काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमतीको मृत्यु भएको छ।
कोभिड १९ संक्रमित रहेकी सीता महराको आज बिहान उपचारको क्रममा थापाथलिस्थित नर्भिक अस्पतालमा मृत्यु भएको हो। ५९ वर्षीय सीतालाई शुक्रवार बिहान दाङको घोराइबाट स्वासप्रस्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।
निमोनियाको समेत रहेको उनको पीसीआर परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो। आइसीयूमा राखेर उपचार गराई रहेका उनको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनको मृत्युमा दु:ख प्रकट गरेका छन्।
पढ्नुस् : महरा पत्नी सीताको मृत्युमा प्रधानमन्त्री ओली दु:खी
महरा पत्नी सीता दशैंमा रोल्पा मेबाङ गएकी थिइन। त्यही उनको स्वास्थ्यमा समस्या देखियो।
उनलाई कार्तिक १३ गते दाङको अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। कोभिड १९ को लक्षण देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। दाङमा रहेको गोरखा अस्पतालबाट उनलाई कार्तिक १४ गते नर्भिक अस्पताल ल्याइएको हो। उनमा निमोनिया देखिएको थियो भने सासप्रस्वासमा समस्या पनि बढेको थियो। उनको अवस्था लगातार बिग्रिएपछि नर्भिक ल्याएको भोलिपल्टबाटै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
नेकपा माओवादीको भूमिगत राजनीतिमा महरासँगै होमिएकी सीता पार्टीको पदीय दायित्वमा भने रहेकी थिइनन्।
