PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

भारत परस्त चित्रित गरेकोमा कांग्रेसको आपत्ति, ग्लोबल टाइम्सको समाचारको निन्दा



पहिलोपोस्ट

भारत परस्त चित्रित गरेकोमा कांग्रेसको आपत्ति, ग्लोबल टाइम्सको समाचारको निन्दा

काठमाडौं : नेपाली कांग्रेसले चीन सरकारको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्ने ग्लोबल टाइम्सको समाचारको निन्दा गरेको छ। कांग्रेसलाई भारत परस्त रुपमा चित्रित गरेकोमा पनि उसले आपत्ति जनाएको छ।

शुक्रवारको केन्द्रीय समितिले समाचार खण्डन गर्दै पार्टीका तर्फबाट सार्वजनिक प्रतिवेदनको बैठकले बचाउ पनि गरेको छ।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो। नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ। नेपाली कांग्रेस नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन। नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनै पनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ।’

यस्तै, कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले तयार पारेको प्रतिवेदनलाई लिएर चिनियाँ दूतावासले लेखेको पत्रलाई पनि कांग्रेसले अमैत्रीपूर्ण भनेको छ। शाहीको प्रतिवेदन आधार र प्रमाणसहित भएको केन्द्रीय समिति निर्णयमा उल्लेख छ। दुई देशको संयुक्त सीमा निर्धारण टोलीबाट सीमाबारे विवाद अन्त्यको कुरालाई आपत्ति जनाउनुपर्ने कारण नरहेको निर्णयमा उल्लेख छ।

भूमि मिचिएको खबर सार्वजनिक भएपछि पनि सरकारले यसबारेमा पहल नगरेको भन्दै कांग्रेसले सरकारको आलोचना पनि गरेको छ।

सम्बन्धित समाचार :

नेपाली भूमि मिचेको 'भ्रामक प्रचार' पछाडि कांग्रेस रहेको चिनियाँ आरोप, भारत र पश्चिमा शक्ति नेपाल-चीन सम्बन्ध बिगार्न लागेको दावी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell