PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

गोविन्द केसीको माग सम्बोधन गर्न सरकारमाथि दबाब, प्रम ओलीले गरे बेमतलव



प्रकाश भण्डारी

गोविन्द केसीको माग सम्बोधन गर्न सरकारमाथि दबाब, प्रम ओलीले गरे बेमतलव

काठमाडौं : अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका मागलाई चाडो सम्बोधन गर्न भन्दै विभिन्न ठाउँका चिकित्सकले प्रदर्शन गरेका छन्। वीर अस्पतालका चिकित्सकहरुले केसीका मागमा समर्थन जनाउँदै उनको जीवनरक्षा गर्नुपर्ने माग गरेका छन्।  उनीहरुले केसीको माग सम्बोधन गर्न भन्दै र्‍याली निकालेका छन्।

अपडेट : शिक्षा मन्त्रालयका प्रतिनिधिले भेटे गोविन्द केसीलाई, औपचारिक वार्ता टोली बनाउन माग

जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी धरानले पनि मंगलवार प्रदर्शन गरेको छ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले इमरजेन्सी बाहेकका सेवा बहिस्कार गर्दै प्रर्दशन गरेका हुन्।

सोमवार त्रिभुवन विश्वविद्यालय शिक्षाण अस्पताल टिचिङका चिकित्सकले पनि केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए।

विभिन्न राजनीतिक दलका नेताहरुले पनि केसीको माग तत्काल सम्बोधन गरी उनको जीवनरक्षा गर्नुपर्ने बताएका छन्।  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेका थिए। कांग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पनि केसीको जीवनरक्षा गर्नुपर्ने भन्दै उनको जीवन तलमाथि भए प्रधानमन्त्री जिम्मेवार हुने बताएका थिए।

यस्तै, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराले पनि केसीलाई भेटेर जीवनरक्षा गर्न माग गरेका थिए।

सरकारले अनशनको २३ औं दिनसम्म वार्ता टोली गठन गरेको छैन भने अनशनबारे कुनै चासो नदेखाएको केसीका सहयोगी डा. प्रितम सुवेदीले बताए। उनले आफूहरु वार्ताका तयारीमा रहेको बताए। 

'हामी त तयारी अवस्थामा छौं। सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ,' उनले भने।

ओली छैनन् माग सम्बोधन गर्ने मुडमा

पटकपटक अनशन बस्दै आएका केसी यसपटक माग सम्बोधन नभएसम्म स्वास्थ्य उपचार समेत नलिने अडानमा छन्। तर, प्रधानमन्त्री केपी ओली भने उनको मागप्रति सकारात्मक देखिएका छैनन्। प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रिलाई केसीका माग बारे छलफल गर्न भनेको भए पनि वार्ताका लागि केही निर्देशन नदिएको स्रोतले बतायो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले नभइ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीका माग सम्बोधन गर्न पहल गर्नुपर्ने बताए।

'शिक्षा मन्त्रीको क्षेत्राधिकारको विषय हो। उहाँले केही गर्दै हुनुहुन्छ होला। प्रधानमन्त्रीको त्यस्तो केही तयारी छैन,' उनले भने। उनले त्रिवि शिक्षण अस्पतालमा अनशन बसेकाले पनि शिक्षा मन्त्रीको क्षेत्राधिकारको विषय भएको बताए।

'टिचिङ अस्पतालमा अनशन बस्नु भएको छ। त्यसैले यो शिक्षा मन्त्रीको क्षेत्राधिकारको कुरा हो,' उनले भने।

पन्छिदै शिक्षा मन्त्री

प्रधानमन्त्रीको सचिवालयले केसीको अनशन शिक्षा मन्त्रालयको क्षेत्राधिकारको बताउँदा उक्त मन्त्रालय भने यसबारे औपचारिक प्रतिक्रिया दिन तयार भएन।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्यब्यस्ताका कारण केसीबारे धारणा दिन नचाहेको बताए।

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केही दिन अघि असान्दर्भिक समयमा केसीले अनशन थालेको बताएका थिए। अनशनका लागि सान्दर्भिक समय नभएकाले केसीले अनशन तोडनुपर्ने बताएका थिए।

बोल्न पनि सकिरहेका छैनन् केसी

केही दिनयता केसी बोल्न सक्ने अवस्थामा नरहेको उनको सहयोगीले बताएका छन्। उनलाई सामान्य खालको सलाइन दिइएको छ भने अरु कुनै पनि औषधी लिन मानेका छैनन्। उनको मुटुको चालमा पनि गढबढी आएको सुवेदीले बताए। रगतमा चिनीको मात्रामा कमी आएको छ भने ह्वाइट ब्लड सेलको संख्या कम भएसँगै केसीलाई संक्रमणको जोखिम बढेको उनका सहयोगीले  जनाएका छन्। आइसीयूमा राखी उपचार गर्नुपर्ने भए पनि केसीले उपचार गर्न नदिने अडान राखेपछि उनको उपचार हुन सकेको छैन।

१९ औं पटकको अनशसन केसीले जुम्लाबाट थालेका थिए। ८ दिन सम्म जुम्लामा अनशन बसेका केसीले जुम्लामा स्थानीय र प्रदेश सरकारले बल प्रयोग गर्ने भएकाले काठमाडौं आउने निर्णयमा पुगेको बताएका थिए।

केसीले जुम्लामा एमबीबीएस अध्ययन कार्यक्रम सञ्चालन गर्नुपर्ने, आफूसँग विगतमा भएका भएका सम्झौता कार्यान्वयन हुनुपर्ने लगाएतका मुख्य माग राखेर अनशन थालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell