PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

एभरेस्ट ट्रेलमा लुक्लादेखि नाम्चेसम्मको यात्रा: दुई दशकमा फेरिए दृष्य

एभरेस्ट ट्रेलमा लुक्लादेखि नाम्चेसम्मको यात्रा: दुई दशकमा फेरिए दृष्य

ऋषिकेश दाहाल/पहिलोपोस्ट


हामी लुक्लामा छौं। यहाँबाट फाक्दिङमा पुगेपछि पहिलो बास हुनेछ। यात्राको व्याख्या गर्दै हाम्रा गाइडले हामीलाई निर्देशन दिन भ्याए - बजार क्षेत्र र बस्तीमा पुग्दा मास्क लगाउनु है।

त्यतिमात्र होइन, उनले थपे – पसलमा अनुमति नलिइ नछिर्नुहोला।

कोभिड १९ को त्रासले यहाँको जीवन पनि नराम्ररी बिथोलिएको छ। आतिथ्यतामा आधारित व्यवसाय महामारीका कारण जोखिमको अवस्थाबाट गुज्रिरहेको छ। केही अघि परीक्षण गर्दा ९ जनामा कोभिड १९ पुष्टि भएपछि मानिसहरु सचेत भएका रहेछन्। त्यसैले हामीले विमानस्थलबाट लुक्ला बजार छिर्दा ‘भिसा’ देखाउनु पर्‍यो। ‘भिसा’ अर्थात् कोभिड १९ परीक्षणबाट हात पारेको ‘नेगेटिभ’वाला रिपोर्ट।

तारा एयरबाट यहाँसम्मको सहज यात्राले आगामी दिनको पनि संकेत गरिरहेको अनुभूति भयो। तर, बारम्बार कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने र हिँड्दा संयमित हुनुपर्ने निर्देशनले मनमा त्रास कायमै राख्यो।

त्यसो त हामी सगरमाथा यात्राको मुख्य ढोका मानिने लुक्लामा छौं। यसको तल चौरीखर्कसम्मै गाडीको ट्र्याक खुलिसकेको छ। खुम्बुको भविष्यमा यो बाटोले कस्तो असर पार्ला? आशा र आशंका दुवै छ। हवाई यात्राबाट ओसार्नुपर्ने सामान बाटो बनेमा सजिलै आउँछ, सस्तो पनि हुनेछ। आशंका चाहिँ ट्रेकिङमा 'राउन्ड अन्नपूर्ण'कै हालत त हुने होइन सगरमाथा क्षेत्रको? कुनै बेला विश्वकै सबैभन्दा लोकप्रिय ट्रेकिङ रुट थियो अन्नपूर्ण सर्किट। तर, सडकको ट्र्याक खुलेसँगै क्वालिटी टुरिस्ट गुमाउँदै गयो। २० दिनको ट्रेकिङ सडकले गर्दा १० दिन पनि हुन छाड्यो। बैकल्पिक रुट खुले पनि पहिलेको आकर्षण लगातार गुमिरह्यो। खुम्बुको यात्रा गरिरहँदा बारबार यही प्रश्नले घोचिरहेको थियो। सगरमाथा राष्ट्रिय निकुञ्जभन्दा बाहिरसम्म सडक पुगे पनि त्यसभन्दा माथि चाहिँ सायद नपुग्ला। सगरमाथाको 'मर्म' यसकारण पनि कायमै रहला। तर, लुक्लाको भविष्य नि? अनि जोखिमपूर्ण भनिने एयरपोर्टको बिजनेस?

२० वर्षअघि र अहिले लुक्लामा परिवर्तन धेरै अनुभूति भइरहेको छ। होटलहरु थपिएका मात्र होइन, बाटाघाटामा पनि सरसफाइ बढेको रहेछ। लुक्ला विमानस्थलबाट बाहिरिँदा कतै पनि बत्तीका तार र पोल देख्‍नै परेन। पाइपबाट अन्डरग्राउन्ड सप्लाइ हुन थालेछ, बिजुली। त्यसो त यहाँ २० वर्ष अघि होटलहरु आफैँले माइक्रोहाइड्रो पावरबाट धिपधिपे बत्तीको जोहो गरिसकेका थिए। साँझमात्र आपूर्ति हुन्थ्यो बिजुलीको। अहिले नेसनल ग्रिड जोडिएको छ जसले चमक थपेको रहेछ यहाँको। साँझ नपर्दै विमानस्थलका लाइटले सबैलाई लोभ्याउने रहेछ। तन्द्राङ तुन्द्रुङ तार नदेखिनु र ढुक्कले बत्ती बलेको देख्न पाउनु आफैँमा फरक अनुभूति गराउने विषय बन्यो।

ठूलो डाइनिङ हल, त्यसको बीचमा ठूलो चिम्नी र त्यसैको तापबाट आउने न्यानो। दुई दशक अघि यति होम्समा बस्दा जुन अनुभूति थियो, यसपाला बिस्तारै चिम्नीहरु हट्न थालेको देखियो। यतिसम्म कि चिनियाँ हिटरका क्वाइलले तातो फाल्न थालेका रहेछन्, न्यानो गराउन। स्वभाविक पनि हो, दाउराको दु:ख बेहोर्न सजिलो छैन। विकल्प बिजुली बनिरहेको छ।

लुक्ला बजारमा मिलाएर छापिएको ढुंगाले त्यहाँको वातावरण बदलेको छ। बजार खुला छ, आवतजावत छैन। यतिखेर लुक्लाका व्यवसायीलाई चिन्ता छ - व्यवसाय कसरी अगाडि बढ्ला भन्ने। क्याम्पिङ सहितको ट्रेकिङ कहिले सुरु हुन्छ भर छैन। टी हाउसकै भर नहुँदा टेन्टसहितको लामो यात्रा कसरी होस्? त्यसैले कन्टेनरका कन्टेनर ल्याएको डिब्बाका सामान के गर्ने? मिति गुज्रिने जोखिम बढ्दै गएको छ। वर्ष दिन हुनलाग्यो ट्रेकिङ ओरालो लागेको। यही क्रम केही लम्बिने हो भने क्याम्पिङका लागि ल्याइएका सामान फ्याक्नुको विकल्प हुनेछैन। उनीहरुलाई त्रास छ – कार्गो गरीगरी ल्याएको खानेकुरा खेर जाने।

लुक्लाबाट हाम्रो यात्रा फाक्दिङतिर लाग्दैछ। ढुङ्गाका विशाल आकृतिमा ‘बौद्ध धर्मका वचन’हरु कोरिएका छन् – तिब्बती भाषामा। पानीले घुमाउने मानेहरु पनि छन्, ती घुमेका चाहिँ छैनन्। सायद्, पानीको जोड नपुगेर होला। ट्रेकिङ रुटका गाउँ र बस्तीहरुमा प्रकोप न्युनिकरणका लागि उपायहरु लगाइएको रहेछ। गाउँगाउँमा ‘फायर हाइड्रन्ट’ देखियो। बिजुलीका तार नदेखिनु र आगलागी भइहाले त्यसलाई रोक्नका लागि तयार फायर हाइड्रन्ट देखिनुले यो क्षेत्र कसरी व्यवस्थित बन्दैछ भन्ने अनुमान लगाउन कठिन भएन।

बाटामा फोहर फ्याक्न बनाइएका ढुङ्गाका घरहरुले मौलिकता झल्काइरहेको थियो। यस्ता घरहरुमा कुहिने र नकुहिने बस्तुहरु बेग्ला बेग्लै राख्‍न मिल्ने बनाइएको रहेछ। यहाँ २० वर्षमा नफेरिएको चाहिँ प्रकृतिमात्रै हो। मानव निर्मित वस्तुहरु फेरिएका छन्। परिवर्तन भएका छैनन् – प्राकृतिक स्वरुपहरु।

लुक्ला उत्रिनासाथ हिमालको टुप्पोलाई पृष्ठभूमि पारेर हामीले फोटो कैद गरिरह्यौं। झोलुङ्गे पुल आउनसाथ फोटो सेसनका श्रृङ्खला जारी रह्यो। रोचक त के भने, जति हिँड्यो उति रोमाञ्चक अनि मनमोहक दृष्यहरु आइरहे। तिनले क्रमश: सुरुमा खिचेका तस्बिरहरुलाई ओझेलमा पारिरहेको अनुभूति जोकसैलाई पनि हुँदै थियो। सुस्तरी सुस्तरी हिँड्दै फाक्दिङ पुगियो। यसअघि जाँदा झोलुङ्गे पुल तरेर पारीको टी हाउसमा बास बसेको थिएँ। यसपाला वारी नै शेर्पा गाइड लजमा हामीलाई राखिने व्यवस्था थियो।

हामी बस्ने होटल पुग्नुअघि र त्यसभन्दा पर पनि धेरै होटलहरु बनिसकेको रहेछ। तर, होटलहरु खुला थिएनन्। धेरैमा त ताला नै झुन्डिएको देखिन्थ्यो। यतिको प्याकेजका लागि मात्र खुलेको रहेछ शेर्पा गाइड लज। बाहिरबाट हेर्दा सानो लागे पनि असाध्यै फराकिलो डाइनिङ। ढुंगा र सल्लोको काठले बनेको होटलमा अट्याच बाथरुम सहितका रुम पनि रहेछन्। आधुनिक शौचालय देखेपछि फेरि दुई दशकअघिकै स्मृति याद भयो।

पहिलो पटक यहाँ आएर शौचालय जाँदा सल्लाको पत्कर सँगै थुपारिएको हुन्थ्यो। शौचालय परम्परागत थियो जसमा काठको बीचमा प्वाल हुन्थ्यो। त्यहीबाट शौच गरेपछि नजिकै रहेको सल्लाको पत्करले छोप्नुपर्थ्यो। एक किसिमको सेप्टिक ट्याङ्की नै हुन्थ्यो। सुरुमा असजिलो अनुभूति भए पनि पछि बानी परेको थियो शौचालयको शैली। यही कुरा मैले होटल नाम्चेकी संचालक आङमाया शेर्पालाई सोधेको थिएँ। ‘त्यो बेलाको ट्वाइलेट पनि हरायो। खेतीलाई मल पनि कम हुन थाल्यो,’ ठट्यौली पारामा उनले सुनाइन्।

आङमायाको सन्दर्भ नाम्चेमा जोडिन्छ, शेर्पा गाइड लजका संचालक चाहिँ आङ दावा शेर्पा हुन् जसले दुई पटक सगरमाथा आरोहण गरिसकेका रहेछन्। त्यसपछि उनी लियाजन अफिसरका रुपमा आरोहणहरुमा सहभागी हुँदै आएका रहेछन्। उनको काम गर्ने शैली र होटलको स्वरुप देखेपछि प्रशंसा नगरी सकिएन।

‘राम्रै खर्च गर्नुभएको रहेछ। काठमाडौंमा भए त डेढ करोडजतिमा बन्छ होला। यहाँ किन बन्थ्यो?’

गफिन हौसिए उनी।

‘काठमाडौंमा दश करोडकै बनाए पनि यहाँको जस्तो फाइदा हुन्न,’ उनले सुनाए। त्यसो त ३ करोडभन्दा बढी नै नगद खर्चेका रहेछन् फक्दिङको यो होटलमा उनले। बिजुलीदेखि डिजाइन र रङरोगनसम्म आफैँले गरेकाले खर्च राम्रै बचाएका रहेछन् बनाउँदा। ‘विदेश बसेर आएकाले जत्ति काम गर्ने हुँदो रहेछ,’ भान्साबाटै उनकी श्रीमतीले सुनाउँदै थिइन्।

उनले हाम्रै अनुरोधमा नुन चिया पिलाए। दुई दिनअघि कतारका राजकुमार यही बाटो हुँदै नाम्चे उक्लेका रहेछन्। केही अघि बहराइनका राजपरिवारका सदस्यले विभिन्न हिमाल आरोहण पनि गरेका थिए। मरभूमिबाट धनाढ्यहरु आउनुलाई आङदावाले कसरी हेर्छन् त?

‘आउनु त राम्रो हो। तर, चीन र भारतबाट मात्रै आइदिए पनि हामीलाई पुग्छ, उति टाढाका पनि आउनुपर्छ भन्ने छैन,’ उनले भने। तर, मरभूमिको देशबाट हिमालको भ्रमणमा हाइ प्रोफाइलको यात्रा हुनुले पक्कै बलियो सन्देश दिँदैछ नेपालको पर्यटनका लागि।

फाक्दिङको बसाई टुङ्ग्याउँदै हामी मञ्जोतिर लाग्यौं। सगरमाथि राष्ट्रिय निकुञ्जको प्रवेश द्वारमा पुगेपछि फेरि ‘भिसा’ चेक गरायौं। सबैको विवरण इन्ट्री भएपछि निकुञ्जको प्रवेश शुल्क तिरेर हामी दूधकोशीको किनारैकिनारा लागिरह्यौं। बगरै बगरको यात्रापछि हाम्रो प्रतीक्षामा थियो लामो उकालो। यो उकालो नाम्चेसम्मै तन्किएको छ। अहिलेसम्मको यात्राको यो नै सबैभन्दा कठिन भाग थियो।

यसपटकको यात्रापूर्व एउटा फिचर फिल्म र एउटा डकुमेन्ट्री हेर्न भ्याएको थिएँ। फ्रेन्च फिल्म ‘द क्लाइम्ब’ र सीएनएनले तयार गरेको अमेरिकीको पोर्टर अनुभूति। ती दुवैमा लोभ्याउनेगरी देखाइएका दृष्य आफ्नै सामुन्ने थियो। खच्चर र जोख्खाको आवतजावत जारी थियो। गहिरो खोँचलाई जोड्ने झोलुङ्गे पुलमा बेस्सरी हावा चल्दा मनमा थोरै त्रास नआएको होइन। पुलमा बाँधिएका खादाहरु फुरफुर गर्दै उडिरहेका थिए। खादा र लुङ्दर फट्फटाउँदा त्यसबाट अनौठो ध्वनी पैदा भइरहेको थियो। फिल्म द क्लाइम्बमा यही झोलुङ्गे पुलको रोचक दृष्य छ। पुलमा डराइरहेको पात्र जोख्खा हुन्निँदै आएपछि त्यसैको डरमा भाग्दा पुल पार भइसकेको हुन्छ। पुल कटेपछि केहीबेर थकाइ मार्न मन लाग्यो, सिनेमाका दृष्यहरुलाई फेरि सम्झिन मन लाग्यो।

झोलुङ्गे पुल पार गरेपछि हामी लगातार उकालो लागिरह्यौं। जंगलको बाटो हुँदै नाम्चेसम्मै तन्किएको छ उकालो। यसअघि हामी तर्पाया तर्पाया हिँडेका थियौं। अब तेर्सो बाटो हाम्रो विकल्पमा थिएन। लगातार उकालो लागेपछि नाम्चेको फेदमा पुग्यौं। हामी यहाँ पुग्दा नाम्चे जगमगाउन थालिसकेको थियो, वरिपरिका हिमाल टलक्कै टल्किरहे पनि बिस्तारै रात गहिरिनेक्रममा थियो।

नाम्चेको एक राते बसाईपछि खुम्जुङ गाउँ जाने तयारी थियो। त्यसैबीच सगरमाथालाई नजिकबाट नियाल्न कालापत्थर नै पुग्ने योजना पनि बुन्न थालिसकेका थियौं हामीले। सबैभन्दा उचाईमा रहेको रिसोर्ट एभरेस्ट भ्यू अनि ५ हजार ६ सय मिटर उचाईको कालापत्थरबाट सगरमाथा नियाल्ने छौं हामी।

एभरेष्ट ट्रेलमाथि ट्राभल लग

​२० वर्षपछि खुम्बुको यात्रा - १ : कोरोना भाइरसले भाँडेको मन लिएर 'एभरेस्ट ट्रेल'

लुक्लामा रहेको पर्यटन सूचना केन्द्रको भित्री स्वरुप।
बाटो नभएकाले भारी यसरी नै खेपिन्छ यहाँ।
ढुंगामा तिब्बती भाषामा लेखिएका स्लोकहरु।
जोखिम नियन्त्रणका लागि गाउँगाउँमा यस्तै संरचना देखिन्छ।
बारम्बार झोलुङ्गे पुलबाट वारपार हुनु सामान्य हो यहाँ।
यो चाहिँ खुम्बु क्षेत्रको सबैभन्दा अग्लो झोलुङ्गे पुल।
नाम्चे बजार।
नाम्चेबाट सगरमाथा श्रृङ्खला।


ट्रेन्डिङ पोस्ट

Ncell