PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

असई विकको हत्यामा भेटियो 'क्लु', प्रहरी भन्छ : लिड पाएका छौं बेलुकासम्म केही निष्कर्षमा पुग्छौं



पहिलोपोस्ट

असई विकको हत्यामा भेटियो 'क्लु', प्रहरी भन्छ : लिड पाएका छौं बेलुकासम्म केही निष्कर्षमा पुग्छौं

काठमाडौं : कैलालीको धनगढीमा गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको शव भेटिएपछि अनुसन्धानले तस्कर समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ।

शनिवार रातिदेखि बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल भरत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो। विकको घाँटीमा काटिएको छ। घाँटी काट्नको लागि घरेलु हतियार प्रयोग भएको खुलेको छ।

'केही समूहले मिलेर हत्या गरेको निष्कर्षमा पुगेका छौं। इन्टकाउन्टर हुँदा आक्रमण भएको देखिन्छ। थप अनुसन्धान भइरहेको छ,' सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको पनि आज बिहान शव फेला परेको छ। एसपी दिलिप देउजाको नेतृत्वमा असई विकको शव भेटिएको केही वरपरको स्थानमा खोजी भएको थियो। प्रहरीक प्रारम्भिक जानकारी अनुसार जवान साउदको हत्या भइसकेको संकेत पाएको थियो। सशस्त्र प्रहरीको टोलीले पनि जवान साउनको खोजीमा सहयोग गरेको थियो।

अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा प्रहरीले १३ जनाको समूहलाई नियन्त्रणमा लिएको छ। उनीहरुको बयानको आधारमा नै प्रहरीलाई थप अनुसन्धानको लिड मिलेको हो।

'केही क्लु आइसकेको छ। आज साँझसम्म हामी एउटा निष्कर्णमा पुग्छौं,' एसएसपी सिंहले भने

अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बिक र प्रहरी जवान साउद नियमित गस्तीमा गएका बेला शनिवार रातिदेखि बेपत्ता भएका थिए। राति करिब ८ बजेतिर नियमित गस्तीमा गएका उनीहरू १२ बजेतिर फर्किनुपर्नेमा नफर्किएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रहरीले बेपत्ता भएका जवानको मोबाइल ट्रेसिङ गरेर टेक्निकल अनुसन्धान गरिरहेको छ। घटनाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो(सीआइवी)बाट पनि डीएसपी सहितको टोली पठाइसकेको छ।

आइतवार विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल  प्रहरीले फेला पारेको थियो। शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ उनको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। विकसँग रहेको हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell