PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

सगरमाथा नेपाल र चीनबीच ‘मित्रताको प्रतीक’, यसकारण बन्न सकेन ‘साझा चुचुरो’



सहयोग रञ्जित

सगरमाथा नेपाल र चीनबीच ‘मित्रताको प्रतीक’, यसकारण बन्न सकेन ‘साझा चुचुरो’

काठमाडौं : नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ संयुक्त रुपमा घोषणा गरेको छ। मंगलबार दुवै देशका परराष्ट्र मन्त्री सम्मिलित कार्यक्रममा सगरमाथाको उचाइ ८ हजार ८४८.८६ मिटर कायम भएको घोषणा गरिएको हो।

जति नेपालीहरु सगरमाथालाई मान्छन् त्यति नै मान्छन् चिनियाँहरु 'चोमोलुङ्गमा' लाई। जसरी नेपालीहरु विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्छन् चिनियाँहरु 'चोमोलुङ्गमा'आफ्नो देशमा रहेको भन्छन्। सगरमाथालाई तिब्बती भाषामा 'चोमोलुङ्गमा' भनिन्छ।

सगरमाथाको तीनवटा मोहडा मध्ये दुई मोहडा तिब्बत-चीनतर्फ पर्छ। पूर्वमा काङ्गसुङ र उत्तरमा रोङ्बुक। नेपालतर्फ भने दक्षिणी मोहडा पर्छ। नेपालतर्फको मोहडाबाट सगरमाथा आरोहण जानेको संख्या अधिक छ जबकि चीनको मोहडाबाट पनि आरोहण हुँदै आएको छ। त्यसैले चीनले 'चोमोलुङ्गमा' नेपाल र चीनको सीमा रहेको बताउँदै आएको छ।

गत वैशाखमा चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले सगरमाथा चीनमा पर्ने उल्लेख गर्दै समाचार प्रकाशित गरेको थियो। सीजीटीएनको उक्त दाबीको नेपालमा विरोध भएपछि उसले चीनले 'चोमोलुङ्गमा' नेपाल र चीनको सीमा रहेको भन्दै समाचार सच्याएको थियो।

नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनको प्रयोग गरेर सगरमाथाको उचाइ नापेको हो। यद्यपि, सगरमाथा चीनमा समेत पर्ने भएकोले नेपाल र चीनले संयुक्त रुपमा नयाँ उचाइ घोषणा गरेको हो।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो। त्यसैले पनि नेपाल र चीन दुवैले संयुक्त रुपमा उचाइ घोषणा गरेको हो। उक्त भ्रमणका क्रममा दुवै राष्ट्राध्यक्षहरुले 'सगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतीक' रहेको बताएका थिए।

किन बन्न सकेन ‘साझा चुचुरो’ ?

मंगलबार भएको नयाँ उचाइ घोषणा कार्यक्रममा पनि दुवै राष्ट्रका राष्ट्रध्यक्षहरुले ‘सगरमाथा/ चोमोलुङ्गमा’ लाई मित्रताको प्रतिको रुपम व्याख्या गरेका छन्।

सगरमाथालाई चीनले पहिला ‘साझा चुचुरो’ मान्न समेत प्रस्ताव गरिएको थियो। जुन प्रस्ताव नेपालले अस्वीकार गरेको थियो।

सन् १९५० देखि नै चीन र नेपालबीच सगरमाथालाई लिएर विवाद भएको थियो। १९६० को दशकमा कुटनीतिक र राजनीतिक पहलका आधारमा सगरमाथाको सीमांकन गर्ने कार्य भएको थियो। त्यसअघि नेपाल र चीनबीच कहिलै सीमाको अध्ययन वा नक्सांकन भएको थिएन।

सगरमाथाको नेपालतर्फ दक्षिणी मोहडा पर्छ। नेपालतर्फको मोहडाबाट सगरमाथा आरोहण जानेको संख्या अधिक छ जबकि चीनको मोहडाबाट पनि आरोहण हुँदै आएको छ र सजिलो पनि मानिन्छ, त्यो रुट।

तथ्य हेर्दा नेपाल र चीन दुवैको क्षेत्रमा सगरमाथा पर्छ। त्यसैले सन् १९६० मा वीपी कोइराला प्रधानमन्त्री हुँदा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङले 'एभरेस्टलाई दुवै देशको साझा चुचुरो' मान्न प्रस्ताव समेत गरेका थिए।

१९६० को मार्च महिनामा चीन भ्रमणमा पुगेका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र माओबीच 'वान अन वान' वार्ता भएको थियो। तर, माओको प्रस्तावमा नेपाली पक्ष सहमत भएन।

सगरमाथामा समान अधिकार स्थापित गर्ने चिनियाँ नेतृत्वको प्रस्ताव नमाने पनि चीनसँगको सीमा विवाद टुंग्याउन सो भ्रमणका बेलामा 'सीमा सम्बन्ध सम्झौता' (क्वइसन अफ द बाउन्डेरी बिटविन टु कन्ट्रिज) भयो। सगरमाथाको विवाद हुँदा प्रधानमन्त्री तहमा यसको समाधान गर्ने सहमति भएको थियो। बेइजिङमा भएको उक्त सहमतिको आधारमा नेपाल र चीनबीच सीमाको विषयमा विवाद टुंग्याउन सर्भेक्षण टोली गठन गर्ने सहमति गरिएको थियो।

त्यसबखत चीन सगरमाथाको विषयलाई चाँडैभन्दा चाँडो टुंगो लगाउन चाहन्थ्यो। त्यसैले कोइरालाको भ्रमण लगत्तै सोही वर्ष अप्रिलमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपाल आए। उनको भ्रमण आपसी सम्बन्ध प्रगाढ गर्नुमा त थियो नै 'सगरमाथा' को विषयलाई किनारा लगाउनु पनि थियो।

नेपाल भ्रमणमा आएका एनलाईले संसदमा समेत सम्बोधन गरे। स्टेट ब्यांक्वेटमा सम्बोधन गर्दै उनले नेपाल चीन सीमा हजार किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको भन्दै यसको कहिल्यै अध्ययन नभएको बताएका थिए। संसद, ब्यांक्वेट र नागरिक अभिवादनका क्रममा उनले सीमा अध्ययन गर्दा सहमति भएको विषयलाई महत्वका साथ उठाएका थिए।

चीनले सगरमाथालाई साझा सीमा मानौं भन्दा नेपाली पक्षले अस्वीकार गरेर फर्केको अवस्थामा प्रधानमन्त्री एनलाईले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सगरमाथाबारे प्रश्न सामना गर्नुपर्‍यो।

'नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालासँग सगरमाथाको विषयमा केही कुराकानी भयो, के चीनले सगरमाथामा आफ्नो दाबी गरेको हो?'

एनलाईले उत्तर दिए, 'बेइजिङमा भएको वार्तापछि हामीले सगरमाथामा कहिलै आफ्नो दाबी गरेका छैनौं। त्यसबेला दुवैपक्षले नक्सा साटासाट गरे। चीनको ऐतिहासिक अवस्थाका आधारमा बनाइएका नक्सामा सगरमाथा चीनमै छ। नेपालको नक्सामा सगरमाथा नेपालमा नै देखिन्छ। सो वार्तामा प्रधानमन्त्री कोइरालाले सगरमाथालाई नेपालले जहिलै आफ्नो मानी आएको बताएका थिए। सो भेटमा नेता माओले नेपाली नक्सा स्वीकार्दै सगरमाथाको उत्तरी भाग चीनमा र दक्षिणी भाग नेपालको भनेर मान्न सकिने बताएका थिए। प्रधानमन्त्रीसँग पनि यसबारेमा राम्रो संवाद भयो। हामी नेपालको नक्सालाई मान्यता दिँदै सीमारेखामा सगरमाथा लेख्न तयार छौं।'

एनलाईले आफूले भारत भम्रणका क्रममा हेरेको नक्सा र अन्य विदेशी नक्सामा समेत नेपालको सगरमाथाको चुचुरो नेपालमा रहेको देखिएको बताएका थिए।

नेपाल भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्रीले नै नेपाली नक्सामा सगरमाथा रहेको स्थानलाई मान्यता दिने बताइसकेकाले हाल सगरमाथा नेपाल - चीन सीमामा पर्छ भनेर विवाद गरिरहनु नपर्ने बताउँछन् सीमाविद् बुद्धिनारायण श्रेष्ठ।

दुवै देशको सीमांकन गर्दा सन् १९६१ मा नक्सा बनाइएको थियो। सो नक्सामा समेत सगरमाथाको चुचरो नेपालमा रहेको छ,' उनले भने।

उक्त नक्सा बन्नुअघि नेपाल र चीनबीच 'सीमा सन्धीमा' हस्ताक्षर भएको थियो। १९६१ को अक्टोबरमा बेइजिङमा भएको उक्त सहमतिमा तत्कालीन राजा महेन्द्र र चिनियाँ राष्ट्रपति ल्यू शाओचीले हस्ताक्षर गरेका थिए। उक्त सन्धीपछि नेपालले ३०० स्क्वायर माइल भूभाग पाउनुको साथै सगरमाथा आफ्नै बनायो।

सम्झौता हुँदा सगरमाथाको उत्तरी भाग चीनको र दक्षिणी भेग नेपालको र सीमा भने 'पानी ढलो'को आधारमा छुट्टाउने सहमति भएको थियो। पानी पर्दा वा हिउँपर्दा जुन चाहिँ भागबाट चीनतर्फ बग्छ त्यो चीनको र पानी र हिउँ पर्दा नेपाल तर्फ आउने भाग नेपालको भनी सहमति गरिएको श्रेष्ठ बताउँछन्।

त्यहीबेला नेपाल र चीनबीच रेखांकन गरिएको नक्सा समेत स्वीकृत गरिएको थियो। जसमा सगरमाथाको चुचुरो नेपालमा पर्छ।

नापी विभागका महानिर्देशकका रुपमा समेत काम गरिसकेका श्रेष्ठले भने, 'सगरमाथाको चुचुरोको भाग नेपालमा पर्छ। त्यो चुचुरोको उत्तरतर्फको पानी ढलो चाहिँ चीनमा पर्छ। ८,८८४ को हाइएस्ट पोर्सनको ७ देखि ८ फिटको स्लोपिङ टेरेस छ। त्यो स्लोपिङ एरियर नेपालमा पर्छ। त्यसपछि पानी ढलो क्षेत्रदेखि उत्तर तर्फको भाग चीनमा पर्छ।'

'दुई देशबीचको पानी ढलोलाई आधार मानेर सीमा छुट्याइएको हो। तर पानी ढलोसँगैको सर्वोच्च चुचुरो चाहिँ नेपालमा पर्छ। पानी ढलो सिद्धान्तका आधारमा सगरमाथाको भागबण्डा गर्दा चुचुरो नेपालको परेको हो। सगरमाथाको फेद दुवै देशको हो। यसको फेद चीन र नेपाल दुवैमा छ। तर, सगरमाथाको चुचरो नेपालमा पर्छ। यसलाई दुवै देशको भन्न मिल्दैन। सगरमाथाको सर्वोच्च चुचुरो नेपालमा पर्ने भएकोले विश्वले नै सगरमाथा नेपालमा पर्छ भनेर मानेको हो।'

सन् १९६१ को सन्धीलाई कार्यान्वयन गर्न चीन र नेपालको संयुक्त टोलीले'नेपाल चीन वाउन्ड्री प्रोटोकल' बनायो। काठमाडौं र बेइजिङमा सन् १९६२ डिसेम्बर ९ देखि १९६३ जनवरी १९ बीच भएको बैठकहरुबाट तयार गरिएको प्रोटोकलमा सीमा क्षेत्रहरुको थप व्याख्या गरिएको थियो।

जनवरी २० मा बेइजिङमा आयोजित विशेष कार्यक्रममा नेपालको तर्फबाट तत्कालीन सरकारका उपाध्यक्ष एवंम् विदेशमन्त्री डा तुलसी गिरी र चीनको तर्फबाट उप प्रधानमन्त्री एवम् विदेश मन्त्री मार्सल चेन यीले हस्ताक्षर गरेका थिए।

प्रोटोकलमा हस्ताक्षर गरेर स्वदेश फर्किँदै गरेका गिरीले हङकङमा पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए,'जहाँसम्म सगरमाथाको स्वामित्वको कुरा छ, यो नेपालको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell