PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'राति राति ओलीलाई भेट्ने देउवा'लाई अफर : सहयात्रीबाट अप्ठेरो पर्दा प्रतिपक्षी रिझाउने ओली अस्त्र



नेत्र तामाङ

'राति राति ओलीलाई भेट्ने देउवा'लाई अफर : सहयात्रीबाट अप्ठेरो पर्दा प्रतिपक्षी रिझाउने ओली अस्त्र
फाइल फोटो : प्रधानमन्त्रीको सचिवालय

बहुमतको डोजर लगाएर मनपरी विभाग गठन गर्ने, पार्टीभित्रको प्रतिपक्षीको आवाज सुन्दै नसुन्ने, पार्टीलाई उचित नेतृत्व प्रदान गर्न नसकेको। यस्तै आरोप नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेपिरहेका छन्। आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउँदा पनि नराम्ररी हारेको दाग त छँदै छ देउवामाथि।

यसैमाथि कोरोना भाइरसको महामारीमा सरकार छाडा बनेको छ। जनताको कुरा सुनेकै छैन। विभिन्न तरिकाले भ्रष्टाचारमा लिप्त छ सरकार। तर, प्रमुख प्रतिपक्षी दल काँग्रेस मुकदर्शक बनेको छ। जनताले प्रमुख प्रतिपक्षी दल खोजिरहेका छन्। तर, काँग्रेस नेतृत्व भने आफ्नै दलबाट सर्वाधिक आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'हबनबिङ' छन्। त्यो पनि सत्ता साझेदारीसम्मको प्रस्तावमा।

हुन त काँग्रेस नेताहरुले बेलाबेला काँग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षीमा बस्ने जनमत छ भनेर हात बाँधेर बसेको अभिनय गर्छन्। तर, आफ्नै दलका सभापति भने बेलाबेला सत्तामा जान उच्किन्छन्।

प्रसंग, सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवारको भेट। देउवा बालुवाटार पुगेर नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकबाट आलोचित प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेट गरे। भेटमा सत्ता साझेदारीसम्मको अफर ओलीले गरेको बताइन्छ।

त्यसैले पनि यो विषयले नेकपाभित्र तरंग पैदा गरिदियो। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले विभिन्न आरोप लगाएर ओलीलाई र्‍याखर्‍याख पारेका छन्। त्यतिमात्र हैन सचिवालयका बहुमत सदस्यको दबावले ओली प्रतिपक्षी दलका नेताको सहयोग लिनसम्म पुग्नुपर्ने बाध्यता आइलागेको छ।

ओली पासा फ्याँक्न सिपालु छन्। नेताहरुलाई विभिन्न प्रलोभन देखाएर खेलाउन खप्पिस ओली पछिल्लोपटक चेपुवामा परेपछि देउवासँग भेट गरेका हुन्। ओलीले आफ्नैबाट आफू अप्ठेरमा पर्दा यसरी नै प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट्ने गरेका छन्।

यो भेटले नेपाली काँग्रेसभित्रै पनि एक किसिमको तरंग पैदा भयो। प्रजातान्त्रिक पार्टीभित्र देउवाले अप्रजातान्त्रिक शैली अपनाउने गरेको आरोप लाग्दै आएको छ। अरुसँगै खासै छलफल नगरी एकलौटी ढंगले निर्णय गर्ने गरेको आरोप खेप्दै पनि आएका छन्। यसो त पदका लागि उनी जे पनि सहमति गर्न तयार हुन्छन् भन्ने छाप पनि बसिसकेको छ। यस्तो अवस्थामा ओलीसँग भेट गर्नु काँग्रेसका लागि सुखद् नहुने काँग्रेसकै नेताहरुको ठहर छ।

समयमा महाधिवेशन गर्न नसकेर आलोचित बनेका देउवाविरुद्ध अहिले पार्टीको प्रतिपक्षले भन्ने कुरा यही हो। त्यसै त कमजोर काँग्रेस सत्ताको ललिपपमा लोभिए कता पुग्ने हो - चिन्ता काँग्रेस नेताहरुलाई थपिएको छ।

देउवाले बालुवाटार भेटलाई सक्दो लुकाउने प्रयास गर्छन्। हामीसँगको कुराकानीमा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले देउवा ओलीसँग भेट्न रातीराती बालुवाटार पुग्ने गरेको दाबी गरेका थिए। 'शेरबहादुरजीको हबनबिङ छ। उहाँ ओलीजीसँग देउवाको बेलाबखत भेट हुन्छ। के के गर्नुहुन्छ? राति राति गएर ओलीजीलाई भेट्नुहुन्छ। ओलीजीले भनिसक्नुभयो - शेरबहादुरजी भएर हामीलाई धेरै सजिलो भएको छ।'

यस्ता भेटहरुलाई देउवाले लुकाउने गरेको उनको भनाई थियो। देउवाले पछिल्ला भेट्हरुलाई लुकाउने कोशिश गरिरहेका छन्। गत असार १७ मा पनि देउवा ओली भेट्न बालुवाटार पुगेका थिए। यो भेटलाई लुकाउन देउवाले हर प्रयास गरेका थिए। पछि पार्टीभित्र विरोध बढेपछि उनले भेटलाई स्विकारे।

शनिवारको भेटलाई पनि नेकपा र काँग्रेस दुबै पक्षबाट लुकाउन खोजिएको थियो। यद्यपि सूचनाहरु चुहिएपछि सत्ता साझेदारी भन्दा पनि विश्वविद्यालयका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको बताएका छन्। संवैधानिक आयोगका विभिन्न पदहरु पनि रिक्त रहेकोले यसको भागबण्डाका लागि छलफल भेटमा भएको बताइन्छ। महाधिवेशनको अर्को मिति तोक्न नसकेर रुमल्लिएका देउवालाई पार्टीभित्रबाट तीव्र विरोध छ भने सरकार सञ्चालन प्रभावकारी हुन नसकेको भनेर ओलीलाई। यस्तो प्रसंगमा यी दुईको भेटलाई पार्टीपार्टीभित्र मात्र हैन जनता पनि राम्रो मान्दैनन्। कोरोना नियन्त्रणमा सरकार मौन बसेको भन्दै दशैंपछि आन्दोलन गर्ने चेतावनी दिएका देउवा आफैं यसरी ओलीसँग हबनबिङमा उत्रिएका छन्। छाया सरकार गठन गरेर चर्चामा आएको काँग्रेस अहिले ओलीको छायामा परेको छ। पार्टीको अवस्था लथालिंग पारेर सत्तापक्षसँग यसरी कतिन्जेल रम्ने? नेकपाभित्रको आन्तरिक कलहमा कतिन्जेल प्रयोग भइरहने? देउवाबाट देशभरका काँग्रेस कार्याकर्ताले यसको जवाफ खोजिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell