PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आर्थिक पाटोसँगै आवेगले पनि लिन्छ ज्यान, काठमाडौं उपत्यकाभित्र महिनामा ४ जनाको हत्या



पहिलोपोस्ट

आर्थिक पाटोसँगै आवेगले पनि लिन्छ ज्यान, काठमाडौं उपत्यकाभित्र महिनामा ४ जनाको हत्या

काठमाडौं: कार्तिक ८ गते भक्तपुरको भक्तपुर नगरपालिका २ ईटापाकोको प्लानिङ स्थित नरकटघारी खोल्सामा एक ३५ वर्षीय भारतीय नागरिक शाहिद हुसेन मृत अवस्थामा फेला परे। भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति हत्या भएको प्रहरीको अनुसन्धानमा देखिएपछि प्रहरी अभियुक्तको खोजी र हत्याको कारण पत्ता लगाउनु जुट्यो।

शव फेला परेको केही घण्टा बित्न नपाउँदै उत्तर प्रदेश घर भएका सलमान खान र सानु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लियो। जसलका लागि स्थानियको सहयोग देखि नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो। उनीहरुले सहजै हत्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ। समातिएका दुवै जना हुसेनका साथी हुन्।

८ गते राति उनीहरु तीनै जनाले सँगै बसेर रक्सी खाएका थिए। त्यसपछि ९ बजेतिर कारखाना फर्कने क्रममा भक्तपुर नगरपालिका २ ईटापाको स्थित नरकट घारीमा पुगे पछि सानु अन्सारीको गर्लफेन्डको विषयमा शाहिद हुसैन सँग विवाद भयो। त्यही क्रममा शाहिदले केही अवशव्द बोले। बोलेको विषयमा वादविवाद भई झगडा भयो। हुसैनलाई दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुर एसपी तारादेवी थापाले बताइन्।                                       घटनास्थलको फोटो

'गर्लफेन्डको विषयमा अपशब्द बोलेको विषयमा नै झगडा भएको देखियो। त्यही क्रममा उनीहरुले साथीको हत्या गरे।' एसपी थापाले भनिन्।

हुसेन पित्तलका करुवा लगायत भाँडाको सामानको कारोवार गर्दै आएका थिए।

त्यस्तै असोज २१ गते भक्तपुरको चाँगुनारायण ८ सुडालमा ६१ वर्षीय चन्द्र बहादुर योञ्जन लामाको हत्या भयो। जग्गा हेर्न भन्दै पुगेका सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछाप धोबी गाउँपालिकाका २७ वर्षीय प्रेम तामाङले हत्या गरेको खुल्यो। घटनाका मुख्य नाइके भने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा थिए।

लामाकै योजनामा आफ्नो रकम उठाउन उनले रमेश र प्रेमलाई रकम दिएर लगाएको प्रहरी अनुसन्धान खुल्यो। दुई जनाले चन्द्र बहादुरलाई जग्गा हेर्न भन्दै एकान्त खेतमा लगेर कुटपिट गरे त्यही क्रममा चन्द्रबहादुरको उपचारको क्रममा मृत्यु भयो। उनीहरुले हत्या गर्ने भन्दा पनि त्रसाएर रकम उठाउने नियत राखेको प्रहरी अनुसन्धानमा खुलेको छ।

अपरेशन रक्स : जग्गा देखाउन पुगेका चन्द्रबहादुरको हत्या, हेलमेटले अभियुक्तसम्म डोहोर्‍याएको प्रहरी अनुसन्धान

'उनीहरुले चन्द्रबहादुरको सुन समेत लुटेका थिए। आर्थिक पाटोले निम्त्याएको अपराध देखिन्छ।' महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भने।

भदौको अन्तिम साता ४२ वर्षीय शम्भु महतो मारिए। कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा डेरा गरी बस्दै आएका उनलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजंगलका आफ्नै घरवेटी प्रेमकृष्ण महर्जनले आग्लो प्रहार गरेर हत्या गरेका थिए।

घरभाडा र पानीको विषयमा मनमुटाव हुँदा महतोलाई घरबेटीले आग्लोले हानेर हत्या गरेका हुन्। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र देखिएका हत्याका घटना धेरै जसो चिनजान र आफन्तबाट नै भएको देखिन्छ। त्यस्तै धेरै घटना आर्थिक कारण, आवेगमा भएका छन्।

'काठमाडौं उपत्यकामा मात्र होइन। धेरै जसो हत्याका घटना आवेग, आर्थिक कारण र साजिक कारणले गर्दा निम्तिएका छन्,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेरबहादुर कडायतले भने।

प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाभित्र महिनामा ४ जनाको हत्या हुने गरेको देखिन्छ। तीन वर्षको अवधिमा काठमाडौंमा १ सय ४८ जनाको हत्या भएको छ।

आर्थिक वर्ष २०७४/७५ मा खुन डाका तथा कर्तव्य ज्यानमा ५३ जनाको हत्या भएको छ। त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा यो सङख्यामा बढोत्तरी भएको छ। यो समयमा ६० जनाले ज्यान गुमाए। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा यो सङख्या झन्डै आधाले घट्यो। ३५ जनाले मात्र ज्यान गुमाउनु पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell