PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल 'इंगेज' गर्ने दिल्लीको रणनीति: भारतीय विदेश सचिवको एजेन्डाविहीन भ्रमण, सीमाभन्दा उत्तरतिर नजर



विधुर ढकाल

नेपाल 'इंगेज' गर्ने दिल्लीको रणनीति: भारतीय विदेश सचिवको एजेन्डाविहीन भ्रमण, सीमाभन्दा उत्तरतिर नजर

काठमाडौं : एक वर्ष लामो संवादहीनता तोड्दै नेपाल र भारतबीच औपचारिक रुपमा संवादको सुरुवात भएको छ। २०१९ नोभेम्बर २ मा भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भू-भागमा पार्‍यो। त्यसपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएर भूमिबारे भारतीय दाबी गलत रहेको भन्दै नक्सा सच्याउन माग गर्‍यो। तर, भारतले उक्त भूमि आफ्नै रहेको दाबी गरिरह्‍यो। यसबीच नेपालले भारतलाई पटक-पटक सीमा विवादका लागि वार्ताको टेबलमा निम्तो दियो। तर, भारत तयार रहेन।

कोभिड-१९ को संक्रमणसमेत फैलिँदै गयो। नेपाल र भारत दुबै देशमा लकडाउन सुरु भयो। सीमा बन्द थिए। त्यहीबीच भारतले एकपक्षीय रुपमा नेपाली भूमि हुँदै मानसरोबर जाने सडक उद्घाटन गर्‍यो। 

भारतले नयाँ नक्सा जारी गरेपछि कूटनीतिक नोट पठाएर विरोध गरेको नेपालले पुन: भारतको कदमको विरोध जनायो। परराष्ट्रले नोट जारी गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्ट्रममै उभिएर भारतको विरोध गरे। नेपालले पटक-पटक वार्ताको टेबलमा आउन आग्रह गर्दा भारत भने कोभिड-१९ को संक्रमणलाई बाहना बनाउँदै टारिरह्यो। त्यसपछि नेपालले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गर्‍यो। सर्वसम्मतले संविधान संशोधन गर्दै नक्सालाई अंगीकार गर्‍यो। 

भारतले नेपालको सो कदमलाई आफ्नो सार्वभौमिकता र अखण्डतामाथि आक्रमणको संज्ञा दिँदै आएको छ। २०१९ को नोभेम्बरबाट नेपाल भारतबीच बढेको दूरी एक वर्षपछि घट्दै गएको छ। अक्टोबर अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको दूतको रुपमा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आइपुगे। प्रधानमन्त्रीसमेतलाई भेट गरेर गएका उनको भ्रमणले संवादलाई अगाडि बढाएको छ। 

प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई भेट गरेपछि उनको चर्को आलोचना भएको थियो। प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयले भेटबार] सार्वजनिक रुपमा 'नोट' नदिए पनि उनले निकटका नेताहरुलाई मोदीले दूत पठाउँछु भनेको तर कसलाई पठाउने भनेर जानकारी नदिएको र आउने बेलामा रअ प्रमुख आएको भन्दै आएका छन्। प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले पनि अनौपचारिक रुपमा सञ्चारकर्मीलाई यही ब्रिफ गर्ने गरेका छन्। 

उनले अरु नेतालाई भेटेको भन्ने समाचार आएपछि सबैले त्यसको खण्डन गरेका छन्। सो भेटमा के विषयमा छलफल भयो भन्ने सरकारले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन्। यद्यपि ओलीले पनि सीमा विवादका क्रममा नक्सालाई लिएर दुवै देशबीच गलत बुझाइ भएको भन्दै वार्तामा बसेर समस्या हल गर्न सुझाव दिएका भारतीय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन्। 

त्यही बेलादेखि भारतीय सञ्चारमाध्यमले सीमा विवादको विषयमा दूई देशबीच वार्ता हुने र त्यसका लागि विदेशसचिव हर्षवर्द्धन श्रृङगला नेपाल जाने भन्दै समाचार दिन थालेका थिए। भारतीय मिडियाले भने गोयलको काठमाडौं यात्रासँगै नेपाली पक्ष सीमा विवादलाई लिएर लचक बनेको दाबी गरे। 

यसबीच शिक्षा मन्त्रालयले प्रकाशित गरेको नेपालको नयाँ नक्सा र क्षेत्रफलसहितको किताब प्रकाशन र वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाए। यसलाई भारतीय पक्ष आफ्नो जितका रुपमा व्याख्या गर्‍यो। नेपाली पक्षले हालसम्म किताब प्रकाशन र वितरणलाई रोक्नुपर्ने यथोचित जवाफ दिन सकेको छैन। ओलीको उक्त ‘स्टेप’बाट भारत पनि वार्ताका लागि सहज बनेको भारतीय मिडियाको विश्लेषण छ।

नेपालको ‘एग्रेसिभ’ पोजिसनलाई लिएर दिल्लीमाथि दबाब बढ्दै गइरहेको अवस्थामा नरेन्द्र मोदी सरकारले महिनौँदेखि रोकिएको ‘परम्परा’लाई निरन्तरता दिन भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई काठमाडौं पठायो।

नरवणे तिनै सेनाध्यक्ष हुन् जसले नेपालले चीनको उक्साहटमा आएर लिम्पियाधुरा, कालापानी क्षेत्र आफ्नो दाबी गरेको अभिव्यक्ति दिएका थिए। नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणले पहिलो दिन नै सांस्कृतिक कूटनीति देखाए। पशुपति र हुनमानढोका दर्शन पुगेर। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिन्। नरवणे नेपाल रहँदा उनले नेपाली समकक्षी पूर्णचन्द थापासँग छलफल गरे। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे। तर कूटनीतिक रुपमा दुई देशबीच संवाद ठप्प नै रह्‍यो।

ऐजेन्डाविहीन शिष्टाचार भ्रमण

यही संवादको श्रृङ्खलालाई जोड्दै परराष्ट्र सचिव भरतराज पौड्यालले समकक्षी श्रृङ्गलालाई नेपाल निम्तो पठाए। भारतमा नयाँ विदेश सचिव नियुक्त हुनासाथ छिमेकी देश भ्रमण गर्ने प्रचलन छ। सोही अनुरुप श्रृङ्गलाले अन्य देशको भ्रमण गरे पनि नेपालको भ्रमण गरेका थिएनन्। जनवरीमा भारतको विदेश सचिवमा नियुक्त भएका उनको यो पहिलो नेपाल भ्रमण हो। त्यस मानेमा पनि यो उनको नेपालको शिष्टाचार भ्रमण हो। बाहिर आए जस्तो कुनै ऐजेन्डासहितको भ्रमण थिएन। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल पनि यसलाई पुष्टि गर्छिन्। 'यो शिष्टाचार भ्रमण हो। दुई देशबीचको सम्बन्धको उच्चस्तरीय भ्रमणको परम्परा हो। भ्रमणका बेला दुई देशबीचको सम्बन्ध तथा विविध आयामहरुको बारेमा छलफल हुन्छन्।' उनले भनिन्, 'कुनै एउटा एजेन्डा लिएर छलफलका लागि भएको भ्रमण होइन्। दुई देशबीचको साझेदारीका विविध आयामहरुका बारेमा छलफल भए।' 

यसबीच नेपालको परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले स‌ंक्षिप्त रुपमा छलफलबारे जानकारी गराएका छन्। परराष्ट्र मन्त्रालयले दुई देशबीचको साझेदारीका विविध पक्षहरुमा छलफल भएको जानकारी गराएको छ। 

त्यस्तै भारतीय दूतावासले पनि छलफल उपलब्धिमूलक रहेको र द्विपक्षीय सहयोगको समीक्षा भएको जनाएको छ। आपसी हितका मुद्दाहरूमा छलफल भएको दूतावासले जनाएको छ। 'दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गर्नुभयो। आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो,' भारतीय दूतावासले भनेको छ। तर, विविध पक्षहरुमा कुरा उठे पनि सीमा विवादले भने महत्त्व पाएन। 

द्विपक्षीय छलफलपछि भारतीय विदेश सचिव श्रृङ्गलाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका छन्-‘छलफलको राम्रो सुरुवात भएको छ। दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ। वार्ता एकदमै उपलब्धिमूलक भएको छ। वार्ताका एजेण्डाहरु एकदमै बृहत् छन्। आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ।’ उनले सीमा विवादको विषयमा भने उल्लेख गरेका छैनन्। उनले आर्थिक, सांस्कृतिक साझेदारी तथा पूर्वाधार निर्माणका क्षेत्रमा साझेदारीका विषयमा छलफल भएको बताए। यस पटक साझेदारीका विविध क्षेत्रहरुलाई छलफलमा समेट्ने प्रयास भएको उनले बताए।


उनले छलफल धेरै राम्रो भएको र उपलब्धिमूलक भएको बताउँदै भने 'हाम्रो साझेदारी यति बृहत् छ। त्यो डिस्कसन सुरुमा फस्ट मिटिङका लागि एकदमै राम्रो प्रोडक्टिभ सेसन भयो।'

 

पौड्यालसँगको वार्तापछि उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरे। भेटसँगै उनले कोभिड-१९ विरुद्ध लड्नका लागि भारतीय स्वास्थ्य सहायता हस्तान्तरण गरे। उनले भारत सरकारको तर्फबाट २ हजार भाएल रेम्डेसिभर हस्तान्तरण गरे। त्यतिबेला उनले नेपाललाई कोभिड-१९ को भ्याक्सिन भारतमा उपलब्ध हुनासाथ नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले त्यहाँ नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गर्न भ्याए।

'कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ। त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो। हाम्रो दुई पक्षीय सम्बन्ध सभ्यतासँग जोडिएको छ। यो धेरै बलियो छ। जस्तै प्रतिकूल अवस्थामा पनि यो बिग्रिएको छैन। कोरोना महामारीमा पनि हामीले छोडेनौं।'

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समय अनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए।  परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटपछि श्रृङ्गला बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे।

भेटका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताए पनि सीमा विवादको विषयमा छलफल भयो वा भएन जानकारी गराइएको छैन। त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका छन्। साथै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितको टोलीसँग पनि भेट गरेका छन्। 

नेपाललाई 'इंगेज' गराउँदै उत्तरतिर नजर

पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढेको र नेपाल चीन नजिक पुगेको भारतीय विश्लेषण रहँदै आएको छ। दुई देशबीचको सीमा विवादका बीच नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमणको एजेन्डा दुई देशबीचको सीमा विवादको केन्द्र, लिपुलेक, कालापानी र लिम्पियाधुरा हुन सकेन। 

तर नेपाललाई 'इंगेज' गराउँदै उनी उत्तरतिर नेपाल चीन सीमातिर सोझिँदै छन्। 

शुक्रबार उनी गोरखा जाँदैछन्। गोरखामा भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालयको पुन:निर्माण भारतीय सहयोगमा सम्पन्न भएको छ। ती विद्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै उनले मनाङमा भारतीय सहयोगमा पुन:निर्माण भएको बौद्ध गुम्बाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। 

नेपाल आउँदै गर्दा उनले त्रिभुवन विमानस्थलमा यस विषयमा जानकारी दिए। उनले गोरखा जाने भनेर बताए पनि मनाङ जान्छन् या जाँदैनन् भन्ने खुलाएका छैनन्। तर मनाङको गुम्बा उद्घाटन भने गर्नेछन्। 

श्रृङ्गलाको नेपाल भ्रमण र छलफलबारे जानकार परराष्ट्रका एक अधिकारीका अनुसार उनको भ्रमण भारतका तर्फबाट भएको नियमित हो। 'छलफलमा दुई देशबीचको आपसी हितको विषयमा कुरा भयो सीमा विवादको विषयमा त्यस्तो छलफल भएन। सामान्य रुपमा विषय उठ्नुबाहेक अरु भएन,' छलफलमा सहभागी एक अधिकारीले भने, 'लामो समयको संवादहीनता तोडिएको छ। अब बैठक बस्दै जालान् त्यस विषयमा पनि छलफल होला। आज भएन।' 
अतिथि भएर दिल्ली जान सक्छन् परराष्ट्रमन्त्री ज्ञवाली

भारतले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको सीमा विवाद राजनीतिक नेतृत्व तहबाट समाधान चाहेको छ। नेपालले संविधान संशोधन गरी यी भूभागलाई नेपालको नक्सामा समावेश गरिसकेको अवस्थामा भारतले यसलाई राजनीतिक तहमै समाधान खोजेको परराष्ट्र निकट स्रोत बताउँछ। 

एक वर्ष लामो तिक्तता तोड्दै दुई देशबीच संवादको सुरुवात भएको छ। यस्तोमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्लीमा पहिलोपटक भारतीय विदेश सचिव एस. जयशंकरको पाहुना भएर जान सक्छन्। 

हालसम्म भारतीय विदेश मन्त्री जयशंकरको पाहुना भएर ज्ञवाली नयाँ दिल्ली गएका छैनन्। जयशंकर भने गत वर्ष २०१९ अगस्टमा नेपाल आएका थिए। दुई देशबीचको मन्त्रीस्तरीय आयोगको बैठकमा नेपाल आएका उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए।

श्रृङ्गलाको भ्रमणले दुई देशबीचको विदेश मन्त्री तहमा हुने बैठकका लागि समेत बाटो खुलेको छ। त्यही बैठकका लागि परराष्ट्रमन्त्री डिसेम्बरको मध्यदेखि जनवरीको सुरुवातमा नै भारत भ्रमण गर्न सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell