८ महिनाअघि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शून्य थियो। चीनबाट नेपाल फर्किएका एक जनामा माघ १० गते कोभिड १९ पुष्टि भएको थियो। छोटो अवधिमा नै ती व्यक्ति संक्रमणमुक्त भएर घर फर्किएका थिए। दक्षिण एसियामा नै पहिलो केस नेपालमा देखिएको थियो। त्यो बेलासम्म चीनमा कोरोनाले कहर मच्चाउन सुरु गरिसकेको थियो। यो भाइरसले विश्वभर नै महामारी फैलाउन सक्ने आकलन समेत भएको थियो।
पहिलो केस संक्रमणमुक्त भएर डिस्चार्ज भइसक्दा सरकारलाई नागरिकस्तरबाट स्वास्थ्य सेवालाई सुदृद बनाउन दबाब पर्यो। चीनले छोटो अवधिमा नै हजार बेडको अस्पताल बनाएको खबर सुनेका नागरिकले सरकारले पनि तयारी गर्नुपर्ने माग उठाएका थिए। सीमा नाकामा कडाइ गर्नुपर्ने। स्वास्थ्य सामाग्री तयार गर्नुपर्ने, कोभिड १९ सँग लड्न तयार हुनुपर्ने लगायतका माग उठे। यो कुरा संसद्सम्म पुग्यो।
माघको अन्तिम सातातिर बसेको प्रतिनिधिसभा बैठकमा यसबारेमा नै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई प्रश्न सोधियो।
उनको जवाफ थियो, ‘जहाँ रोगले आक्रमण नै गरेको छैन। त्यहाँ चीनले गरेको जस्तै भएन भन्नु चिन्ता स्वाभाविक हो तर यसले अप्ठ्यारो स्थिति ल्याउँछ भन्ने छैन।’
स्वास्थ्यमन्त्री ढकालले यो भनिरहँदा नेपालमा कोरोनाको ‘जिरो एक्टिभ केस’ थियो। चीनमा भने करिब १७ हजारमा संक्रमण पुष्टि भइसकेको थियो। ३०० भन्दा बढीको मृत्यु भइसकेको थियो। छिमेकी राष्ट्रमा कोरोनाले कहर मचाउँदा नेपालमा पूर्व तयारी गरौँ भन्दा ढकालले संसदमा यस्तो जवाफ दिएका थिए-
‘चीनले १००० बेडको अस्पताल बनायो हामी कुरामात्रै गर्दैछौँ भनेर प्रश्न उठ्यो। सत्य त्यही हो। त्यसमा विमति छैन। किनभन्दा यो रोग त्यहीँ उत्पत्ति भयो। १७ हजार मानिस संक्रमित भए। ३६१ जना नागरिकले ज्यान गुमाउन पर्यो। हामी कहाँ १३ जना संक्रमित भो, आशंका गरेर परीक्षण गरियो, १३ जनामा नै नेगेटिभ देखियो भनेपछि चीन सरकार जसरी नाँच्छ त्यही तालमा हामीले खुट्टा उचाली हाल्नुपर्छ भन्ने कुरा नेपाल सरकार विश्वास गर्दैन। किनभने हामीले हाम्रो आवश्यकताका आधारमा गर्ने हो।’
एक हिसावमा कुरा ठिक नि थियो। संक्रमण देखिएको नै छैन। हजार बेड किन बनाउनु? तर पछि संक्रमण आउँदैन भन्ने ग्यारेन्टी नै त थिएन। त्यसैले पूर्व तयारी पो गरौँ भनेको। तर सरकार नेपालमा कोरोना नै आउँदैन भन्नेमा ढुक्क देखिएको थियो। ढकालकै कुरा मान्ने हो भने चीन र भारतले राम्रो तयारी गरेकोले नेपालमा कोरोना आउने सम्भावना न्यून थियो।
तर स्वास्थ्य मन्त्रीको यही ‘ओभर कन्फिडेन्सले’ पहिलो संक्रमित भेटिएको ८ महिनापछि पनि नेपाल कोरोनासँग लड्ने तयारीमा अल्झिरहेको छ। पूर्व तयारी भनेको के हो? पहिचान गर्न र बुझ्न अझै सकिरहेको छैन।
चीनबाट फैलिएको भाइरस भन्दै चीन नाचेको तालमा नेपालले खुट्टा उचाल्न नपर्ने बताएका ढकाल अहिले पनि चीनले एक हप्तामा चालेको कदम चाल्न खुट्टा चाल्न असमर्थ छन्। एउटा व्यवस्थित आइसोलेसन सेन्टर बनाउन समेत सरकारमा बसेकाहरुको कुर्सी ८ महिनासम्म अघि बढेन।
सरकार केही समय आफ्नो कुर्सी जोगाउनमा नै मस्त रह्यो। कोरोनालाई सामान्य रुघाखोकी करार दिन व्यस्त रह्यो। यसबीच देशभर कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भयो। मृतकको संख्या पनि बढ्यो। अन्तत: नेपालले कोरोना संक्रमितको संख्यामा ‘इपिसेन्टर’ चीनलाई नै उछिन्यो।
संक्रमण नेपालमा आउँछ भन्ने पक्का थियो। यसले ठूलै कहर मच्चाउन सक्छ भन्ने आकलन थियो। त्यसैले त ‘जिरो एक्टिभ केस’ हुँदा नै सरकारलाई यस महाव्याधि भाइरससँग लड्न रफ्तारमा काम गर्न आग्रह गरिएको थियो। तर सरकारले मानेन। कोरोना फ्रि र जिरो डेथ राष्ट्र बनाउने चक्करमा अल्झियो सरकार। जनता भने संक्रमणको जालोमा फस्न बाध्य बने। ८ महिना भयो अहिले पनि कोरोनासँग जुध्ने तयारी भने न्यून नै रहेको छ।
सरकारले ८ महिनामा के गर्यो? भन्ने प्रश्न उठ्दा ‘स्वाब संकलन गरेर परीक्षण गर्न प्रयोगशाला विस्तार गर्यो’ भन्ने सफलताको रेडिमेड उत्तर छ सरकारसँग। यससँगै केही कोभिड अस्पताल बने। केही स्थानमा क्वारेन्टाइन बनाउने प्रयास भयो। स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्नेहरुलाई प्रोत्साहित गर्ने प्रयास भए। विदेशमा अलपत्र परेकालाई स्वदेश फर्काउने काम भयो। राम्रा काम नि भए। तर सरकारले कोभिड १९ को वास्तविक प्रकोपसँग जुध्न पूर्व तयारी भने गरेन। गर्ने मुडमा अझै छैन।
न त अस्पतालको भौतिक अवस्थालाई सुधार्ने प्रयास गर्यो न त स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन नै केही गर्यो। फलस्वरुप अहिले संक्रमितहरु अस्पतालको अभावमा घरमा नै बस्न बाध्य भएका छन्। कतिपय त अस्पताल भौतारिँदा भौतारिँदै मृत्युवरण गर्न समेत बाध्य भएका छन्।
कोरोनाको लक्षण देखियो –पीसीआर परीक्षण नगरी अस्पतालले उपचार गर्न मान्दैन। संक्रमितलाई गाह्रो भयो -अस्पतालमा बेड छैन। आइसियूमा राख्न पर्यो- आइसियू छैन। भेन्टिलेटरमा राखेनर ज्यान जोगाउन पर्यो- भन्टिलेटर खोज्दा-खोज्दै संक्रमितको मृत्यु भएको घटना छन्।
देशभर अहिलेसम्म १ लाख १५ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। यी मध्ये ३५ हजारभन्दा बढी ‘एक्टिभ’ संक्रमित छन्। अर्थात ७८ हजारभन्दा बढी संक्रमण मुक्त भइसके। तथ्यांक हेर्दा अवस्था सकरात्मक देखिएला तर भाइरस समुदायमा नै फैलिएको अवस्था र दैनिक रुपमा सक्रिय संक्रमित थपिँदै गर्दा अवस्था जटिल दिशातर्फ उन्मुख भएको जनस्वास्थ्यविद्हरु बताउँछन्।
हाल सक्रिया संक्रमितमध्ये १० हजारभन्दा बढी त काठमाडौँ उपत्यकामा मात्रै छन्। संघीय राजधानी काठमाडौँ त कोरोनाको हटस्पट नै बनेको छ। उपत्यकामा अधिकांश होम आइसोलेसनमा छन्। आइसोलेसन सेन्टर नहुँदा घरमा नै संक्रमण फैलिन सक्ने डरबीच होम आइसोलेसनमा बस्न बाध्य छन्। अवस्थालाई मध्यनजर गर्दै सरकारले उपत्यकामा रहेका सरकारी अस्पतालाई कोभिड अस्पताल बनाउने निर्णय गरिसकेको छ। जुन अझै पर्याप्त नभएको सरोकालवालाहरु बताइरहेका छन्। तर उपत्यका बाहिरको नेपालमा के?
उपत्यका बाहिर रहेकाहरु पनि सामान्य र मध्यम लक्षण देखिएका र लक्षणविहीन संक्रमित समेत घरमा नै आइसोलेटेड छन्। संक्रमणबाट गाह्रो भइ अस्पताल पुग्नेहरुको क्रमपनि बढ्दो छ। अस्पताल नपुग्दै र होम आइसोलेसनमा मृत्यु हुनेहरु पनि बढ्दै छन्। खुल्ला स्थान र कोठा भएकाहरुलाई होम आइसोलेसनमा बस्दा त्यति समस्या त नहोला तर सानो घर र संयुक्त परिवारमा बसेका र डेरा गरी बस्नेहरुका लागि होम आइसोलेसनमा बस्नु निकै कठिन देखिएको छ। त्यसैले त सरकारलाई आइसोलेसन बनाउन पटकपटक आग्रह गरिएको हो। तर सरकारले सुने पनि नसुनेको जस्तै गरी बस्यो।
जनताले प्रश्न उठाउनु उसको अधिकार हो। तर स्वास्थ्य मन्त्री ढकालले सरकारले केही गरेन भन्नेहरुको आँखामा मोतियाविन्दु भएको टिप्पणी गर्न भ्याए।
जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने निकायामा बसेका मन्त्री ढकालले कोरोना नियन्त्रण गर्न असफल भएको आरोप सहन सकेनन। कोरोना नियन्त्रण गर्न शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको उनले दाबी गरे।
तर दाबी र काममा फरक हुन्छ। दाबी गरे अनुसार काम नखेदेपछि सरकारलाई नागरिकले ट्याउँट्याउँ नगर्ने कुरा हुँदैन। कोभिड महामारीमा भएको वेथिति, कमजोरी र अनियमिततालाई समेटेर बजारमा एउटा गीत आयो। त्यसलाई लक्षित गर्दै गत साउनमा ढकालले भने, ‘गीतहरु बदली बदली आउने छन्। पीपीई, पीसीआर परीक्षणको गीत आयो। अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन्।’
ढकालको दाबी थियो, जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिन्छ। तर अहिले त्यही भेन्टिलेटर नपाउँदा यहाँ सर्वसाधरणको मृत्यु भइरहेको छ। ८ महिनाअघि नै चीनले कोरोना नियन्त्रण गर्न चालेको कदमलाई स्वीकार्दै हामीले पनि खुट्टा अली मात्रै उचालेको भए अहिलेको अवस्था आउने थिएन कि? दाबीभन्दा आलोचनालाई स्वीकार्दै स्वास्थ्य उपकरण बढाउन ध्यान दिएको भए केही ज्यान जोगाउन सकिन्थ्यो कि?
अहिले संक्रमण समुदायस्तरमा फैलिसकेको छ। जनता जानेर वा अञ्जानमा नै भए पनि कोरोना अटेर गर्दैछन्। सरकार पनि अटेर गर्ने जनतालाई सम्झाउनुको सट्टा संक्रमण फैलाएको दोष लगाउनमा व्यस्त छ। संक्रमणको थप त्रास र अव्यवस्थाबीच स्वास्थ्य मन्त्रीलाई यो ‘मोतियाविन्दु’ भएको आँखाले के भन्नु!
उनले आफै देख्नुपर्ने, बुझ्नुपर्ने होइन र?