PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्थायी कमिटी बैठक अघि खुमलटारमा लगातार बालुवाटारका दूत, ओली सहभागी हुनेभन्दा अर्को पक्ष सशंकित



प्रकाश भण्डारी

स्थायी कमिटी बैठक अघि खुमलटारमा लगातार बालुवाटारका दूत, ओली सहभागी हुनेभन्दा अर्को पक्ष सशंकित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा तोकिएको बैठक बालुवाटारमा बस्ने भएको स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उप-नेता सुवास नेम्वाङले जानकारी दिए। यसअघि मंसिर २१ गते धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले आइतवार धुम्बाराहीमै स्थायी कमिटी बैठक बोलाएको थियो।

किन सारियो बैठक स्थल?

नेकपाभित्र उत्पन्न विवादपछि पार्टी कमिटीका प्रायजसो बैठकहरु बालुवाटारमै बस्दै आएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहमत हुदा बालुवाटारमा र नहुँदा धुम्बाराहीमा बैठक बस्दै आएको हो। आइतवारको बैठकमा पनि ओली सहभागी हुने भएकाले बालुवाटार सारिएको हो।

नेम्वाङले प्रधानमन्त्रीको स्वास्थ्यका कारणा बैठक बालुवाटार सारिएको जानकारी दिए।

'उहाँले जहिले पनि बैठकमा बस्छु भन्नुभएकै हो। खाली उहाँको एउटा राजनीति अडानका कारण मात्रै हो। आज उहाँ बैठकमा सहभागी हुनुहुन्छ। उहाँको स्वास्थ्यका कारण पनि बालुवाटार भन्नुभएको हो। त्यसमा प्रचण्ड कमरेडले पनि बैठक स्थलबारे सहमति जनाउनु भएको छ,' उनले भने।

मंसिर २१ को बैठकमा ओली समूहका सबै नेताहरु सहभागी भए पनि उनी एक्लैले भने बैठक बहिस्कार गरेका थिए। बैठकमा आफू सहभागी नहुनेबारे पत्र पठाएर ओलीले बैठक बहिस्कार गरेका हुन्।

'दस्ताबेजबारे छलफल हुन्न'

ओली पक्षका नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रचण्डको प्रस्तावमा छलफल नहुने भएमात्रै बैठकमा सहभागी हुने शर्त राखेका छन्। मंसिर २१ को स्थायी कमिटी बैठकले 'पार्टीको आन्तरिक समस्या' छलफलको एजेण्डा तय गरेकाले आजको बैठकमा ओली सहभागी हुने उनी निकट नेताहरुको दाबी छ।

'पार्टीको आन्तरिक समस्या मात्रै एजेण्डा छ। त्यसो भएकोले प्रधानमन्त्री आजको बैठकमा सहभागी हुने तय भएको हो। अरु दस्ताबेजबारे छलफल हुन्न भनिएको छ,' ती नेताले भने।

तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहले भने ओली पक्षका नेताहरुको दाबीलाई खण्डन गरिरहेका छन्। प्रचण्ड निकट एक नेताले यसअघि नै बैठकको ऐजेण्डा तय भइसकेकाले प्रतिवेदनबारे छलफल हुने दाबी गरे। 'छलफलमा प्रस्तावबारे यसअघि नै छलफल भइरहेको छ। प्रस्तावबारे छलफल नहुने भन्ने कुरै हुन्न,' ती नेताले भने।

प्रचण्ड-नेपाल समूहमा शंका

प्रचण्डले कातिक २८ को सचिवालय बैठकमा ओलीको राजीनामा मागेर राजनीतिक प्रस्ताव दर्ता गरेपछि ओलीले उनी निकट नेताहरुलाई आफूलाई साथ दिन भन्दै फकाइरहेका छन्। तर, प्रचण्ड र उनी निकट नेताहरुको लगातारका अस्वीकार पछि ओली दबाबमा पर्दै आएका छन्। आइतवारको बैठक अघि भने प्रचण्ड-नेपाल गुट सशंकित भएको छ। प्रचण्ड निकट नेता प्रचण्ड र ओलीबीच केही सहमति भएको हुनसक्ने दाबी गर्छन।

'यो आजको बैठकमा ओलीले सहभागी हुन्छु भन्नु भएको छ। दुई नेताबीच केही सहमति भएको हुनुपर्छ,' उनले भने। प्रचण्डले मंसिर २४ मा ओलीलाई बालुवाटारमा भेटेका थिए। उक्त भेटमा ओलीले पुरानै अडान दोहोर्‍याएकाले कुनै सहमति नभएको बताइएको थियो।

आजको बैठकमा ओली कसरी प्रस्तुत होलान भनेर प्रचण्ड-नेपाल गुटका नेताहरु प्रतीक्षामा छन्। स्थायी कमिटी सदस्य गणेश साहले आजको बैठकमा ओलीले कुनै नयाँ विषय प्रवेश गराउने बताए। उनले ओलीले बैठकमा कुनै नयाँ ऐजेण्डा प्रवेश गराउन सक्ने बताए। 'ओलीले केही नयाँ तुरुप फाल्न सक्छन्। त्यसैले आज सामान्य खालको छलफल होला,' उनले भने।

शंकरपछि खुमलटार पुगे सुवास नेम्वाङ

नेकपाको एक हप्ते विश्राममा ओली-प्रचण्डबीच एक पटक मात्रै संवाद भएको छ। उनीहरुको संवाद त्यति फलदायी भएको छैन। तर उनीहरुको अप्रत्यक्ष संवाद भने जारी नै छ। प्रचण्डलाई मनाउन ओलीले शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेललाई खुमलटार पठाएका थिए। प्रचण्डले बैठकबाटै समस्या समाधान गर्ने अडान दोहोर्‍याएका थिए।

शनिवारको भेटपछि नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रचण्डलाई आइतवार विहान भेटेका थिए। नेम्वाङले भेट सकारात्मक भएको जानकारी दिएका छन्। पहिलोपोस्टसँग कुराकानी गर्दै उनले आजको स्थायी कमिटी पार्टी विवाद समाधानमा सकारात्मक हुने बताए। प्रचण्ड र ओली दुवै नेकपाको एकता जोगाउन चिन्तित भएकाले आजको बैठक सकारात्मक ढंगले अघि बढ्ने उनले बताए।

'मैले भेटमा प्रचण्ड पनि एकताप्रति निकै चिन्तत पाए। उहाँ निकै सकारात्मक हुनुहुन्छ। त्यसैले आजको बैठक फलदायी हुने देख्छु,' उनले भने।

ओलीले वैसाख ९ मा राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएपछि पार्टीमा लगातार विवाद हुँदै आएको छ। भदौ २६ को स्थायी कमिटी बैठकले विवादको अल्पकालीन समाधान गरेको थियो। तर, ओलीले सहमति तोडेको भन्दै ओली प्रचण्ड वारपारको लडाइमा छन्। उनीहरुले देशभरका आफ्ना गुटका नेता कार्यकर्तालाई सक्रिए समेत पारेका छन्। ओली प्रचण्ड दुवै गुटका छुट्टाछुट्टै भेला समेत भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell