काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमा बोलाएर पार्टी फुटको संघारमा पुगेको बताएका छन्।
यसअघि पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बालुवाटारमा बोलाएर सहमतिमै अलग अलग पार्टी बनाएर जाउँ भन्ने प्रस्ताव राखेका थिए।
आइतवार दिउसो बालुवाटारबाट निम्तो आए पछि वरिष्ठ नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेका थिए।
झण्डै साढे दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटको संघारमा भएको बताए पनि फुटलाई जोगाउने विषयमा ठोस प्रस्ताव भने नराखेको छलफलमा सहभागि नेता पाण्डेले जानकारी दिए।
'भेटमा नेता नेपालले पार्टीलाई फुटबाट जोगाउन तपाईको प्रस्ताव के छ भन्दै प्रधानमन्त्रीलाई सोधेका थिए। तर, प्रधानमन्त्रीले ठोस प्रस्ताव भने राखेनन्,' उनले भने, 'दुई नेताबीच यसले यो भन्यो, उसले यो भन्यो भन्ने गनगन चलिरह्यो। त्यस्तो ठोस प्रस्ताव केही आएन्। हामीले एकता जोगाउने तपाईको जिम्मेवारी हो। जोगाउनुस् भन्यौं।'
नेकपा भित्र विवाद चर्किँदै जाँदा ओली पार्टी कमिटीको बैठक छलिरहेका छन्। नेकपाको सचिवालयका बहुमत सदस्यहरुले सोमवारसम्मको अल्टिमेटम सहित बैठक राख्न ओलीलाई पत्र बुझाएका थिए। त्यसपछि ओलीले नेपाललाई बालुवाटारमा भेट्न बोलाएका हुन्।
यो पनि:
पार्टी कमिटीको बैठक छल्दै गुट भेलामा प्रधानमन्त्री आफैँ, नेपाल पक्षका नेता तान्न जबजको 'सुत्र'
पछिल्लो समय ओलीले नेता नेपाललाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन्। यही विवादका बीच ओलीले नेपालसँग तीन पटक भेट गरिसकेका छन्। नेपाललाई फकाउन दोस्रो तहका नेताहरुसमेत परिचान गरेका ओलीले आफ्ना दूत मार्फत प्रदीप नेपाललाई नेपाल फकाइदिन अनुरोधसमेत पठाएका थिए।
