PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ठगीका माष्टरमाइन्ड पसल, प्रहरीलाई नै २ करोडको रुपैयाँको गफ तर खाता अर्कै



पहिलोपोस्ट

ठगीका माष्टरमाइन्ड पसल, प्रहरीलाई नै २ करोडको रुपैयाँको गफ तर खाता अर्कै

काठमाडौं : ठगी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका जुम्ला कनका सुन्दरी गाउँपालिका वडा नम्बर ७ का २६ वर्षीय पसल रोकायलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौंले पसललाई थुनामा पठाएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रोकायालाई असोज ११ गते पक्राउपछि सार्वजनिक गरेको थियो।

'धेरैलाई ठगी गरेको देखियो। अदालतले अहिले पूर्पक्षका लागि थुनामा पठाएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

रोकायले भारतको बैंगलौरबाट आइटीमा माष्टर्स गर्दै गरेको बताउँदै आएका छन्। उनमा प्रविधिको राम्रो ज्ञान भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। त्यही ज्ञानको दुरुपयोग गरेर उनले विभिन्न मानिसको नाममा फेक फेसबुक आइडी बनाएर चरित्र हत्यादेखि बार्गेनिङसम्मका अपराध गरेको उजुरी प्रहरीकहाँ परेको थियो।

उनको नाममा खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा नामको कम्पनी दर्ता गरेर ठेक्कापट्टा समेत गर्ने गरेको देखिएको छ। पसलले नर्सिङ पढ्ने युवतीलाई परीक्षा पास गराइदिने भन्दै रकम लिने गरेको समेत देखिएको थियो। त्यस्तै मानिसको विभिन्न घटनालाई जोडेर चरित्र हत्या समेत गरेका थिए।

उनले कर्णाली आवाजडटकम र कर्णाली एचडी युट्युव च्यानल मार्फत् पनि चरित्र हत्या गर्ने गरेको खुलेको थियो। उनले चरित्र हत्या गर्ने फेसबुकमा नक्कली आइडी खोलेर दुई जनाको नक्कली च्याट समेत गरेको तथा कसैको अश्लिल फोटो समेत हाल्ने धम्की दिने गरेको खुलेको हो।

पसलले आफ्नै नाममा नर्सिङ कलेजसमेत खोल्ने तयारी रहेको बताएका छन्। उनले आफ्नो खातामा २ करोड रुपैयाँ समेत भएको दावी गरेका थिए। तर, प्रहरीको अनुसन्धानमा उनको नाममा रहेका बैकमा कुनै त्यस्तो ठूलो रकम भने भेटिएन।

'हामीले सामात्दादेखि नै खातामा २ करोड रुपैयाँ छ भन्थ्यो। तर, राष्ट्र बैंकसँग समन्वय गरेर हेर्दा अहिलेसम्म त्यस्तो केही देखिएन,' एक अनुसन्धान अधिकृतले सुनाए।

रोकाय २०७४ असोज २ गते ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंमा ५० हजार धरौटी बुझाएर छुटेका व्यक्ति हुन्। त्यसपछि पनि उनीविरुद्ध धेरै उजुरी परेका छन्। २०७५ पुस ४ गते १ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत काठमाडौंबाट छुटेका थिए। त्यसपछि उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका उजुरी परेका छन्। उनीविरुद्ध साइवर अपराधमा बढी उजुरी आएको परिसरका एसएसपी ज्ञवालीले बताए। अहिलेसम्म उनीविरुद्ध देशभर २० भन्दाबढी मुद्दा दर्ता भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell