PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चिनी उद्योगीले 'किसान होइन' भनेर आरोप लगाएपछि माइतीघरमा प्रमाण लिएर धर्नामा उखु किसान

चिनी उद्योगीले 'किसान होइन' भनेर आरोप लगाएपछि माइतीघरमा प्रमाण लिएर धर्नामा उखु किसान

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग उठाइरहेका छन्।

आज माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसान धर्ना दिइरहेका छन्।

किसान काठमाडौं केन्द्रित आन्दोलनमा रहँदा उद्योगीहरुले भने माइतीघरमा आन्दोलन गर्ने किसान नभइ बिचौलिया भएको आरोप लगाएका थिए। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका थिए। त्यसैकारण किसान प्रमाण लिएर आज धर्नामा बसेका हुन्।

सर्लाहीका नथुनी चौधरी बिरामी भए पनि अहिले माइतीघरमा दिनहुँ धर्ना दिन पुगिरहेका छन्। उद्योगीले आफूहरुलाई किसान नभएको आरोप लगाएको भन्दै उनले आफ्नो भुक्तानी बांकी बोकेर धर्नामा बसेका छन्।

प्रमाण देखाउँदै चौधरीले रुँदै भने, 'बिरामी छु तर पनि यहाँसम्‍म आएँ। अनि हामीलाई नै किसान होइन भनेर भन्दैछन्। अहिले मिल सबै बन्द छन्। भएको उखु सबै बारीमा छाडेर काठमाडौं आएको हुँ।'

गत वर्ष पनि उखु किसानले काठमाडौंमा आएर प्रदर्शन गरेका थिए। त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो। केही किसानले भुक्तानी पाए पनि। तर सहमति भएको करिब एक वर्ष पुग्न लाग्दासम्म सबै किसानले भुक्तानी पाएका छैनन्। त्यसैले न्याय माग्दै उनीहरु फेरि काठमाडौं आएका हुन्।

माइतीघरमा भेला भएका किसानले सरकारले सहमति कार्यान्वयन गराउन र आफूहरुलाई न्याय दिलाउन पहल नगरेको आरोप लगाएका छन्। हाल सर्लाहीबाट आएका किसानले गत वर्ष भएको सहमति पालना गर्न नत्र थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell