काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छ। बालुवाटारमा भएको भेटमा प्रचण्डले कर्णालीमा देखिएको पार्टी विवादलाई केन्द्रबाट हस्तक्षप नगर्न ओलीलाई आग्रह गरेका छन्। प्रचण्डले प्रदेश कमिटी अन्तर्गत नै समस्या समाधान गर्न प्रस्ताव राखेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
'कर्णालीको विवादमा केन्द्रबाट हस्तक्षप नगरी उतै मिलाउनुपर्छ भनेर अध्यक्षले प्रस्ताव राख्नुभयो,' उनले भने। प्रचण्डको प्रस्तावमा ओलीले भने प्रतिक्रिया जनाएका छैनन्। प्रचण्डले केन्द्रको निर्देशन अनुसार महाअभियोगको प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका थिए। पार्टीमा लामो समयसम्म देखिएको विवाद समाधानका लागि भएको सम्झौता कार्यान्वयन नहुँदै फेरि विवाद सुरु गरेको प्रचण्डको आरोप छ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध पूर्व एमालेका नेता यामलाल कँडेलले अविश्वासको प्रस्ताव ल्याएपछि दुई अध्यक्षबीच फेरि विवाद सुरु भएको थियो। शाही र कँडेल दुवैसँग ओली प्रचण्डले छुट्टा छुट्टै छलफल गरेका छन्।
कार्तिक १ गते ओलीले कर्णालीका नेताहरुलाई राखेर छलफल गर्न खोजेपनि प्रचण्डले भेट बहिस्कार गरेका थिए। त्यसयता ओली-प्रचण्डको बिवाद झनै बढेको बताइएको छ। मन्त्रीमण्डल बिस्तार, कर्णालीमा मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव लगाएतका विषयमा प्रचण्डले असहमति जनाउदै आएका छन्।
