PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सेनाले बनाएको सडकले हटेन भारतमाथिको निर्भरता, यसपाली पनि पारीबाटै कुञ्चा सर्दै छाङरु-तिंकरवासी



कमलराज भट्ट

सेनाले बनाएको सडकले हटेन भारतमाथिको निर्भरता, यसपाली पनि पारीबाटै कुञ्चा सर्दै छाङरु-तिंकरवासी

दार्चुला (छाङरु) : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले असोज तेस्रो हप्ता तामझामका साथ दार्चुला सदरमुकाम खलंगाबाट व्यास गाउँपालिका वडा नम्बर १ छाङरु जोड्ने घोडेटो बाटोको उद्घाटन गरे।

नेपाली सेनाले घाटीबगरमा चट्टान विस्फोट गरेर ५५० मिटर बाटो बनाउँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भनिएको थियो। तर यथार्थमा बाध्यता अझै हटेको छैन। सदरमुकाम खलंगा झर्न भारतीय बाटो प्रयोगका लागि छाङरु र तिंकरका बासिन्दाले भारतीय प्रशासन र नेपाली प्रशासन गुहारेका छन्।

सेनाले जिम्मेवारी पाएको बाटो निर्माण गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको छ। सेनाले सीमित एक ठाउँमा बनाएको बाटोलाई पुरै बाटो राम्रो भएको र नेपाली बाटो भएरै कुञ्चा सर्न सकिने भनेर गरिएको प्रचारबाट छाङरु र तिंकरबासी असन्तुष्ट छन्।

'सेनाले तम्बाकुमा बनाएन। हातै लगाएन। मौराबेलसम्म ट्रयाक खोल्यो। राम्रो बनायो। तर छाङरुसम्म भएन। एक प्रतिशत पनि चित्त बुझेको छैन,' स्थानीय योगेन्द्र सिंह बोहराले भने, 'रोड आर्मीले बनाउनुपर्छ। आउने आर्थिक वर्षमा भए पनि आर्मीले घोडेटो बाटो बनाइदिए हुन्थ्यो।'

बोहराका अनुसार यो वर्ष भारतबाट कुञ्चा सर्न वडा कार्यालयमार्फत प्रक्रिया अघि बढिसकेको छ। 'भारतसँग आफै पनि पहल गरिरहेका छौं। जिल्ला प्रशासन कार्यालयबाट पनि पहलका लागि सिफारिस भइसकेको छ,' उनले भने।

छाङरुकै सन्दीप ऐतवाल नेपाली बाटोमा पाइला पाइलामा खतरा रहेको सुनाउँछन्। दशैंअघि सो बाटोबाट हिँडेर छाङरु आएका सन्दीपलाई अब फेरि त्यहीँ बाटो फर्किने आँट छैन। 'खतरा छ। झण्डै मरेको। यो पाली त जान सकिँदैन। आर्मीले बनाएको ठाउँमा राम्रो छ। अरु ठाउँमा गाउँपालिका र अरुले बनाएकोमा खतरा छ। तम्बाकुमा खतरा छ,' उनले भने।  

घोडेटो बाटोबाट हिँडेर गएका सुरक्षाकर्मीले पनि जोखिम उच्च रहेको सुनाए। 'बाटो एकदमै साँघुरो छ, सबै ठाउँमा सेनाले बनाइदिएको भए सजिलो हुन्थ्यो। भिरालो बाटोमा अलिकति तलमाथि भए सिधै महाकाली पुगिन्छ,' ती सुरक्षाकर्मीले भने।

वडाध्यक्ष अशोकसिंह बोहराले कुञ्चा सर्न जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको बताए। 'सेनाले बनाएको बाटो सीमित हो। धेरै ठाउँमा बनाउनुपर्ने छ। बाटो साँघुरो छ। सबै ठाउँमा राम्रो पनि छैन। पशुहरु लैजान अफ्ठ्यारो छ। त्यसैले भारतीय बाटो भएर जानका लागि सिडिओ कार्यालयमा पत्र पठाएका छौं। भारतीय पक्षसँग समन्वय गरेर तल सर्छौं,' उनले भने।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले छाङरु र तिंकरवासीलाई भारतीय बाटोबाट कुञ्चा सार्न भारतीय पक्षसँग पहल भइरहेको बताए। उनका अनुसार तिहारपछि साताको अन्त्यतिर पुल खोल्नेगरी भारतीय पक्षलाई अनुरोध गरिएको छ।

प्रजिअ पोखरेलका अनुसार अन्य ठाउँमा पनि बाटो बनाइदिन सेनालाई आग्रह गरे पनि अरुलाई जिम्मा दिएको भनेर गरेन। अन्य ठाउँमा बाटो बनाउने जिम्मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)लाई दिएको छ। काम कहिले हुने भन्ने टुंगो छैन।

पशुपालन र खेतीपाती गर्ने यहाँका बासिन्दा हिउँद लागेपछि सदरमुकाम खलंगा झर्छन्। नेपाली बाटो बिँग्रिदा वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य छन्।

हेलिकोप्टर आउँदा स्थानीयलाई सहज

यसपाली छाङरुमा हेलिकोप्टरको उडान बाक्लै भयो। सधै भारतीय हेलिकोप्टरमात्रे देखिने छाङरुमा नेपाली हेलिकोप्टर उडेको उड्यै छन्। सेनाको हेलिकोप्टर, खाद्यान्न बोक्ने, सशस्त्रको भवन बनाउने र अहिले आएर टेलिकमको टावर बनाउने सामान ढुवानी गर्ने हेलिकोप्टर उडिरहेको छ। हेलिकोप्टर जाँदा सामान लगेर जाने र आउँदा खाली हुन्छ। खाली भएको हेलिकोप्टरमा यसपाली छाङरुवासीले कुञ्चा सर्दा लैजाने धेरै सामान पठाइसकेका छन्। केही आफै पनि हेलिकोप्टरमा भाडा तिरेरसमेत खलंगा फर्किसकेका छन्। 'यसपाली हेलिकोप्टर आइरहँदा धेरै सामान गइसकेको छ,' वडाध्यक्ष बोहराले भने, 'कुञ्चा सर्न धेरै अफ्ठ्यारो हुने छैन। पशुचौपाया बाँकी छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell