भक्तपुरको याछेंमा पूर्ण चित्रकार र उनका छोरा राजेश माटोबाट बनाइएको आकृतिलाई रङ्ग्याउन व्यस्त छन्। माटोबाट १३ देवीदेवताको ख्वापा (मुकुण्डो) तयार गर्नु पूर्णको पुर्खौंली पेशा। दशैंको नवमीसम्ममा यी १३ देवीदेवताको ख्वापा तयार हुनुपर्छ। त्यसैले बाबुछोरा मिलेर रङरोगनमा तल्लिन छन्।
पूर्णको घरमा हरेक वर्ष नवदुर्गा नाचका लागि १३ वटा ख्वापा बन्ने गर्छ।
ख्वापाका लागि काम सुरु चाहिँ गथांमुगकै दिनबाट हुन्छ। ख्वापालाई देवीदेवताको आकार दिनु सजिलो छैन। जस्तो पायो त्यस्तो माटोबाट बनाउन पनि सकिन्न।
भक्तपुरको सुडालबाट कालीमाटी ल्याएर १३ भाग लगाइन्छ। माटोलाई पूजा गरेपछि ख्वापा बनाउने कामको सुरुवात हुन्छ। माटोलाई केही दिन पानी हालिन्छ र सुकाइन्छ। पानी, कपास, नेपाली कागज लगायतका सामाग्री हालेर फेरि माटो मुछिन्छ। त्यसपछि माटोलाई बेलेर आकृति दिने काम हुन्छ। केही दिन ख्वापालाई सुकाएर त्यसमाथि नेपाली कागज टासिन्छ र ख्वापामा विधिले तय गरेको रंग भर्ने काम हुन्छ।
नवदुर्गाको ख्वापा बनाउन चित्रकार परिवारले जडिबुटीदेखि सुनसम्मको प्रयोग गर्छन्। ख्वापा रङ्ग्याउन फलफूल र जडिबुटीको मिश्रणबाट तयार हुने विशेष रङ प्रयोग गरिन्छ। सिमीको पात, गोलभेडाको मुन्टोलाई कुटेर रस बनाइन्छ। त्यसमा लसुन मिसाएपछि हरियो रङ बनाइन्छ। पहेँलो रङ बनाउन बेसारको प्रयोग गरिन्छ। ख्वापालाई सुनको धुलोको मिश्रणले समेत रंग्याइन्छ।
७५ वर्षीय पूर्ण चित्रकार भक्तपुरमा नवदुर्गाको मूर्ति बनाउने एक्ला मूर्तिकार हुन्। उनका माइला छोरा राजेशले उनलाई मूर्ति रंग्याउन सहयोग गर्छन्। पूर्णकी श्रीमती चेतकुमारी पनि ख्वापा बनाउनमात्रै सहयोग गर्दिनन्, थासामा नागपञ्चमीका लागि नाचको चित्र र लक्ष्मी पूजाका लागि धनलक्ष्मीको चित्र पनि बनाउँछिन्। चेतकुमारी पनि आफ्नो पुर्खौंली पेशालाई जिवन्त बनाउन लागिपरेकी छिन्। भारतबाट लक्ष्मीको तस्विर आयात हुन थालेपछि पुर्ख्यौली पेशा समाप्त हुने संघारमा नै पुगेको धनलक्ष्मी र पूर्ण चित्रकार सुनाउँछन्।
'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो
+++
पूर्णको घर देवता बनाउने घर हो। ९ महिनासम्म नचाइने भक्तपुरको नवदुर्गा नाचका लागि करिब ३ महिनामा ख्वापा तयार गर्नुपर्छ। अरु सामान्य ख्वापा बनाएको जस्तो सजिलो यसमा हुँदैन। प्रत्येक ख्वापा बनाउने आफ्नो नियम हुन्छ। विधि र आकार पनि। त्यसभित्र रहेर ख्वापलाई मौलिक आकार दिनुपर्छ। अन्यथा गर्न पाइँदैन।
सानै छँदा पूर्णले काकासँगै ख्वापा बनाउन सीप सिके। बुबाले माटोको काम गर्दैन थिए, रङरोगन मात्र गर्थे। २०२० सालदेखि भने ख्वापा बनाउने जिम्मा काका विष्णुबहादुरले पूर्णलाई नै सुम्पिए। त्यसपछि हरेक वर्ष उनी गथांमुगदेखि दशैंसम्म ख्वापा बनाउन नै व्यस्त हुन थाले। २०३६ सालसम्म त काकाले पनि माटोको काम गर्न सहयोग गरे। तर, उनी बितेपछि माटोको काम गर्ने सबै जिम्मेवारी उनकै काँधमा आइपुग्यो।
'करिब ८० दिन जति त माटोको कामदेखि रङ्ग्याउने काममै बित्छ। छोराले रङ भर्न सहयोग गर्छन्। मैले सक्दो गरिरहेको छु। मपछि के हुन्छ, त्यो थाहा छैन।’
ख्वापा बनाउन पैसामात्रै लाग्ने होइन, सीप र समय पनि उत्तिकै महत्व हुन्छ। वर्षको तीन महिना यसमा खट्दा खट्दै अरु काम गर्न पाइँदैन। गुठी संस्थानले प्रत्येक वर्ष मूर्ति बनाउन करिब ४० हजार रुपैयाँ दिन्छ। १३ वटा ख्वापा बनाउन वार्षिक करिब ३ लाख खर्च हुन्छ। नपुगेको रकम पूर्णको परिवार आफैँले थप्छ। केही भने दाताहरुले सहयोग गर्छन्।
‘भगवानको काम भनेर ४० वर्षसम्म आफ्नै लगानी र आफ्नै मेहनत लगाएर गरेँ। त्यसपछि केही साथीहरुलाई भनेँ। उहाँहरुले सहयोग गर्नुभयो। सधैं मागिरहन पनि लाज लाग्छ। त्यसैले, भए पनि या नभए पनि यो काम गरिरहेको छु,’ पूर्णले भने।
केही वर्षअघि ख्वापा बनाउनका लागि उनले सार्वजनिक रुपमा नै अपिल गरेपछि २०७५ सालमा भक्तपुर नगरपालिकाले ख्वापा बनाउनका लागि भने १० लाख रुपैयाँको अक्षयकोष खडा गरिदिएको छ। जसबाट गत वर्ष ७४ हजार रुपैयाँ उनले ख्वापा बनाउँदा खर्चन पाए। गत वर्ष ख्वापा बनाउन सहयोग मागेर जम्मा गरेको रकमबाट समितिले करिब ७० हजार रुपैयाँ दिएको थियो। यस वर्ष भने कहीँ कतैबाट पनि सहयोग रकम पाएका छैनन् पूर्णले।
आर्थिक रुपमा सबल नभए पनि ख्वापा बनाउने कामलाई भगवानको काम सम्झेर नछाडेको उनको भनाइ छ। तर, भोलि आफ्नो सन्ततीले यसलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्नेमा उनी अन्यौलमा छन्।
‘यो काम गर्दै गरे म जस्तो भएँ छोराहरुको अवस्था पनि त्यही नै हुनेहोला। त्यसैले भोलिको कुरा मलाई थाहा छैन। तर, मैले सक्ने बेलासम्म यो काम रोकिँदैन’ उनले भने।
तर पूर्णलाई चिन्ता छ - जुन दिन उनी नसक्ने हुन्छन्, नवदुर्गाको ख्वापा कसले बनाउला? त्यसैले आफूले सकेसम्म पुर्खाको विरासत छोड्ने नहुने उनको मत छ। छोराहरुले पनि केही काम सिक्दै गरेकोमा खुशी छन्। तर, त्यसको निरन्तरतामा भने उनी भर गरिहाल्ने अवस्था छैन।
नवदुर्गाको ख्वापासँगै पूर्ण बोडेको निलबाराही नाच, भक्तपुरमा हुने देवी नाच, रामचन्द्र नाच लगायतका नाचका लागि चाहिने ख्वापा पनि उनैले बनाउने गर्छन्।
+++
नवरात्रीको अन्तिम दिन महानवमीमा भक्तपुरमा ‘खम्ये’ जात्रा हुन्छ। नवदुर्गा मन्दिरदेखि ब्रम्हायणीसम्म दानव महिषासुरको रुपमा रहेको 'खम्ये'(राँगो)लाई दौडाउँदै वध गरिन्छ। त्यसैदिन पूर्णको घरको तल बनाएको फल्चामा नवदुर्गा गणको ख्वापा प्रदर्शन गरिन्छ। भक्तजनहरु दर्शन गर्न पुग्छन्।
महिषासुररुपी राँगोलाई शहरमा दौडाउँदै वध : भक्तपुरको एउटा फरक जात्रा खम्ये
नवदुर्गा गण खम्येको वध गरेसँगै विजया दशमीका दिन भक्तपुरको याछेंमा नवदुर्गा नाचका लागि बनाइएको ख्वापा लिन जान्छन्। विधिवत् पूजा गरेपछि पूर्णले ख्वापामा दृष्टि राख्ने काम गर्छन्। त्यसपछि ख्वापा लिन आएका देवगणहरुलाई खर्पनमा राखेर यस वर्षको नवदुर्गा नाचको लागि ख्वापा जिम्मा दिने गरिन्छ।
याछेंबाट ख्वापालाई ब्रम्हायणीमा लगिन्छ। त्यहाँ कर्माचार्य पूजारीहरुले ख्वापामा प्राण प्रतिस्थापन गर्छन्। त्यहाँबाट देवगणहरुलाई ख्वापा हस्तान्तरण गरिन्छ। देवगणहरु ख्वापा लगाएर भक्तपुरको तलेजु भवानी मन्दिरमा जान्छन् र पूजा गरी नवदुर्गा गणलाई नवदुर्गा भवानी मन्दिरमा भित्राइन्छ। एकादशीको दिनदेखि नेपालकै लामो समयसम्म चल्ने जात्रामा पर्ने नवदुर्गा नाच सुरु हुन्छ।
पूर्ण चित्रकारको परिवार भने आफ्नो घरमा नवदुर्गाको ख्वापा बनाउन फेरि गथांमुगको प्रतीक्षामा हुनेछन्।
पूर्ण फेरि भन्छन्, ‘आफूले सकेसम्म यो काम गरिरहनेछु। हरेक वर्ष देवतालाई कुरिरहन्छु। भोलिको के हुन्छ थाहा छैन।’