PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अरुलाई भीड नगर्न चेतावनी दिने पर्साको सिडिओ कार्यालयमा छैन भौतिक दूरी, ‘एक जनाको कामका लागि पुग्छन् ६ जना’



राधेश्याम पटेल

अरुलाई भीड नगर्न चेतावनी दिने पर्साको सिडिओ कार्यालयमा छैन भौतिक दूरी, ‘एक जनाको कामका लागि पुग्छन् ६ जना’

वीरगंज: कोरोना महामारीको समयमा भौतिक दूरी कायम गर्दै कोरोना नियन्त्रण गर्न प्रशासनिक भूमिका खेल्ने स्थान- जिल्ला प्रशासन कार्यालय। लकडाउन, निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गराउने यो कार्यालय भने अहिले आफैँ कोरोना संक्रमणको केन्द्र बन्ने जोखिम छ। कारण- अव्यवस्थित भीड। न भौतिक दूरी छ न त स्वास्थ्य प्रोटोकलको पालना नै।

गत असोज १ गतेदेखि वीरगंजमा कोरोना संक्रमण विगतभन्दा कम भएपछि उच्च सतर्कता अपनाएर सरकारी कार्यालय पनि खोलिएको थियो। सिडिओ कार्यालयले पनि सेवा फेरि सुरु गरेको दुई हप्तामात्र भएको छ।

यसबीच दैनिक करिब ५०० भन्दा बढी सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा विभिन्न काम लिएर पुग्ने गर्छन्। भीडभाड गरी सेवाग्राही लाइनमा बसेको देखिन्छ। अधिकांशले मास्क राम्ररी लगाएका हुँदैनन्। भौतिक दूरी पालना हुने त कुरै छैन।

सेवाग्राही नागरिकता बनाउने, प्रतिलिपि लिने, पासपोर्ट बनाउने, उजुरी दिन, मिलापत्रलगायत विभिन्न काम लिएर सिडिओ कार्यालय पुगिरहेका छन्। प्रशासनमा सेवाग्राही एक अर्काबीच टाँसिएर भीड गर्दै काम गराउन हतार गर्ने गरेको देखिन्छ।

विद्यालयले सडकमा नै भीड गरेर पढाएको भन्दै त्यसरी नपढाउन नत्र कारबाही भोग्न तयार हुन चेतावनी दिएका पर्साका प्रजिअ अस्मान तामाङ आफ्नै कार्यालय हुने भीडबारे अनभिज्ञ भने छैनन्।  

७ महिनादेखि रोकिएका काम लिएर सयौंको संख्यामा दैनिक सेवाग्राही आइरहेकोले भौतिक दूरी तथा अन्य नियम पालना गराउन समस्या भइरहेको तामाङ स्वीकार्छन्।

भने,‘जति भन्दा पनि उहाँहरु मान्नुहुन्न। थोरै संख्यामा आउनुस, काम हुने व्यक्ति मात्र आउनुस् भन्दा पनि एक जनाको कामको लागि आधा दर्जन व्यक्ति आउँछन्, गेटमा सुरक्षाकर्मी र कर्मचारीले भन्दा-भन्दा थाकिसके, केही उपाय लागेन।’

पर्सा कोरोना महामारीमा संक्रमणको हटस्पटमध्ये एक हो। त्यसमा पनि वीरगंज त देशमै काठामाडौंपछि उच्च जोखिममा रह्यो। दैनिक २ सय हराहारीमा कोरोना संक्रमित थपिने वीरगंजमा गएको दुई महिनामा संक्रमितको संख्या ह्वात्तै बढ्यो। संक्रमणबाट धेरै संख्यामा मानिसहरुको मृत्युबाट अक्रान्त बनेको वीरगंजले अझै  पाठ सिक्न सकेको छैन।

पर्साको सदरमुकाम वीरगंजमा कोरोना महामारी उच्च विन्दुमा छँदा एकाएक पर्साका तत्कालीन सिडिओ विष्णुकुमार कार्की, सहायक सिडिओ ललितकुमार बस्नेत, नारायणी अस्पतालका मेसु मदनकुमार उपाध्यायको सरुवा गरिएको थियो। त्यसपछि पर्साको सिडिओमा धादिङबाट अस्मान तामाङलाई सरुवा गरेर पठाइयो। नारायणी अस्पतलामा बीर अस्पतालबाट मेसु सन्जय ठाकुरलाई वीरगंज ल्याइयो।

अहिले कोरोना महामारी नियन्त्रणउन्मुख देखिएको छ। दैनिक सयौं केस देखिनेमा हाल थोरै संख्यामा मात्रै संक्रमित पहिचान भएका छन्। पर्सामा साउन १० गतेदेखि गरिएको निषेधाज्ञा असोज १५ गते कायम थियो। निषेधाज्ञा हटेपछि अहिले पर्सा-बारा क्षेत्रमा उद्योग व्यवसाय,बजार,पसल,होटल,रेस्टुराँ, यातायात सहज रुपले सञ्चालन भइरहेको छ।

बिहान ११ बजेदेखि साँझ ६ बजे व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ। तर यी व्यापार व्यवसाय सञ्चालन हुँदा भीडभाड पनि बढेको छ। यस्तै तरिकाले सरकारी कार्यालयका साथै बजार सञ्चालन भइरह्यो भने विगतको पीडा फेरि खेप्नुपर्ने अवस्था आउन सक्ने सरोकारवालाहरु बताउँछन्। त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्दै कोरोनाको जोखिम न्यूनीकरण गर्न संकट व्यवस्थापन केन्द्र,जिल्ला सुरक्षा समिति तथा सेवाग्राही आफैँ पनि सचेत हुनु जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell