PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेताहरुको टीका घरपरिवारमै सीमित, घरदैलोमा हुने छैन कार्यकर्ताको भिड



प्रकाश भण्डारी

नेताहरुको टीका घरपरिवारमै सीमित, घरदैलोमा हुने छैन कार्यकर्ताको भिड
फाइल फोटो

काठमाडौं : यो वर्षका चाडपर्व अघिल्ला वर्षहरुको जस्तो रहेन। कोभिड-१९ संक्रमणको त्रासबीच चाडपर्व मनाउँदा पहिला जस्तै धुमधामका साथ मनाउने अवस्था छैन। संक्रमण बढ्दै गएको अवस्थामा यसले दशैंलाई पनि प्रभावित पार्‍यो।

धेरै भिडभाड गर्न नहुने भएकाले यसपटक पहिला झै दशैंको रौनक छैन। साथीभाइ र आफन्तबीच रमाइलो गरेर मनाइने दशैं परिवारभित्रै सीमित गर्नुपर्ने बाध्यता आइपरेको छ। यसपटकको टीकालाई प्रविधिको प्रयोग गरेर मनाइँदै छन्।

कोरोनाका कारण सर्वसाधरणको दशैं त प्रभावित बन्यो नै। नेताहरुको दशैं 'सेलिब्रेसन'मा समेत प्रभाव पर्‍यो पहिला वर्षहरुमा झै दशैंमा नेताहरुको घरमा टीका थाप्नेको यसपटक भीड हुनेछैन। विभिन्न राजनीतिक दलका नेताहरुले यसपटक टीकालाई परिवारभित्रै सीमित गरिरहेका छन्। 

आजको दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली र पूर्व राजा ज्ञानेन्द्रको हातबाट टीका थाप्नेहरुको घुइँचो हुन्थ्यो। तर यसपटक कसैले पनि टीका लगाइदिने कार्यक्रम राखेका छैनन्।

के गर्दैछन् प्रधानमन्त्री ओली?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दशैंको बेलामा सुरक्षाका मापदण्डमा झनै कडाइ गरेका छन्। संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ओलीले आफ्नो टीका बालुवाटारमै सीमित गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाइले जानकारी दिए।

ओलीको यसपटकको दशैंमा कुनै तामझाम नहुने भन्दै उनले भने, ‘घरमै बस्ने  हो। अहिले उहाँसँग जो जो हुनुहुन्छ उहाँलाई मात्रै टीका लगाउनुहुन्छ। दशैंलाई भनेर कुनै योजना बनाउनु भएको छैन।’

अरु वर्षका दशैंमा एचआइभी संक्रमित बालबालिकालाई बालुवाटारमै बोलाएर टीका लगाइदिने गरेको भएपनि यसवर्ष भने ओलीले उनीहरुलाई पनि नबोलाउने भएका छन्। नेता कार्यकर्ताहरुसँग टेलिफोन र अन्य संचार माध्यमबाट संवाद गरिरहेका छन् ओली।

घरभित्रका बाहेकलाई टीका नलाउने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले २२ वर्ष सम्म दशैंको टीका लगाएका थिएनन्। २०७४ सालबाट दशैंको टीका लगाउन थालेका प्रचण्डले १० वर्ष सम्मको जनयुद्धको बेलामा पनि दशैं बहिस्कार नै गरेका थिए। शान्तिपूर्ण राजनीतिमा आएपछि भने उनले बिस्तारै चाडपर्व प्रतिको धारणमा परिवर्तन गरे र पछिल्लो तीन वर्ष अघिदेखि दशैंमा रमाउन थालेका छन्

यसअघिका दशैंमा परिवार भित्रका र केही नजिकका नेता कार्यकर्तालाई टीका लगाइदिने गरेका प्रचण्डले यो वर्ष भने संक्रमणका कारण टीका कार्यक्रम राखेका छैनन्। प्रचण्डले यसपटक घरभित्रका बाहेकलाई अन्यलाई टीका लगाइदिने छनन्।

'दशैंमा केही पनि कार्यक्रम छैन्। घर भित्रकैलाई मात्रै टीका लगाउनुहुन्छ,' उनले भने।

प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाका अनुसार यसपटक नेता कार्यकर्तालाई प्रचण्डले फोन मार्फत नै दशैंको शुभकामना दिएका छन्। कोरोना संक्रमण र दशैंको बेलामा बाहिर जाने माहोल नभएकाले यही बेला पढनलाई केही बुकहरु प्रचण्डले राखेको उनको भनाई छ।

प्रचण्ड जस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि यो वर्षको दशैंको टीका आफ्नो घरभित्र मात्रै सीमित गरेका छन्। नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नेपालले नातोगोतामा समेत टीका नलगाउने भएका छन्।

घर भित्रैका लागि पनि मास्क लगाएर र सुरक्षाका मापदण्ड अपनाएर टीका लगाउने तय भएको छ। नेता नेपालले दशैंको बेला आफन्त तथा नेता कार्यकर्ताले भेटघाटका लागि भीडभाड गर्ने भएकाले त्यसमा कडाइ गरेका छन्।

'सामान्य अवस्था भएको भए हुन्थ्यो। उहाँले घर बाहिरका कसैलाई पनि टीका लाउनु हुन्न। सामान्य हुन्छ दशैं,' गौतमले भने।

देउवा पनि घरमै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दशैंपनि यसपटक घर भित्रै बित्यो। दशैंमा उनले अति आवश्यक बाहेकका भेटघाटलाई समय दिएनन्। कहिलेकाही गाउँमा गएर दशैं मनाउने गरेका देउवाले यसपाली भने काठमाडौंमै दशैं मनाउने तय गरेका छन्।

अरु बर्षका दशैंमा नेता कार्यकर्तालाई बोलाएर टीका लगाइदिने गरेको भएपनि यसवर्ष त्यस्तो कार्यक्रम नरहेको उनका स्वकीय सचिव भानु देउवाले बताए।

'दशैंका लागि केही विशेष छैन। सामाजिक दुरी राखेर कार्यकर्ता भेट्नुहुन्छ। टीका घरभित्रै सीमित हुन्छ, ' उनले भने।

दशैंको बेलाको अधिकांश समय किताब पढनमा खर्च भइरहेको गरिरहेका छन् देउवा।

उपेन्द्रको प्रश्न : किन मनाउनु पर्‍यो दशैं?

विभिन्न राजनीतिक दलका नेताले सुरक्षाका मापदण्ड अपनाएर दशैं मनाइरहेको र टीका घरभित्रै सीमित गरिरहेका छन्। यता जनता समाजवादीका केन्द्रीय परिषद्का कार्यकारी अध्यक्ष उपेन्द्र यादवले भने यो वर्षको दशैं बहिस्कार गरेका छन्।

अरु बेलामा कहिले काठमाडौंमा त कहिले गृह जिल्ला सप्तरीमा दशैं मनाउने गरेको भएपनि यस वर्ष भने दशैं नै नमनाउने उनले बताए।

'किन मनाउने दशैं। कोही नेपाली खुसी छ र? यस्तो महामारीका बेला खुसी मनाएर दशैं मान्ने अवस्था छैन्,' उनले भने।

यादवले दशैं अवधिभर काठमाडौंमै बस्ने र दशैं विषेश कार्यक्रम नरहेको बताए। आफ्नो स्वेच्छाले नै यसपटक आफूले दशैं बहिस्कार गरेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell