PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भक्तपुरको खम्ये जात्रा: कोरोनाका कारण महिषासुर रुपी राँगोलाई बिहानै दौडाउँदै पुर्‍याइयो ब्रम्हायणी



सहयोग रञ्जित

भक्तपुरको खम्ये जात्रा: कोरोनाका कारण महिषासुर रुपी राँगोलाई बिहानै दौडाउँदै पुर्‍याइयो ब्रम्हायणी
फाइल फोटो : गतवर्ष महानवमीका दिन नवदुर्गा मन्दिरबाट खम्येलाई निकाल्दै

हरेक वर्ष महानवमीका दिन भक्तपुरमा खम्ये (राँगो) जात्रा को रौनक हुन्छ। नवदुर्गा मन्दिरबाट दानव महिषासुरको रुपमा रहेको 'खम्ये' लाई दौडाएर ब्रम्हायणी लगेर वध गरिन्छ।

हरेक वर्ष साँझको समयमा हुने खम्ये जात्रा यसपटक कोरोना संक्रमणका कारण प्रभावित बन्यो। साँझ अत्याधिक भीड हुने कुरालाई मध्यजनर गर्दै यो वर्ष बिहानै खम्येलाई दौडाउँदै ब्रम्हायणी पुर्‍याइयो। आइतवार बिहान करिब ४ बजे नै खम्येलाई नवदुर्गा मन्दिरबाट निकालिएको थियो।

नवदुर्गा मन्दिरको ढोकाबाट अबिरले पोतिएको खम्येलाई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर बाहिर निकालेर दत्तात्रय, सूर्यमढी, च्यामासिंह हुँदै खम्येलाई ब्रम्हायणी पुर्‍याइएको थियो। यसअघि खम्ये जात्रा हेर्न बाटोभरी मान्छेहरुको बाक्लो भीड हुनेगर्थ्यो। तर यसपटक बिहाने खम्ये निकाल्छ भनेर सार्वजनिक गरिएको थियो। त्यसैले पहिला झै भीड भएन।

ब्रम्हायणी नदीमा पुगेपछि खम्येलाई स्नान गराएर नवदुर्गा गणहरुले विशेष तान्त्रिक पूजा गरिन्छ। त्यसपश्चात खम्येको श्वासनली पत्ता लगाएर मध्यरातमा वध गर्ने परम्परा रहेको छ।

खम्येको मासुका टुक्राहरु भने स्थानीयहरुलाई प्रसादका रुपमा दिइन्छ। खम्येको मासुले औषधीको काम गर्ने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन्।

यो पनि: भक्तपुरको एउटा फरक जात्रा खम्ये

खम्येको इतिहास

खम्ये वध, महिषासुर वधसँग सम्बन्धित रहेको छ। 

स्थानीय रविन्द्र प्रधानका अनुसार नवमीका दिन त्रिपुरासुन्दरी देवीले महिषासुरको वध गरेकी थिइन्। महिषासुरले देवीबाट बच्न खम्ये अर्थात् राँगोमा प्रवेश गरे। देवीले त्यसको पत्तो पाएर महिषासुरलाई लेखेट्दै ब्रम्हायणीमा वध गरेको खुशीयालीमा हरेक वर्ष महानवमीका दिन एउटा खम्येलाई सिङमा ब्रह्मपास बाँधेर नवदुर्गा मन्दिरबाट ब्रम्हायणीसम्म लगेर त्यहाँ नवदुर्गा गणले महिषासुरको प्रतिक खम्येको वध गर्ने गर्ने गरिन्छ। खम्ये जात्रालाई स्थानीयहरुले 'असत्यमाथि सत्यको जित'का रुपमा मनाउँदै आएका छन्।

खम्ये जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन जानकारी नभएपनि लिच्छवीकालमा अमृतदेवको पालामा बनेको एक शिलालेखमा 'खण्ड म्ये' भन्ने शब्द उल्लेख रहेको र त्यसैको अपभ्रंस भएर हाल 'खम्ये' भएको हुनसक्ने प्रधान बताउँछन्।

महिषासुरको रुपमा खम्येमा वधसँगै भक्तपुरमा नवदुर्गा नाचको चटारो सुरु हुनेगर्छ। नवदुर्गा गणले खम्येको वधगरेसँगै विजया दशमीका दिन उनीहरु भक्तपुरको याँछीमा नवदुर्गा नाचका लागि बनाइएको ख्वापा लिन जान्छन्। (नवदुर्गा नाचका लागि हरेक वर्ष नयाँ ख्वापा बनाइने गरिन्छ। एक पटक नृत्य सकेपछि त्यो ख्वापा जलाइन्छ।)

पढ्नुस् : देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा के हुन्छ?

याँछीबाट ख्वापालाई ब्रम्हायणीमा लगिन्छ। त्यहाँ कर्मचार्य थरका पूजारीहरुले ख्वापामा प्राण प्रतिस्थापन गर्ने गर्दछन्। त्यहाँबाट ख्वापालाई भक्तपुरको तलेजु भवानी मन्दिरमा लगेर पूजा गरी नवदुर्गा भवानी मन्दिरमा भित्राइन्छ। एकादशीको दिनदेखि नेपालकै लामो समयसम्म चल्ने जात्रामा पर्ने नवदुर्गा नाच सुरु हुने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell