44.jpg)
काठमाडौं : कोठा पाइन्छ होला?
दुई महिनाअघि दुई युवक कोठा खोज्दै पेप्सीकोलास्थित एउटा घरमा पुगे। घर दुई तलाको थियो। घरबाट एक महिला बाहिर निस्किइन्। उनले कोठा नभएको जानकारी दिइन्। उनीहरुले केही समय ती महिलासँग कुरा गर्न थाले।
केही समयसम्म महिलासँग सौहार्दपूर्ण कुरा गरिरहेका उनीहरु एकाएक परिवर्तन भए। 'कोठा नभएर घरमा पैसा होला निकाल' भन्दै धम्काउने थाले। एक्ली महिला अक्क न बक्क भइन्। उनी तर्सनु स्वभाविक थियो। यस्तो समयमा कहाँ पैसा हुने भन्दै आलटाल गरिन्। त्यसपछि उनीहरुले पैसा नभए के छ? त्यही निकाल् भन्न थाले।
ज्यानभन्दा ठूलो सम्पत्ति थिएन। मार्नेसम्मको धम्की दिएपछि उनले गलामा लगाएको सिक्री फुकालेर दिइन्। त्यसपछि उनीहरु निस्किए।
पछिल्लो समय यसरी अपरिचित मानिस कोठा खोज्दै अथवा अन्य कारण देखाउँदै मौका हेरेर लुट्ने गरेको घटना देखिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा बताउँछन्।
'एउटै प्रकृतिका केही घटना देखिएका छन्। हामी यस्ता मानिसको खोजी गरिरहेका छौं,' उनले भने।
मंगलवार प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ लेकखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछाप धोबी गाउँपालिकाका २७ वर्षीय प्रेम तामाङ नियन्त्रणमा लियो।
उनीहरुले यसरी नै जग्गा हेर्ने भन्दै असोज २१ गते भक्तपुरको चाँगुनारायण ८ सुडाल पुगेर ६१ वर्षीय चन्द्रबहादुर योञ्जन लामाको हत्या गरेको खुल्यो। प्रहरीको अनुसन्धानमा शेर्पाले रमेश र प्रेमलाई धम्काएर पैसा उठाउन लगाएका थिए। तर, कुटपिट गरेर धम्काउने क्रममा नै चन्द्रबहादुरको ज्यान गएको थियो।
प्रहरीले नियन्त्रणमा लिएका रमेश र प्रेम यसरी नै काठमाडौं उपत्यकाभित्र धम्काएर मानिसँग पैसा लुट्ने गरेको देखिएको छ।
'यिनीहरुको दैनिकी बिहान बेलुका जिमसिम जाने ज्यान बनाउने अनि मानिसलाई तर्साएर लुट्ने र ठगी गर्ने देखिएको छ,' एसएसपी थापाले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिले रमेश र प्रेमको कनेक्सन पेप्सिकोलाको त्यो घरमा पनि हो कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरुको धम्काउने तरिका पनि एउटै देखिएको छ। यसरी जाँदा उनीहरुले मोटरसाइकल केही पर राख्ने अनि हेलमेट लगाएर जाने गरेको देखिन्छ। दुवै घटनामा एउटै प्रकृति देखिन्छ।
'यदि कसैलाई यसरी ठगी वा लुटपाट भएको भए हामीलाई जानकारी गराउनु होला। अनुसन्धानमा थप सहयोगसँगै अन्य मानिस लुटिन र ठगिनबाट बच्थे,' एसएसपी थापाले भने।
यो पनि पढ्नुहोलाः