PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सेतो कागजबाट लाखौको ठगीमा इन्टरोगेसन : लुट्नेले लुटेँ भन्छ, लुटिने चाहिँ मौन!



सविन ढकाल

सेतो कागजबाट लाखौको ठगीमा इन्टरोगेसन : लुट्नेले लुटेँ भन्छ, लुटिने चाहिँ मौन!

काठमाडौं : महानगरीय प्रहरी परिसर भक्तपुर अन्तर्गतको थुनामा केही दिनदेखि १२ जना अभियुक्त 'इन्टरोगेसन'मा छन्। असोज ९ गतेदेखि प्रहरीले थालेको पक्राउको क्रममा १२ समातिएका छन्। अझै थपिने क्रम रोकिएला जस्तो देखिँदैन। किनकि प्रहरीले अझै ४/५ जनालाई फरार सूचीमा राखेर खोजी गरिरहेको छ। नाम त खुलेको छ तिनको 'ठाम' भने पत्तो छैन।

उनीहरूको अपराधको 'डेमो' एउटै छ। विभिन्न मानिसलाई टार्गेटमा पारेर सस्तोमा डलर भन्दै रकम लुटेर फरार हुनु। लाखौ रुपैयाँ लुट्छन् अनि हातमा सेतो कागजको बिटो दिएर फरार हुन्छन्। १ करोड रुपैयाँ भन्दा बढी लुटिसकेको उजुरी प्रहरी कहाँ परिसकेको छ।

प्रहरीले ठगी गरेर रकम लुटेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका १ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, रेलबहादुर तामाङ, श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङलाई समातिसकेको छ। यस प्रकरणमा नाइके देखिए खेलबहादुर तामाङ। त्यस्तै केही दिनमा सिन्धुपाल्चोक बाह्रबिसेकाका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी पनि पक्राउ परे।

असोज १४ गते ३१ वर्षीय धनबहादुर भण्डारी समातिए। त्यसको ६ दिनपछि २० गते मध्यपुर थिमि नगरपालिका वडा नम्बर २ दिव्यश्वरी टाउन प्लानिङबाट २८ वर्षीय कमल भण्डारी, राकेश भण्डारी र सन्चबहादुर योञ्जनलाई प्रहरीले नियन्त्रणमा लियो। उनीहरू एउटै समूहका लुटेरा भएको उनीहरूले नै बयान दिएका छन्। प्रहरीले उनीहरूलाई सार्वजनिक समेत गरिसकेको छ।

                                                    पक्राउ परेका अभियुक्तहरु

उनीहरूले विभिन्न मितिमा मानिसहरूलाई झुक्काएर १८ स्थानबाट १ करोड १५ लाख रुपैयाँसम्म लुटेको उजुरी परिसकेको छ। अझै उजुरी आउनेक्रम जारी छ। तर, अभियुक्तले बयानमा जसरी लुटेको स्वीकार गरेका छन् त्यही अनुसार पीडित भने सम्पर्कमा आउन चाहिरहेका छैनन्। केही समय अघि भक्तपुरबाट लुटेको अभियोगमा नियन्त्रणमा लिएका एक अभियुक्तले लुटको प्रकृया, रकम र स्थान सबै स्पष्ट भनेका छन्। तर, उनीबाट लुटिएका पीडित भने उजुरी दिन अहिलेसम्म पुगेका छैनन्।

उनीहरुले देखाएको लोभमा फसेर कानुन विपरीत डलर साट्नु पनि अपराध नै हो। त्यसैले ठगिएकाहरू आफ्नो गलत धन्दाको राज खुल्ने डरले उजुरी दिन नपुग्ने गरेको प्रहरीको अनुसन्धानमा देखिन्छ।

'धेरै पीडितहरू उजुरी नै दिन आउन डराउनु भएको छ। हामी उहाँहरूलाई उजुरी दिन आग्रह गरेका छौँ। तर कमै आउनु हुन्छ,' महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्।

उहिलेसम्म यो समूहले एक पटकमा ३ लाख रुपैयाँदेखि १६ लाख रुपैयाँसम्म लुटेको छ। २०७६ भदौ ३१ गते काठमाडौंको टोखाबाट १६ लाख रुपैयाँ डलर भन्दै लुटेका हुन्। धेरैजसो घटना भक्तपुर र सिन्धुपाल्चोकमा भएका छन्। 'आज मात्र गजुरीबाट पनि लुटिएको थिएँ भन्दै सम्पर्क गर्नुभएको थियो। उनीहरूले धेरैतिरका मानिसलाई लुटेको देखिन्छ,' एसपी थापाले भनिन्।

सरकारी कर्मचारीदेखि सुरक्षाकर्मीसम्म लुटिए!

यो समूहले सबैभन्दा पहिले आफूले लुट्ने वर्गको छनोट गर्ने गरेको छ। जसमा व्यवसायी, व्यापारी, घरजग्गाको कारोबारी, विदेशबाट फर्केकाहरू पर्ने गरेका छन्। यस्ता मानिसलाई लुट्नको लागि हनि ट्र्यापिङदेखि विभिन्न उपायको प्रयोग समेत गरेका छन्।

उनीहरूले सुरुमा फोनबाट कुराकानी गरेर मन जित्ने त्यसपछि डलरको लोभ देखाउने गर्छन्। त्यसपछि भेट्न बोलाउँछन्। उनीहरूले भेट्न आउने लोकेसन भने परिवर्तन गरिरहेका हुन्छन्। किनकि कसैले शङ्का लागेमा वा प्रहरीसम्म आएमा फुत्कन सजिलो हुने गरी लोकेसन छनौट गर्ने गर्दछन्। मानिस लोकेसनमा पुगेपछि ५० र एक सयको सक्कली डलर देखाएर मानिसको विश्वास जित्छन्। त्यहाँ २ देखि ४ जनासम्मका मानिस देखा पर्ने र व्याक अपमा भने अरू पनि राख्ने गरेका छन्।

यो पनिः लुटमा दाजुभाइदेखि बाबुछोरासम्मै : लुटेरै काठमाडौंमा २ रोपनी जग्गा, फेसबुके 'लभ'ले लहरो तान्दा गर्जिएको पहरो

उनीहरू एकदमै सोझा मानिस जस्तो व्यवहार गर्छन्। त्यसपछि मोटो रकम दिएर रुमाल वा कपडामा बाँधिएको डलर दिन्छन्। त्यो बिटो सहजै खुल्ने हुँदैन। यही मौकामा उनीहरू भाग्छन्। उनीहरूलाई भगाउन केही पर सहयोगीहरु मोटरसाइकल लिएर तैनाथ हुन्छन्।

यसरी लुटिनेमा सरकारी कर्मचारीदेखि सुरक्षाकर्मी समेत रहेका छन्।

'सबै पेशाका मानिस लुटिएको देखिन्छ। सरकारी कर्मचारी देखि सुरक्षाकर्मीसम्म छन्। तर, उनीहरू सम्पर्कमा आउन नै चाहँदैनन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

यसरी लुटेको रकम उनीहरूले कोठामा पुगेर बाँड्ने र अर्को लुटको योजना बनाउने गरेको अनुसन्धानमा देखिएको छ। लुटको धन्दामा लामो समयदेखि लागेका खेलबहादुर तामाङले जर्सिङपौवामा ३६ आना जग्गा श्रीमतीको नाममा किनेर राखेका छन्।

त्यस्तै रेलबहादुर तामाङको बाह्रबिसेमा कुखुरा फार्म र होटेलमा लगानी गरेको खुलेको छ। बाँकीले भने मोटरसाइकल लगायतका सामाग्री किन्ने गरेका छन्। उनीहरूको लुटको धन्दाबाहेक अरु पेशामा पनि जोडिएको देखिन्छ। कतिपय घरजग्गा कारोबारको व्यवसायमा छन् त कति ट्रक र ट्याक्सी चालक। केही त मजदुरी समेत गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell