ट्विस्ट : हत्या अभियोगमा पक्राउ परेका बोहोराबाट यसअघि पनि बलात्कार तर गाउँमै मिलापत्र



पहिलोपोस्ट

सम्झना हत्या प्रकरणमा ट्विस्ट : हत्या अभियोगमा पक्राउ परेका बोहोराबाट यसअघि पनि बलात्कार तर गाउँमै मिलापत्र

काठमाडौः बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको हत्या अभियोगमा नियन्त्रणमा लिएका युवकमाथिको अनुसन्धानले घटनामा थप दुइस्ट ल्याएको छ। प्रहरी अनुसन्धानामा १८ वर्षीय राजेन्द्र बोहोराले यसअघि पनि बलात्कार गरेको खुल्न आएको छ। बोहोराले बलात्कार गरे पनि गाउँमा नै भेला गरेर घटना मिलाएको खुलेको हो।

युवक बोहोराले साउन २९ गते एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको छ। साँझ ५ बजेतिर सोही गाउँको घट्टामा गएको समयमा युवकले बलत्कार गरेका थिए। घट्टा उनै बोहोराको परिवारले चलाउँदै आएका थिए। 'अहिले पहिले बलत्कार गरेका पीडित परिवारले समेत उजुरी दिइसक्नु भएको छ। थप अनुसन्धान गरिरहेका छौं,' सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेस सिंहले भने।

घटना भएको दुई दिनपछि साउन ३१ गते गाँउलेहरुले बलात्कृत बालिकाको पेटमा बच्चा भएको खण्डमा जिम्मा लिने गरी कागज गराएका थिए। त्यस्तै पाँच सय रुपैयाँसमेत राखेर ढोग्न लगाएको भेटिएको छ। 'पहिले उहाँहरुले नै प्रहरीलाई खबर नै नगरेर मिलाउनु भएको रहेछ। अब थप अनुसन्धान हुन्छ,' एसएसपी सिंहले भने। साधारण किसिमको कागजमा मेलमिलाप गरिएको देखिएको छ।

अब सम्झनामा मात्रै ‘सम्झना’ : मन्दिरभित्र १२ वर्षीया बालिकाको शव

गत बुधवार राति मष्टा गाउँपालिकामा गोठ गएर फर्किँदै गरेकी सम्झना कामी मृत अवस्थामा फेला परेपछि प्रहरीले बोहोरालाई पक्राउ गरेको थियो। बोहोराले केहि दिनअघि सम्झनालाई कानको मुन्द्रा मागेको कुरा सम्झनाले आफ्ना हजुरबालाई सुनाएकी थिइन्। मृतको शवबाट कानको मुन्द्रासमेत हराएको हजुरबाले सुनाएपछि घटना बाहिरिएको थियो। सम्झनाका हजुरबाले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरीसमेत दिइसकेका छन्।

'उजुरी परिसकेको छ। घटनाको थप अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले भने।

सम्झनाका बुबा र आमा दुवै भारतको कर्नाटकमा बस्दै आएका छन्। सम्झना भने बझाङको मष्टा गाउँपालिका २ स्थित घरमा हजुरबा हजुरआमासँगै थिइन्। घरबाट झन्डै ३० मिनेटको दुरीमा कामी परिवारको गोठ थियो। सम्झना गोठमा गाईबस्तुको व्यवस्थापन गरेर घर फर्किन्थिन्। तर, बुधवार ढिलो घर फर्किएपछि खोज्दै जाँदा बाटोमा पर्ने सिममाणुमा मन्दिर उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

शरीरमा चोट, अर्धनग्न, योनीमा चोट र रगत बगेको अवस्थामा उनको शव फेला पारेको थियो। बिहिवार प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पताल बझाङमा उनको शव पुर्‍यायो। अस्पतालले दिएको प्रारम्भिक रिपोर्टमा बलत्कारपछि हत्या गरेको संकेत मिलेको छ। लिखित रिपोर्ट भने आइसकेको छैन। मृतकका हजुरबाले बोहोराबिरुद्ध बलत्कारपछि हत्या गरेको किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ। बोहोरालाई पहिलो घटनामा उन्मुक्ति दिँदा दोस्रो घटना गर्ने प्रश्रय मिलेको प्रहरीको अनुमान छ। जघन्य प्रकृतिको अपराधलाई मिलापत्र गर्नु कानुन विपरित ठहरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell