PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रृङ्गलाको भाषा कूटनीतिमा मख्ख नेपाल : सीमा विवाद यथावत् तर संवादहीनताको अन्त्य



सहयोग रञ्जित

श्रृङ्गलाको भाषा कूटनीतिमा मख्ख नेपाल : सीमा विवाद यथावत् तर संवादहीनताको अन्त्य

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला बिहीबार बिहान काठमाडौं ओर्लिए। त्रिभुवन विमानस्थलमा आएपछि उनले आफ्नो भ्रमणको उद्देश्य बताए नेपाली भाषामा। यसअघि पनि काठमाडौं आएको र विदेश सचिव नियुक्त भएलगत्तै आउने इच्छा भए पनि कोरोना संक्रमणका कारण आफू आउन नसकेको उनले बताए।

काठमाडौं ओर्लिएलगत्तै नेपाली भाषामा सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका श्रृङ्गलाले भ्रमणका क्रममा विभिन्न समयमा नेपाली बोले। प्रायः नेपाल आउने भारतीय अधिकारी हिन्दी बोल्छन् वा अङ्ग्रेजी। भारतीय विदेश सचिवले फरर नेपाली बोल्दा धेरैलाई त्यसलाई मख्ख बनाउने नै भयो। नेपालमा हिन्दी भाषाको प्रयोगलाई लिएर विरोध गर्नेहरु थुप्रै छन्। नेपाल मामिलाबारे जानकार विदेश सचिव श्रृङ्गलाले यसपटक काठमाडौं आउँदा कूटनीतिक चतुर्‍याइँ प्रयोग गरे। नेपाली प्रयोग गरेकोमा धेरै नेपालीले उनको प्रशंसा गरे। दिल्ली गएर नेपाली अधिकारीले हिन्दी बोले के होला यहाँ! 

बिहीबार कूटनीतिक र राजनीतिक छलफलमा सहभागी भएका श्रृङ्गला शुक्रबार दिनभर पनि व्यस्त रहे। शुक्रबार बिहान एसियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्समा आयोजित कार्यक्रममा प्रवचन दिन पुगे। उनले त्यहाँ पनि आफ्नो पुरानो भ्रमणलाई दोहोर्‍याए।

नेपाली बोल्दा बोल्दै अङग्रेजीमा स्वीच हुँदै श्रृङ्गलाले दुई देशका जनता- नेपाली जनता र भारतीय जनता आफ्ना शक्ति भएको बताए। उनले भारतको सबका साथ सबका विकास सबका विश्वास र नेपालको समृद्ध नेपाल सुखी नेपाली एकजस्तै भएको बताउन भ्याए।

उनले आफ्नो पुरानो काठमाडौं यात्रालाई स्मरण गर्दै भने, ‘म भन्न चाहन्छु कि यो अलौकिक काठमाडौं शहरमा दशकको अन्तरालपछि आएको छु। मलाई केही मानिसले सोधे यसपटक के फरक महसुस गर्नुभयो- उत्तर दुवै हो पनि होइन पनि।’

नेपाल भारत सम्बन्धमा प्रवचन दिएर श्रृङगला गोरखा पुगे। भारत सरकारको सहयोगमा पुनर्निर्माण भएको विद्यालय उद्घाटन गर्न पुगेका उनले गोरखामा पृथ्वीनारायण शाहलाई सम्झिए। 

‘यो पृथ्वीनारायण शाहको भूमि हो। नेपालको एकीकरणको ऐतिहासिक भूमि हो। गोरखाका मानिसहरु संसारभर बहादुर रुपमा चिनिन्छन्,’ उनले भने।

त्यसपछि काठमाडौं फर्किएर उनले मुस्ताङमा भारतीय सहयोगमा निर्मित गुम्बाको उद्घाटन गरे। नेपाली भाषा बोलेर नेपाली अधिकारी र नेपालीलाई मख्ख पार्न भने उनी केही हदसम्म सफल देखिए पनि।  

बिहीबार नेपाली समकक्षी भरतराज पौड्यालसँग द्विपक्षीय हितबारे विभिन्न विषयमा चर्चा गरेका थिए श्रृङ्गलाले। जसमा सीमा विवादले पनि प्रवेश पाएको भारतीय मिडियाको दाबी छ। नेपाली पक्षले श्रृङ्गलासँग सीमा विवादमा कुरा भएको बारेमा केही बताएको छैन। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भने परराष्ट्र सचिवस्तरिय बैठकका साथै राजनीतिक भेटघाटका क्रम सीमा विवादले प्रवेश पाएको थियो। टाइम्स अफ इन्डियाका अनुसार श्रङ्गाला र नेपाली पक्षबीच भएको छलफलमा सीमा विवादसँगै अन्य विविध विषयमा चर्चा भएको थियो। दुवै पक्षले दुई देशबीचको सम्बन्धका सकारात्मक पक्षहरुलाई महत्व दिनुपर्ने औँल्याएका थिए।

‘दुवै पक्षले सीमा विवादबारे आ-आफ्नो दाबी राखे। द्विपक्षीय संयन्त्रको माध्यमबाट यस विषयबारे थप छलफल हुनेछ,’ पौड्यालसँग भएको छलफलका बारेमा जानकार स्रोतलाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ

+++

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसहितको नक्सा प्रकाशित गरेको एक वर्षपछि कूटनीतिक रुपमा दुवै पक्षबीच वार्ताका लागि बिहीबार भारतीय विदेशसचिव श्रृङ्गला काठमाडौं आएका थिए।

करिब १ वर्षपछि भारत वार्ताको टेबलमा फर्किएको थियो। यसलाई नेपाली पक्ष ‘मिस’ गर्न सक्दैन थियो। टेबलमा दुवै देशलाई भेट गराउन मुख्य भूमिका रह्यो भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘दूत’ का रुपमा आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘प्राइभेट’ भेट गरे। जसमा गोयलले सीमा विवाद बारेमा दिल्लीको राय राखे। ओलीले भूमि आफ्नै रहेको र नक्साको सम्बन्धमा दुवै देशबीच गलत बुझाइ भएको प्रतिक्रिया दिएका थिए। त्यसपछि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘परम्पराको निरन्तरता’ निभाउन मोदी सरकारले नेपाल पठायो। जसको उद्देश्य नेपाली पक्षसँग दिल्लीको सन्देश पुर्‍याउनु थियो। नरवणे र ओलीको शिष्टाचार भेटमा पनि सीमा विवादको विषयले प्रवेश पाएको थियो। भारतीय मिडियाका अनुसार गोयल र नरवणेको दिल्लीमा ब्रिफिङपछि भारत सरकार विदेश सचिवस्तरीय बैठकको पक्षमा देखिएको थियो।

त्यसैको श्रृङ्खलामा नेपाल आएका श्रृङ्गालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए। 

बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवाद लगायत नेपाल भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश श्रृङ्गलाको माध्यमबाट मोदीलाई पठाएका थिए। भेटमा विदेशसचिव श्रृङ्गलाले पनि नेपाल भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरुलाई  वार्ताको माध्यमबाट सामान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए। जवाफमा प्रधानमन्त्री ओलीले आफुहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताएका छन्। 

डा भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भनिएको छ, ‘इतिहासको विभिन्न कालखण्डामा उब्जिएका समस्या तिनीहरुको समाधान अहिले हामीले गरेर जान सक्दाखेरि म पनि र भारतीय प्रधानमन्त्री मोदिजी पनि नेपाल भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिवद्धता मान्यताबाट अगाडि निर्देशित छ। र त्यही मान्यतामा हामी सहमत छौं । त्यसो भएको हुनाले समस्याको समाधान वार्ताको माध्यमबाट गरौं।’ 

भारत अहिले दक्षिण एसियाली राष्ट्रमा आफ्नो पकड राख्न प्रयासरत् छ। सार्क राष्ट्रमा चीन हाबी भइरहेको विश्लेषण भारतको छ। संयुक्त राष्ट्र संघीय परिषदको सदस्यता पाउन प्रयासरत रहेको भारतलाई दक्षिण एसियाली देशहरुको सहयोग आवश्यकता पर्छ। त्यसैले भारतले आफ्नो छिमेकीहरुसँको सम्बन्ध सुधार गर्ने प्रयासमा पछिल्लोपटक लागेको छ। त्यसैले अहिले भारतीय विदेश मन्त्रालय कूटनीतिक रुपमा सम्बन्ध विस्तारमा लागिरहेको छ। नेपालसँगको सीमा विवादका बारेमा मोदी अहिलेसम्म बोलेका छैनन्। उनका मन्त्रीहरुले कतिपय अवस्थामा  ‘कालापानी आफ्नै भूमि’ रहेको प्रतिक्रिया दिएपनि हाल मोदी क्याबिनेट यस विषयमा चुप छन्। उनीहरु नेपालसँगको सम्बन्ध बिगार्ने पक्षमा छैनन्।

भारत अहिले नै कालापानी क्षेत्र छाड्ने मुडमा देखिएको छैन। तर, नेपालले आफ्नो नक्सामा नै कालापानीसहितको क्षेत्रलाई राखेर संसदबाट निशान छाप प्रमाणित गरिसकेकोले नेपाललाई ‘ब्याक’ गराउन सजिलो नभएको पनि भारतले बुझेको छ। त्यसैले भारत कूटनीतिसहित राजनीतिक सहमतिमा सीमा विवाद समाधान गर्न प्रयासरत् रहने भारतीय विज्ञहरुको विश्लेषण छ। नेपालसँग कालापानी क्षेत्रमा ब्याक हुँदा भारतलाई पाकिस्तानसँग जम्मू कश्मीर र चीनसँग पनि सीमाका बारेमा पछि हट्नुपर्ने भय छ। 

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई नक्सामा राखेर राष्ट्रवादी छवि बनाएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सीमा विवादलाई टुंग्याउनुपर्ने दबाब छ। नक्सालाई कागजमा मात्रै सीमित नगर्ने बताएको सरकारमाथि भारतले अतिक्रमण गरेको क्षेत्रमा नेपाली उपस्थिति ग्यारेण्टी गर्न जनदबाब छ। अर्को निर्वाचनसम्ममा ओली सरकारले कालापानी क्षेत्रलाई नक्सामा मात्रै सीमित गरे त्यसबारे प्रश्न उठ्नेमा सत्तासीन दल जानकार नै छ। त्यसैले नेपाल अहिले भारतसँग न युद्ध लड्ने अवस्थामा छ न त विवादित क्षेत्रमा आफ्नो उपस्थिति जनाउन नै समक्ष छ। नेपालसँग एउटै उपाय छ -वार्ता। जुन भारतले चाहेको बेला हुने र नचाहेको बेला रोकिने अवस्थामा छ।

दुवै देश सीमा विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफलम रहँदा परराष्ट्र मामिलाबारे जानकारहरु भने श्रृङ्गलाको भ्रमणले दुई देशबीचको संवादहीनता तोड्न सहयोग गरेको बताउँछन्।

संवादहीनता त तोडियो। दुवै देशका अधिकारीहरुले सीमा विवादबारे आ-आफ्नो पक्ष राखे। ओली र मोदीबीच सन्देश आदानप्रदान नि भयो। तर सीमा विवादबारे ठोस् प्रगति अझै भएको छैन।

भारतसँग लिम्पियाधुरा कालापानी क्षेत्रमा मात्रै विवाद भएको पक्कै होइन। ७० भन्दा बढी स्थानमा भारतसँग सीमा विवाद रहेको छ। नेपाल भारत प्रवुद्ध समूह इपिजीले तयार पारेको प्रतिवेदन लिन मोदी अझै मानिरहेका छैन। यसबीच श्रृङ्गला नेपाली पक्षबाट ‘असन्तुष्ट सन्देश’ लिएर दिल्ली फर्किएका छन्। यसपछि नयाँ दिल्लीको नेपाल रणनीतिमा केही फेरबदल हुन सक्ने भारतीय विश्लेषक बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell