PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फुटबलका पूर्व कप्तान अनिल गुरुङको प्रश्न: खेलाडी घरमा, मैदानमा कलाकार, कस्तो लापरवाही?



पहिलोपोस्ट

फुटबलका पूर्व कप्तान अनिल गुरुङको प्रश्न: खेलाडी घरमा, मैदानमा कलाकार, कस्तो लापरवाही?

काठमाडौं : चैतयता ठप्प रहेको खेलकुद क्षेत्रमा पछिल्लो समय तरङ्ग ल्याइदिएको छ रंगशालामा गराइएको एउटा म्युजिक भिडियोको सुटिङले। खेलकुद अभ्यासका लागि सरकारले अनुमति नदिरहेको समयमा म्युजिक भिडियो सुटिङका लागि अनुमति दिएको भन्दै खेलकुद सम्वद्धहरुको आक्रोश सुनिन्छ पछिल्लो समय।

नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले त सरकार र राखेपलाई खुलापत्र लेख्दै विश्वभर खेल सञ्चालन भइरहँदा नेपालमा अभ्यास पनि सुरु गर्न अनुमति नदिएको तर रंगशालामा म्युजिक भिडियो सुटिङका लागि खुला गरेको भन्दै असन्तुष्टि पोखेका थिए।

यसैक्रममा नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले पनि खेलाडीलाई घरमा राखेर मैदानमा कलाकार उतारेकोमा असन्तुष्टि पोखेका छन्।

यस्तो लेखेका छन् उनले

दुई–तीन साता अघिको घटना होला यो। मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ।

रंगशालामा मान्छेहरुको जमघट थियो। रंगशालामा मानिसहरूको भिड देख्दा मजस्ता धेरै नेपाली फुटबल प्रेमीको मन खुशीले दङ्ग परेको थियो। अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जीविकोपार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो। तर, त्यो तस्बिर राम्ररी नियाल्दा थाहा भो - त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ। यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फुटबल खेलाडीको मन नमज्जाले बजारिन पुग्यो।

खेलाडी घरमा, मैदानमा कलाकार

कस्तो लापरवाही, रंगशालामा खेल सन्चालनको अनुमति नदिने सरकार सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन। कोरोनाले कामविहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो। अति नै दुःख लागेर आयो। कोभिडको कहरले देशमा खेलकुद गतिविधी ठप्प भएको सात महिना बितिसक्यो। सबैलाई गाह्रो छ, सरकार नि देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ। खेलकुद परिषद् र एन्फा लाचार छन् भनेर मन बुझाउँदै थिएँ। तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र यो पोस्टबाट आफ्नो मनको भावना पोख्न चाहेँ।

खेलकुद पूर्ण रुपमा सुचारु गरौं भन्दा कोरोनाको बाहना देखाउने खेलकुद परिषद्जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अति नै लज्जाजनक लाग्यो। दुःखी नि बनायो र म यस्को घोर भर्त्सना गर्छु। एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगति गर्छ जस्तो मलाई लाग्दैन। देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडीको क्षमतामा दोष दिने गरिन्छ। तर, देशको खेलकुद निकयको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ।

देशमा बल्लतल्ल सुरू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने सकिने गरेको छ। ३ महिनापछि खेलाडी बेरोजगार हुन्छन्। जबकि सारा संसार भरी खेलाडीको आम्दानीको साहरा भनेकै लिग सिजन हो। अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्ष नै लिग गेम हो। हामीकहाँ खेल हार्‍यो कि खेलाडीलाई लागि गालीगलौज गर्ने गरिन्छ। जबकि राष्ट्रिय टोलीका खेलाडीहरुले वर्षमा जम्मा २–३ महिनामात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन्। यो कुरा कसले बुझ्ने? एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछि हामी खेलाडीले कसकसलाई अनि कहाँ गुहार्ने?

हाम्रो अभिभावक भनेकै यिनै संस्थाहरु हुन्। यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाइ टुहुरो भएको अनुभुति पनि नभएको होइन। यस्तै गतिविधिका कारण साना बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ। डर लाग्छ, उनीहरुको भविष्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि? त्यही भएर मैले आजभोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन। मनमा धेरै कुरा छन्, निराशा छन् तर भोलि अवस्य राम्रो हुन्छ भनेर आशा पनि छ। भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ र अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुरु गर्नु जरुरी छ। खेल सुरु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो। आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविस्यलाइ अँध्यारोमा धकेल्नु हुन्न। भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ।

जय नेपाल, जय नेपाली फुटबल। #AG10

सम्बन्धित समाचार:  सरकारलाई कप्तान चेम्जोङको खुला पत्र : रंगशाला म्युजिक भिडियोका लागि खुला हुने, फुटबलका लागि नहुने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell