PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अप्ठ्यारोमा पर्दा विपक्षी गुहार्ने ओली, पार्टी विवाद उत्कर्षमा रहँदा प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक?



प्रकाश भण्डारी

अप्ठ्यारोमा पर्दा विपक्षी गुहार्ने ओली, पार्टी विवाद उत्कर्षमा रहँदा प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक?

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई बैठकमा बोलाइएको ओलीको सचिवालयले जानकारी दिएको छ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चुलिएका बेला ओलीले सर्वदलिए बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पार्टी कमिटीमा बहुमत भएकाले ओली अहिले अप्ठ्यारोमा परेका छन्। उनी इतरका नेताहरु पार्टी कमिटीबाटै संकट समाधान गर्ने अडानमा अडिग बनेपछि ओली समुह रक्षात्मक बनेको छ। सचिवालय बैठकमा पेश भएको ओलीको प्रतिवदेनमा उनीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजिएको उल्लेख छ। नेकपा भित्रको किचलो झागिरहेकै बेला राजसंस्था पुनस्थानको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेको छ। साथै, भारतसँग सीमा विवाद र चीनसँगको सम्बन्धका बारेमा पनि उनीमाथि प्रश्न उठिरहेका छन्। पार्टी भित्र अन्तरसंघर्ष बढ्दै जाँदा र सरकारविरोधी तत्व सक्रिय हुँदा ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

के होला सर्वदलीयको एजेण्डा?

आफू इतरका नेताहरुले पार्टीभित्र 'गर या मर' को अवस्था सिर्जना गरेर अप्ठेरोमा पारेका बेला ओलीले बेला बेलामा विपक्षी दललाई फकाउने गरेका छन्। मंगलबारको भेटमा पनि ओलीले अन्य राजनीतिक दलको सरकारप्रतिको धारणा बुझ्ने प्रयासमा हुनेछन्। 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार विभिन्न ठाउँमा राजसंस्थाको माग गर्दै भइरहेका प्रदेशनबारे बैठकमा छलफल हुने छ। राजतन्त्रको पक्षमा बढ्दो समर्थन प्रति राजनीतिक दलको धारणा बुझ्न ओलीले दलहरुलाई बालुवाटार बोलाएका हुन्।

'राजनीतिक दलहरुले त यसबारे केही न केही भन्लान नी। यसबारे छलफल हुनसक्छ,' उनले भने।

आफ्नै पार्टीका नेताले कार्यशैलीमाथि प्रश्न उठाएर राजिनामा मागिरहेका बेला अरु दलका नेतालाई आफूप्रति नरम हुन सर्वदलीय बैठकमा ओलीले औपचारिक वा अनौपचारिक आग्रह गर्न सक्छन्। 

गत मंसिर ३ मा नेकपा स्थायी कमिटी बैठकमा भएको चर्काचर्कीपछि ओलीले आफू अप्ठेरोमा परेपछि भन्दै मंसिर ६ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई बालुवाटार बोलाएका थिए। उक्त भेटमा ओलीले देउवालाई सत्ता साझेदारीको अफर गरेको बताइन्छ।

तर, बालुवाटारले गोप्य राखेको भेट सार्वजनिक भएपछि कांग्रेस नेताहरुले भेटबारे स्पष्टिकरण नै दिनुपरेको थियो। सत्ता साझेदारीको अफर ओलीले देउवालाई दिएपनि देउवाले भने नेकपा फुटी नै नसकेकालाई तत्कालै केही निर्णय नसुाएको स्रोत बताउँछ।

बालुवाटार स्रोतका अनुसार पार्टीको आन्तरिक द्वन्द्व मंगलवारको छलफलको एजेण्डा नबनेपनि कसैले यो बिषयमा कुरा उठाएमा ओली जवाफ दिने तयारीमा छन्।

'पार्टीको बिषय एजेण्डा त छैन्। तर अब यसरी विवाद छरपष्ट भएका बेला त्यहाँ पनि कुरा नउठला भन्न सकिन्न्,' स्रोतले भन्यो।

यसबाहेक ओलीले राजनीतिक दलका नेतालाई कोरोना नियन्त्रणमा सरकारको रणनीति सफल भएको सन्देश दिनेछन्।  

'आफ्नाले कमजोर बनाउँदा पराईको साथ'

आफू विरुद्ध पार्टी कमिटीमा बहुमत भएकाले ओलीले बैठकहरु बहिस्कार गर्दै आएका छन्। सचिवालयबाट स्थायी कमिटी सम्म पुगेको प्रचण्डको प्रस्तावलाई त ओलीले खारेज नै गर्न माग गरेका थिए। तर उनको माग अनुसार खारेज भएन। स्थायी कमिटी सदस्यका अनुसार अब ओलीको राजिनमा मागिएको प्रचण्डको प्रतिवेदन पनि स्थायी कमिटिको छलफलको विषय बनिसकेको छ। तर ओलीले पार्टी कमिटीमा आफ्ना सहयात्रीसँग छलफल गर्नु उचित ठानेका छैनन्।

पार्टीको समस्याबारे छलफल गर्न आवश्यक नठान्ने ओलीले किन अरु राजनीतिक दलको परामर्श आवश्यक ठाने त?

उनी निकट एक नेताका अनुसार ओलीले आफू कमजोर भएका महसुस गरेका बेला अरु दलको धारणा बुझ्न छलफल आवश्यक ठानेका छन्। 'सबैलाई थाहा नै छ उहाँ अहिले राजनीतिक हिसाबले आक्रमण भएको ठान्नुभएको छ। त्यसैले साथ सहयोग खोज्नु स्वभाविक हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell