PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

उद्घाटनअघि यसरी जगमगायो रानीपोखरी

उद्घाटनअघि यसरी जगमगायो रानीपोखरी

प्रवीण रानाभाट/पहिलोपोस्ट


प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुप फिर्ता पाएको छ। मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो। २०७२ सालको भूकम्पले रानीपोखरीमा क्षति पुगेपछि स्थानीयको दबाबपछि रानीपोखरीले प्रताप मल्लकालीन स्वरुप फिर्ता पाएको हो।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि रानीपोखरी राणाकालीन शैलीमा नभएर चित्रमा देखिएको झैँ ग्रन्थकुट (शिखर) शैलीमा नै बनाउनु पर्ने माग उठेको थियो।

भूकम्पपछि पानीविहीन बनेको रानीपोखरी अहिले पानीले भरिएको छ। पोखरी र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ। यसरी बत्ती बाल्दा मन्दिरको ऐतिहासिक स्वरुपमा असर नपुगोस् भनेर विशेष ध्यान दिइएको छ। मन्दिरसँगै मन्दिर प्रवेश गर्ने पुलमा समेत बत्ती जडान गरिएको छ। रातको समयमा रानीपोखरी जगमगाएको देख्न सकिन्छ। 

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्दैछिन्। रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन्। रानीपोखरी पुनर्निर्माण सम्पन्न हुनुलाई केपी शर्मा ओली सरकारले आफ्नो महत्वपूर्ण सफलताको रुपमा प्रस्तुत गरेको छ। मन्दिर उद्घाटन पूर्व रानीपोखरी परिसर सफा गर्नुका साथै अन्य कामहरु सबै सम्पन्न भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell