PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सहमतिको अडानमा ओली अडिग रहँदा नेकपा किचलोको निकास दिने प्रचण्ड-नेपालको रणनीति यस्तो



प्रकाश भण्डारी

सहमतिको अडानमा ओली अडिग रहँदा नेकपा किचलोको निकास दिने प्रचण्ड-नेपालको रणनीति यस्तो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकहप्ते 'कुलिङ पिरयड' सकिँदै छ। मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकले मंसिर २८ सम्म विश्राम दिएको थियो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली बिनै सुरु भएको उक्त स्थायी कमिटी बैठकले पार्टी विवाद समाधानका लागि भन्दै पुष ५ मा केन्द्रीय कमिटी बोलाएको छ। एक हप्ते विश्राममा ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहालबीच संवाद भएपनि सहमति भने हुनसकेको छैन। पार्टीभित्रको विवाद उत्कर्षमा रहँदा ओली अहिलसम्म आफ्नो पुरानै अडानमा अडिग देखिएका छन्। त्यसैले दुई अध्यक्षबीच भएको भेटघाटले सकारात्मक परिणाम निकाल्न सकेन।

ओली पक्षका नेताहरु बैशाख यता नेकपामा देखिएको विवाद र समाधानका लागि भदौ २६ को सहमति कार्यान्वयन गराउन दौडधुपमा छन्। यता,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने 'वारपार' कै मनस्थितिमा छन्। उनीहरु ओलीलाई बहुमतको निर्णय मान्न बाध्य पार्ने तयारीमा देखिएका छन्। 

'ओली प्रचण्ड मिलेर समस्या समाधान हुदैन'

ओली पक्षका नेताहरुको जोड मंसिर २८ को स्थायी कमिटी अघि विवाद समाधानका लागि कार्यदल गठन गर्नमा छ। उनीहरु भदौ २६ मा ओली-प्रचण्डबीच भएको सहमतिकै वरिपरि रहेर निकास निकाल्नुपर्ने तर्क अघि सारिरहेका छन्। तर, प्रचण्ड-नेपाल समूह भने पुराना सहमति मात्रै पालना गरेर समस्याको समाधान नहुने भन्दै अब दुई अध्यक्षको सहमतिले मात्रै निकास निस्किने सम्भावना नरहेको तर्क गर्छन्। 

प्रचण्ड निकट स्रोतका अनुसार उनी अब ओलीसँग सम्झौता गर्ने पक्षमा छैनन्। 'भेटघाट कुराकानी त भइरहेकै छन्। तर जे पुरानो अडान थियो ओलीको अहिले पनि त्यही छ। त्यही भएको भएर अब अध्यक्षबीच मात्रै सहमति भएर हुदैन,' स्रोतले भन्यो।

नेकपा स्थायी कमिटी सदस्य मात्रिका यादव पनि अब समस्या अध्यक्षहरुबीच मात्रै सिमित नभएकाले कमिटी बैठकले नै निकास निकाल्ने दाबी गर्छन्। उनले अबका बैठक नेकपा विवाद समाधानका लागि महत्वपूर्ण हुने बताए।

'समस्या अध्यक्षबीच मात्रै सिमित छैन्। त्यसैले उनीहरुले केही गरि सम्झौता गरेभने पनि समस्या समाधान हुदैन,' उनले भने।

प्रचण्ड गुटका एक स्थायी कमिटी सदस्य भने दुई अध्यक्षबीच फेरी पनि सम्झौता हुने सम्भावना रहेको बताउँछन्। सहमतिका लागि कार्यदल गठन हुने संकेत गर्दै उनले भने, 'हामीले त नेताहरुको लागि बोल्न पनि छोडी सकेका छौं। फेरी पनि लेनदेन हुनसक्ला त्यसका लागि सानो कमिटी पनि बन्न सक्छ।'

प्रचण्ड-नेपाल फुटाउने ओलीको रणनीति असफल

ओली पक्षका नेताहरुले दुई रणनीति सँगसँगै अघि बढाएका छन्। एकातिर उनीहरुले प्रचण्डलाई सहमति भन्दै अल्झाइरहेका छन् भने अर्कोतिर वरिष्ठ नेता नेपाललाई पनि पदको लोभ देखाइरहेका छन्।

मंसिर २४ गते बालुवाटारमा भएको भेटमा पनि ओलीले प्रचण्डलाई माधव नेपालले धोका दिने बताएका थिए। ओलीले आफूसँगै मिल्नु प्रचण्डकालागि हितकर भएको भन्दै प्रचण्डलाई फकाउने प्रयास गरेका थिए। तर प्रचण्डले ओलीले पनि आफूलाई धोका दिइसकेकोले नेपाल सँगको गठबन्धन नटुटने जवाफ फर्काएका थिए।

दुई अध्यक्षबीच सहमति हुन नसिरहेको बेला ओली इतरका नेताहरुले भने ओलीले प्रधानमन्त्री तथा अध्यक्षमध्ये एक पद छोडनै पर्ने बताइरहेका छन्। प्रचण्ड-नेपाल गुटमा पनि ओलीले आफ्नो प्रभाव कायम गर्दा बैशाखमा उनको पद जोगिएको थियो। त्यो बेला नेता वामदेव गौतम र पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले ओलीलाई नै साथ दिएपछि प्रचण्ड-नेपाल हच्किएका थिए।

अहिले पनि ओली समूहका नेताहरुले स्थायी तथा केन्द्रीय कमिटीका नेताहरुलाई आफ्नो पक्षमा पार्न कोसिस गरिरहेका छन्। त्यो प्रयास स्वंयम प्रधानमन्त्रीले २१ गते स्थायी कमिटीमा पठाएको पत्रमा पनि झल्किन्छ। उनले स्थायी कमिटीको विवेकमा आफूलाई विश्वास भएको भन्दै घुमाउरो तरिकाले नेताहरुको साथ खोजेका थिए।

यसपटक भने वामदेवले ओलीविरुद्धको अडान नफेर्दा र पूर्व माओवादी पृष्ठभूमिका नेताहरुको साथ प्रचण्डलाई भएकाले सत्तामा रहेका ओलीमाथि दबाब बढ्दै गइरहेको छ। स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड-नेपाल समूहको स्पष्ट बहुमत रहेकाले ओली समूहका अडानहरु अस्वीकृत हुदै आएका छन्। त्यसैले, ओली समूह आफ्नो पक्षमा बहुमत नपुगेमा स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्डको प्रस्ताव माथि छलफल गर्न तयार नहुने रणनीतिमा छन्। २१ मंसिरको स्थायी कमिटीकबैठकबाट पनि त्यो पुष्टि भइसकेको छ। महासचिव बिष्णु पौडेलले केन्द्रीय कमिटी बैठक बोलाउन नहुने अडान राख्दा पनि प्रचण्ड-नेपाल पक्षका बहुमत नेताको दबाव पछि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो। उपप्रधानमन्त्री इश्वर पोखरेलले बैठक राख्ने विषयमा मौन सहमति जनाए। 

संवाद जारी तर भएन सहमति

ओली निकट नेकपा संसदीय दलका उप-नेता सुवास नेम्वाङ समस्या समाधानका लागि छलफल भइरहेको भएपनि प्रगति उन्मुख भइनसकेको बताउँछन्। उनले सहमतिका धेरै विकल्पमाथि अहिले छलफल भइरहेको बताए। तैपनि ठोस सहमति भने भइनसेको नेम्वाङको भनाई छ।

'यो विषयमा सहमति हुन्छ की त्यो विषयमा हुन्छ की भनेर कुराकानी त भइरहेको छ। तर ठ्याकै यसैमा भन्ने भइसकेको छैन्,' उनले भने।

उनले सहमतिका लागि दुई अध्यक्ष नै लचिलो हुनुपर्ने बताए। दुबैजना आफ्नो अडानमा रहे सहमति नै हुन नसक्ने उनको धारणा छ।

कस्तो होला प्रचण्ड नेपालको अबको रणनीति?

प्रचण्ड-नेपाल निकट एक नेता ओली प्रचण्डबीच स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक अघि कुनै सहमति भए प्रचण्ड ओलीप्रती नरम हुनसक्ने सम्भावना रहेको बताउँछन्। त्यसका लागि ओली समूहबाट दैनिक जसो प्रयास भइरहेको उनले जानकारी दिए।

तर, उधारो सम्झौता नै नगर्ने बटमलाइन बनाएका प्रचण्ड-नेपाल समूहले गर्दा यसपटक प्रचण्ड एक्लैलाई नै सहमति गर्न अप्ठ्यारो पर्ने देखिएको छ। 

'अबको बैठकमा प्रचण्ड ओलीप्रति नम्र पनि हुन सक्छन्। यदी केही सम्झौता भइहालेमा। त्यसका लागि प्रयास पनि भइरहेका छन्, ' उनले भने।

यता, प्रचण्ड-नेपाल समूहले फेरी पनि ओलीलाई नै गलाउने रणनीति तय गरेको छ। ओली एक पद छोडन बाध्य हुने उनीहरुको दाबी छ।

ओली समूह अबको बैठकमा सहभागि हुने नहुने भन्नेमा फेरि द्विधामा छन्। ओली बैठकमा सहभागि भए निकास निकाल्न केही सजिलो हुने भएपनि उनले फेरी बैठक बहिस्कार गरे स्थिति अप्ठ्यारो हुने उनीहरुको बुझाइ छ।

अनौपचारिक संवाद मार्फत अबको स्थायी कमिटी बैठकमा ओलीलाई सहभागि गराउन पहल भइरहेको छ। तर प्रचण्डको राजनीतिक प्रस्ताव (ओलीको भाषामा आरोपपत्र) खारेज भएमात्रै बैठकमा जाने अडान लिएपछि प्रचण्ड-नेपाल समूह पनि दबाबमा छ। तर हालसम्म प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता हुने कुनै संकेत ओलीलाई दिएका छैनन्।

सहमतिमै ओली एक पद छोडन तयार नभए बहुमतको बल प्रयोग गर्ने प्रचण्ड-नेपालको तयारी छ। यो समूहमा बहुमतबाटै भएपनि ओलीलाई एक पदबाट हटाउनुपर्ने आवाज चर्को गरिआइरहेको छ।

प्रचण्ड नेपाल पक्षले बढायो गुटगत गतिबिधि

बैशाख ९  गते ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा प्रचण्ड-नेपाल समूहले त्यसलाई एकीकृत पार्टीलाई फुटाउन ल्याइएको भनेर पार्टी भित्र आफ्नो पक्षमा माहोल बनाउन सफल बनेको थियो। 

त्यसबेला ओलीले पनि मदन भण्डारी फाउण्डेसन लाई सक्रिए गराएर अलग पार्टीकै जस्तो अभ्यास गरेका थिए। यसको उत्कर्ष कर्णालीमा देखा पर्‍यो। २५ असोजमा प्रदेश सभामा अविश्वासको प्रस्ताव आएपनि केन्द्रको दबाव पछि ओलीपक्षका नेताहरु पछि हटेका थिए। ओलीमाथि बालुवाटारमा बसेर गुट बनाएको आरोप लगाउँदै आएको प्रचण्ड-नेपाल समूहको पनि गुटगट क्रियाकलाप बढ्दो छ। 

कातिक २८ गते प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्तावलाई देशैभर नेता कार्यकर्ताको हातमा पुर्‍याइएको छ। जसलाई ओली पक्षका नेताहरुले पार्टी फुटकै संज्ञा दिएका थिए। प्रचण्डमाथि आरोप लगाएका ओलीले नै फेरि मंसिर १३ को सचिवालय बैठकमा पेश गरेको जवाफी प्रस्तावलाई  देशव्यापी बनाएका थिए। प्रचण्ड समूहले मंसिर १९ मा राजधानीको थापाथली क्याम्पसमा आफू पक्षीय विद्यार्थी नेताको भेला गराएको थियो भने बिहीवार वाग्मती प्रदेश स्तरीय भेला गरेको थियो। भेलामा प्रचण्ड र नेपालले सम्बोधन गरेका छन्।

ओली समूहका नेताहरु पनि गुटगत गतिविधिमै व्यस्त छन्। मदन भण्डारी फाउण्डेसनलाई हाल देशभर सक्रिय बनाइएको छ। जसमार्फत ओली समूहका गतिविधि बढ्दै गइरहेको छ। ओली पक्षका नेताहरु कार्यकर्ता तहसम्म प्रचण्ड नेपाल पक्षको विरुद्धमा मोर्चा बनाउँदै छन्।

दुबै गुटका गतिविधि पार्टी फुटाउन उन्मुख भइरहेको भएपनि नेताहरुले भने पार्टी नफुटने दाबी गर्न छाडेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell