काठमाडौँः प्रदेशको राजधानी तथा नामकरण विवादमा प्रदर्शन बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकाका केही भागलाई निषेधित क्षेत्र तोकेको छ। असोज १८ गते (भोलि) देखि लागू हुनेगरि असोज २१ गतेसम्म केही स्थान निषेधित क्षेत्र तोकिएको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) (क) को व्यवस्था बमोजिम प्रमुख जिल्ला अधिकारीबाट उक्त आदेश भएको हो।
प्रदेश ५ को राजधानी दाङमा तोक्ने प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि बुटवलमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। हाल प्रदेशको स्थायी मुकाम बुटवलमा छ।
पढ्नुस्ः दाङमा प्रदेश राजधानी प्रस्ताव गर्दा जल्दै बुटवल, कांग्रेसले जारी गर्यो विरोध कार्यक्रम
स्थानीय प्रशासनको सूचना अनुसार प्रदेश सभा भवन रहेको क्षेत्र, प्रदेश सरकारका मन्त्रालय रहेका क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको छ। यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको क्षेत्रमा कुनै प्रदर्शन गर्न निषेध गरिएको छ।
निषेधित क्षेत्रमा सभा, जुलसलगायतका कुनै पनि गतिविधि गर्न पाइने छैन । यस्तै, सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ।

