PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

त्रिविका उपप्राध्यापक चलाउनेमाथि कुटपिट प्रकरणमा अर्का उप-प्राध्यापक गुमानसिंको भ्रामक दाबी, यसरी फेरे बोली (अडियोसहित)



प्रकाश भण्डारी

त्रिविका उपप्राध्यापक चलाउनेमाथि कुटपिट प्रकरणमा अर्का उप-प्राध्यापक गुमानसिंको भ्रामक दाबी, यसरी फेरे बोली (अडियोसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप-प्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलवार अज्ञात समूहले कुटपिट गर्‍यो। कुटपिट लगत्तै चलाउने ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भए। उनको उपचारमा खटिएका थिए अर्का उपप्राध्यापक गुमानसिंह खत्री।

घटना कसरी भयो भन्नेबारे जानकारी लिन पहिलोपोस्टले खत्रीसँग सम्पर्क गर्‍यो। खत्रीले उक्त घटनामा सिएनएन हिरोसमेत भएकी अनुराधा कोइरालाका छोरा मनिष कोइराला संलग्नता रहेको दाबी गरे।

'बुलेट बाइकलाई चाहि पक्रिएको भन्ने जानकारी हिजो साँझ लेट नाइट एउटा मोटरसाइकल भेटिएको सूचना आएको थियो। त्यो बाइकचाहि सिएनएन हिरो अनुराधा कोइरालाको छोरा मनिष कोइरालाको रहेको बुझियो,' उनले दाबी गर्दै पहिलोपोस्टसँग भने।

उनको भनाईमा आधारित रहेर पहिलोपोस्टमा समाचार प्रकाशित भयो।

नामै किटेर उनले भनेपछि प्रकाशित समाचारबारे सम्बन्धित पक्षले चासो दिए। आफ्नो नाम मुछिएपछि मनिष कोइराला पहिलोपोस्टको सम्पर्कमा आए। उनले समाचारमा आफ्नो नाम मुछिएकोमा आफ्नो संलग्नता नभएको भन्दै खण्डन गरे। उनले आफू मोटरसाइकल नै नचलाउने र आफ्नो नाममा मोटरसाइकल नरहेको बताए।

'मेरी आमाको पनि नाम जोडेर फलानाको छोरोको मोटरसाइकल भनिएको रहेछ। तर मेरो विश्वविद्यालयसँग कुनै सम्बन्ध नै छैन,' उनले भने,'न त मेरो कुनै बाइक नै छ।'

उपप्राध्यापक खत्रीले बाइक नम्बर नै किटेर मनिषको नाम लिएका थिए। खत्रीले भनेका थिए, 'प्रहरीले दिएको जानकारी अनुसार बा ८१ प २७८५ नम्बरको बाइक भेटिएको छ।'

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले पनि सोहो बाइक प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। तर, उक्त बाइकको धनी अनुराधा कोइरालाको छोरा नभएको उनले बताए।

त्यसो भए उक्त बाइक कसको हो त?

यसबारे यातायात विभागमा बुझ्दा यस नम्बरको बाइक अर्कैको रहेको पत्ता लागेको छ। 

यसबारे खत्रीसँग बुझ्दा आफू सूचनाको आधिकारिक व्यक्ति नभएको उल्लेख गर्दै उक्त जानकारी नदिएको दाबी गरे। 

अघिल्लो दिनको कुराकानीबारे उल्लेख गर्दै खत्रीले आफूले ब्यक्तिको नाम किटान नगरिएको दाबी गरे। 'मैले व्यक्तिको नाम लिएकै छैन। एकचोटि हेरेर तपाईले चै उ गर्नुस्,' उपप्राध्यापक खत्रीले भने।

उनले आफूले घटनामा ब्यक्तिको संलग्नताबारे नबोलेको बताए। उनले नेविसंघले विरोध गरिरहेका बेला घटना भएकोमात्रै बताएको दाबी गरे। पहिलोपोस्टसँगको कुराकानीबारे समेत उनले अनिवज्ञता प्रकट गरेका छन्। 

'मैले त्यसो भने र? तपाईको मेरो त कुरा भएजस्तै लाग्दैन,' उनले भने।   

खत्रीले मनिषको निकट सम्बन्ध नेपाली कांग्रेसका नेता गगन थापासँग रहेकोसमेत दाबी गरेका थिए। उनले थापा र नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीहरुले कुटपिट गरेको आरोपसमेत लगाउन भ्याएका थिए।

नेपाल विद्यार्थी संघले विभागको प्रमुखमा डा.युवराज लुइटेललाई नियुक्त गरिएको भन्दै विरोध गर्दै आएको थियो। तालाबन्दी गर्दै आए पनि विभागले ताला खोलेपछि नेविसंघ आक्रोशित बनेको थियो। यही सन्दर्भमा नेविसंघले चलाउनेमाथि कुटपिट गरेको खत्रीको दाबी रहेको छ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले भने घटनामा नेविसंघका विद्यार्थीको संलग्नता नै नरहेको दाबी गरेका छन्। यता प्राध्यापक संघ भने कुटपिटमा संलग्नलाई कारबाही नगरेसम्म त्रिविमा कुनै गतिविधि सञ्चालन हुन नदिने अडान राख्दै चरणबद्ध आन्दोलनको तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell