PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दक्षिण एसियामा सैन्य सम्बन्ध बढाउँदै चीन, केन्द्रमा नेपाल



पहिलोपोस्ट

दक्षिण एसियामा सैन्य सम्बन्ध बढाउँदै चीन, केन्द्रमा नेपाल

काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्हले नेपालको भ्रमणमा आएका छन्। त्रिभुवन विमानस्थलमा उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा 'बादल' पुगेका थिए। 

'वर्किङ भिजिट'मा नेपाल आइपुगेका उनले झण्डै ८ घण्टा नेपालमा बिताउने छन्। नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठका अवसरमा उनी नेपाल आएका हुन्। सदियौंदेखि दुई देशबीच रहँदै आएको सम्बन्धले १९५५ अगस्ट १ मा कुटनीतिक मान्यता पाएको थियो।

दुई देशले कुटनीतिक सम्बन्धको ६५ औं वर्षगाँठ मनाइरहँदा उत्तरबाट भएको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो भने एक वर्षपछिको उच्चस्तरीय भ्रमण पनि। २०१९ को अक्टोबर १२-१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चीनबाट नेपाल आउने उनी उच्च नेता हुन्।

राष्ट्रपति सीका नजिकका पात्र समेत रहेका बेईले लि ख्छ्याङ नेतृत्वको चिनियाँ स्टेट काउन्सिलकाका पहिलो तहका सदस्यका रुपमा रहेका उनी मार्च २०१८ यता स्टेट काउन्सिलरको पदमा छन्। राष्ट्रपति सि अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका पनि पहिलो तहका सदस्यसमेत हुन् उनी।

१९७२ मा चिनियाँ कम्युनिस्ट पार्टीमा जोडिएका उनी २००७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट वैकल्पिक केन्द्र कमिटी सदस्य भएका उनी २०१२ देखि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए। त्यसयता उनी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको रुपमा छन्।

भारतीय विदेशमन्त्री हर्षवर्द्धन श्रृङ्गला नेपाल भ्रमण सकेर फर्किएको दुई दिन पछि चिनियाँ रक्षामन्त्री आउनुलाई नेपालमा दुई देशको प्रतिस्पर्धाको रुपमा पनि व्यक्त गरिएको छ। बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले भने भ्रमण अस्वभाविक नभएको दाबी गर्छन्। कान्तिपुरमा प्रकाशित उनको अन्तर्वार्तामा उनले भनेका छन्- 'यो नियमित तवरमा हुन लागेको भ्रमण हो। कुनै विशेष एजेन्डा वा कार्यक्रम लिएर रक्षामन्त्री वेइ नेपाल जान लाग्नुभएको होइन। नेपालपछि अरू केही दक्षिण एसियाली मुलुकमा पनि रक्षामन्त्री भ्रमणमा जाने सूचना पाएको छु। यसकारण यो अप्रत्याशित वा अस्वाभाविक होइन।'

विशेषगरी वेइ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आएका हुन्। चिनियाँ  सैन्य आयोगका सदस्यसमेत रहेका वेइले भेटघाटको सुरुवात जंगी अड्डाबाटै गर्दैछन्।

नेपाल-चीनबीचको सैन्य साझेदारीको विषयमा यो भ्रमणले महत्त्व पाउने छ। सन् २०१७ बाट दुवै मुलुकले संयुक्त सैन्य अभ्यास 'सगरमाथा फ्रेण्डसिप' गर्दै आएका छन्। त्यस्तै अन्य विषयगत अभ्यासहरु पनि हुँदै आएका छन्। पछिल्लो समय कोभिड-१९ को कारण सगरमाथा फ्रेण्डसिप हुन सकेको छैन।

भ्रमणको अर्को मुख्य उद्देश्य भनेको यसअघि दुई देशबीच भएका सहमतिहरुको कार्यान्वयनमा हुनेछ। यो भ्रमणमा कुनै सहमति हुने छैन। परराष्ट्र मन्त्रालयले पनि उनको भ्रमणलाई 'वर्किङ भिजिट' भनेको छ। नियमित कामकाजी भ्रमणका लागि ८ घण्टासम्म नेपाल रहने उनले चिनियाँ राष्ट्रपति सि नेपाल आउँदा भएका सहमतिको कार्यान्वयनको विषयमा उच्च स्तरमा छलफल गर्ने छन्।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)सहितका परियोजनाका विषयमासमेत छलफल हुने छ।

दक्षिण एसियामा चिनियाँ ध्यान केन्द्रमा नेपाल

८ घण्टा नेपाल बसाइ सकेर चिनियाँ रक्षामन्त्री काठमाडौं छाड्ने छन्। उनी काठमाडौंबाट सिधै बेइजिङ भने जाने छैनन्। दक्षिण एसियाका अन्य केही देशमा पनि उनी पुग्ने बताइएको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा पनि चिनियाँ रक्षामन्त्री वेइले काठमाडौं छाड्ने छन् भनेर उल्लेख छ। बेइजिङ फर्किने छन् भनेर लेखिएको छैन। चीनका लागि नेपाली राजदूत पाण्डेले पनि वेइले नेपालसहित अन्य दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने उल्लेख गरेका छन्।

चीनले भ्रमणलाई सार्वजनिक गरेको छैन। यद्यपि, उनी बंगलादेश र पाकिस्ता जाने बताइएको छ। भारत र अमेरिकाबीच सैन्य सम्झौता भएको अवस्थामा चीनले दक्षिण एसियामा आफ्नो प्रभावलाई कायम राख्नका लागि नेपालसहितका छिमेकी देशहरुसँगको सैन्य सम्बन्धलाई बलियो बनाउन चाहेको छ।

अमेरिकाले अगाडि सारेको 'इन्डो प्यासिफिक स्ट्राटेजी', साथसाथै अमेरिकाले नेपालमा मार्फत् तिब्बत मामिलामा खेल्नसक्ने बुझेको चीन नेपाललाई केन्द्रमा राखेर दक्षिण एसियामा सम्बन्ध विस्तारमा लागेको जानकार बताउँछन्।

हालैमात्र तिब्बतका निर्वासित सरकारका प्रमुखले ह्वाइट हाउसका अधिकारीहरुसँग भेट गरेका  थिए। साथै अमेरिकाले नेपालसहित भारतमा तिब्बती शरणार्थीमा ठूलो लगानी गरिरहेको छ। नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहे पनि तिब्बत मामिलामा चीन संवेदनशील छ।

त्यसका अलावा पछिल्लो समय नेपाल र चीनबीच सीमा विवाद भएको अन्तर्राष्ट्रिय मिडियाहरु तथा नेपाली मिडियामा पनि चासो प्रकाशित भएपछि चीनले यसलाई चासो ब्यक्त गर्दै आएको छ। चिनियाँ विदेश मन्त्रालयले यसको विरोध गरेको छ। भने चिनियाँ विदेश मन्त्रालयले भारतको इसारामा चलेको आरोप लगाएको थियो। उनको यस भ्रमणमा यस विषयले पनि प्रवेश पाउनसक्छ।

त्यति मात्र होइन, पाकिस्तान र बंगलादेशसँग पनि चीनले आफ्नो सैन्य सम्बन्धलाई अगाडि बढाइरहेको छ। त्यसैले पनि चीनले दक्षिण एसियामा सैन्य सम्झौतालाई प्राथमिकतामा राखेको देखिन्छ।

एक वर्ष अगाडि बंगलादेश आर्मीका स्टाफ प्रमुख अजिज अहमत बेइजिङ पुगेर रक्षामन्त्री वेइसँग भेट गरेका थिए। त्यतिवेला उनले चीनसँग बंगलादेशले आफ्नै नैन्य सम्झौतालाई थप बलियो बनाउन चाहेको बताएका थिए।

२०१९ मै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना चीन जाँदा दुई देशबीच रक्षा साझेदारलाई अगाडि बढाउन सहमत भएका थिए।

पाकिस्तानसँग पनि चीनको रक्षा सम्बन्ध बलियो। गत वर्ष डिसेम्बरमा पाकिस्तानी एयर फोर्सका प्रमुख मुजाहिद अनवर खानले बेइजिङमा भ्रमण गरी रक्षामन्त्री वेइसँग भेट गरेका थिए। त्यतिबेला रक्षामन्त्री वेइले दुई देशबीचको सम्बन्धमा रक्षा साझेदारी महत्त्वपूर्ण खम्बा भएको बताएका थिए।

त्यस्तै नेपालका सेना प्रमुखले गत वर्ष नै चीनको भ्रमण गरी रक्षामन्त्री वेइसँग भेट गरेका थिए। त्यतिबेला वेइले चिनियाँ सेना नेपाली पक्षसँग द्वीपक्षीय सैन्य सम्बन्धलाई कायम राख्दै अगाडि बढ्न चाहेको बताएका थिए। त्यसका अलवा दीर्घकालीन योजनासहित उच्चस्तरीय सैन्य साझेदारी गर्न चाहेको बताएका थिए।

नेपाल आइपुगेका उनले विमानस्थलमा वेइले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए। उनले यसअघि नै नेपाल आउन चाहेको भए पनि कोभिड-१९ कारण ढिलाइ भएकोसमेत बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell