PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

पुस १६ गते बिपीको सम्बोधन भएको पर्चा काठमाडौंमा कसरी बाँडियो? यस्तो छ अशोक कोइरालाको संस्मरण



अनन्तराज न्यौपाने

पुस १६ गते बिपीको सम्बोधन भएको पर्चा काठमाडौंमा कसरी बाँडियो? यस्तो छ अशोक कोइरालाको संस्मरण

  • अशोक कोइराला-

विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिलाई अध्ययन गरेपछि ८ वर्षको लामो प्रवास त्यागेर सान्दाजु(बिपी कोइराला)ले नेपाल फर्कने निश्चय गर्नुभयो। बिपी २०३३ पुस १६ गते पटनाबाट विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आउनु भयो। बिपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो। त्यसपछि पुस १६ गतेको दिनलाई नेपाली काङ्ग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ।

फर्कनुअघि बिपीले नेपालका कार्यकर्तासित सिलिगुडी, दार्जिलिङ, फारबिसगञ्ज, गोरखपुरजस्ता भारतका सीमावर्ती शहरमा पुगेर भेटघाट गर्नुभयो र आफू नेपाल फर्कने बारेमा बृहत् छलफल गर्नुभयो। कुनै ऐतिहासिक कदम चाल्नुअघि बिपी कार्यकर्ता, बुद्धिजीवी र शुभेच्छुकसित व्यापक परामर्श गर्नुहुन्थ्यो र अन्तमा निर्णय सुनाउनु हुन्थ्यो।

बिपीले नेपाल फर्केका दिन देशबासीका नाममा सम्बोधन जारी गर्नुभयो। यो सम्बोधन पर्चाका रूपमा काठमाडौंमा वितरण गर्नु जरुरी थियो। तर २०३३ सालको परिस्थिति नेपाली काङ्ग्रेसका कार्यकर्ताका लागि अत्यन्त सङ्गीन थियो। पञ्चायती दमन उत्कर्षमा पुगेको थियो। तर त्यस बेला झोलामा रातो किताब र कम्युनिस्ट घोषणा–पत्र बोकेर वामपन्थीहरू भने खुला रूपमा हिँड्न पाउँथे। गाउँगाउँमा रातो किताब बोकेर कम्युनिस्टहरू गीत–सङ्गीतका कार्यक्रम लिएर जान्थे। नेपालमा कम्युनिस्टहरू त्यसै बढेका होइनन्। पञ्चायत कालमा काङ्ग्रेसलाई ठिक पार्न दरबारले नै कम्युनिस्ट शक्तिलाई हुर्काउने–बढाउने नीति लियो। काङ्ग्रेसलाई ठिक पारियो भने पञ्चायती व्यवस्था निष्कण्टक हुनेछ भन्ने दरबार र पञ्चमा भ्रम थियो। बहुदल कालमा पनि माओवादीलाई बढाउन दरबारले नै भूमिका गरेको थियो। माओवादीका तत्कालीन नेता डाक्टर बाबुरामले राजा वीरेन्द्र र आफ्ना पार्टीका बिचमा कार्यगत एकता भएको भनेर लेख नै लेखिसकेका छन्। उनीहरूको मेलजोल पुष्टि भइसकेको कुरा हो।

तर २०१७ देखि २०३६ सालसम्म काङ्ग्रेस कार्यकर्ताका लागि ज्यादै कठिनका दिन थिए। त्यस अवधिमा एउटा ‘तरुण’ पत्रिका, बिपी–गणेशमानजी कसैको फोटो वा पर्चा साथमा भेटियो भने प्रहरीले गोली नै ठोक्न सक्थ्यो। जेल हाल्ने र निर्मम यातना दिने कुरा त सामान्य नै थियो। हामीले अलि खुला ढङ्गले काम गरेको २०३६ साल जेठ १० गतेपछि मात्र हो।

अँ, म भन्दै थिएँ बिपीको सम्बोधन पर्चाका रूपमा काठमाडौंमा पर्चाका रूपमा छर्नु जरुरी थियो। त्यो सम्बोधनलाई बिपीको अत्यन्त मार्मिक, ऐतिहासिक र दूरदर्शी वक्तव्यका रूपमा लिइन्छ।

यसैबिच पुस ९ गतेतिर गिरिजादाजुले मलाई फारबिसगञ्जको सेल्टरमा बोलाउनु भयो। प्रवासमा भएका हाम्रा साथीहरू कोही जोगबनी र कोही फारबिसगञ्जको सेल्टरमा बस्नुहुन्थ्यो। म विराटनगर नै बस्थेँ। म त्यस बेला प्रतिबन्धित नेपाली काङ्ग्रेस मोरङको जिल्ला कार्यसमितिको सदस्य थिए। हाम्रो जिल्ला अध्यक्ष बद्रीनारायण बस्नेत हुनुहुन्थ्यो। जिल्ला समितिमा २०१५ सालका सांसद् खड्गबहादुर बस्नेत, शम्भुप्रसाद रिजाल, वीरवहादुर थापा, दिलीप सापकोटा, चिरञ्जिीवी रिजाल, भरतमणि सिटौला, मुक्तिप्रसाद चापागाईंलगायत हुनुहुन्थ्यो।

फारबिसगञ्जको बङ्गाली टोलमा एउटा बङ्गालीकै घरमा हाम्रो सेल्टर थियो। त्यहाँ ४० जनाजति साथी हुनुहुन्थ्यो। गिरिजादाजु विभिन्न सेल्टर घुमिघुमी साथीभाइहरूको हालखबर बुझ्नुहुन्थ्यो र सबैलाई सङ्घर्षका लागि प्रेरणा दिनुहुन्थ्यो।

म गिरिजा बाबुलाई भेट्न फारबिसगञ्जको सेल्टरमा पुगेँ। उहाँले बिपीले देशबासीका नाममा गर्नुभएको सम्बोधन छापिएको १ हजार प्रति पर्चा मलाई दिनुभयो।

‘सान्दाजु पुस १६ गते बिहान ९ बजे नै प्लेनबाट काठमाडौं एअरपोर्ट उत्रनु हुन्छ’, पर्चा दिँदै उहाँले भन्नुभयो, ‘अशोक, तिमीले यी पर्चा काठमाडौं पुर्‍याएर किसुनजीलाई दिनू।’

आफ्ना नेताले भनेका कुरा नाइँनास्ति गर्ने हाम्रो चलन थिएन। मलाई सान्दाजु र गिरिजा दाजु दुबैले बडो विश्वास गर्नुहुन्थ्यो। त्यसैले होला मलाई नै बोलाएर गिरिजा दाजुले यो जोखिमपूर्ण काम लगाउनु भयो। मैले भनिहालेँ नि, २०३३ सालको परिस्थिति कस्तो थियो भने एउटा पर्चा बोकेका भरमा पञ्चायतको गोली खान तयार हुनुपर्थ्यो।

गिरिजा बाबुको आदेश खुरुक्क मान्दै म पर्चा लिएर सुरक्षित रूपमा फारबिसगञ्जबाट विराटनगर आइपुग्न सफल भएँ। विराटनगर नाकामा मैले बोकेको झोला कुनै सुरक्षाकर्मीले हेरेन। विराटनगर घरसम्म आनन्दले आएँ।

सान्दाजु काठमाडौं आउने खबरले देशभरिका काङ्ग्रेस कार्यकर्तामा नौलो उत्साह र तरङ्ग थियो। बिपीलाई स्वागत गर्न देशैभरिबाट काङ्ग्रेस कार्यकर्ता काठमाडौं जाने लहर सुरु भइसकेको थियो। हामी विराटनगरका म, खड्गबहादुर कार्की र उहाँकी पत्नी, शम्भुप्रसाद रिजाल अनि धरानका शीतल गिरी र गोविन्द भागवतको गरी ६ जनाको एउटा समूह बन्यो। हामीले सँगसँगै काठमाडौं जाने सल्लाह गर्यौँ।

पुस १३ गते हामी विराटगरबाट वीरगञ्जका लागि हिँड्यौँ। त्यस बेला विराटनगर–काठमाडौंको बस चल्दैनथ्यो। सडक बनिसकेको थिएन। हामीले काठमाडौं जानुपर्दा वीरगञ्ज हुँदै जानुपर्थ्यो।

पुस १३ गते हामी अपराह्न ३ बजेतिर वीरगञ्ज पुग्यौँ। भत्किएको सडकमा थोत्रो बस चढेर हामी वीरगञ्ज पुगेका थियौँ। शरीरमा ज्यादै थकावट थियो। हामी बसपार्क नेरकै एउटा होटलमा बस्यौँ।

काठमाडौं जाने गाडीमा प्रहरीको कडा चेकिङ चलिरहेको छ भनेर हामीले वीरगञ्ज पुगेपछि थाहा पायौँ। डर त थियो, डर सँगसँगै सङ्घर्षप्रतिको समर्पण र निष्ठा पनि थियो। त्यही समर्पण र निष्ठाले हामीलाई क्रियाशील बनाएको थियो।

तर मसितै गएका अरू साथीहरूलाई मलाईजस्तो खतरा थिएन। वीरगञ्ज नपुगुन्जेल मैले गिरिजाबाबुले दिएको पर्चाको कुरा गोप्य नै राखेको थिएँ। वीरगञ्ज पुगेर होटलमा बसेको केही बेरपछि सबैलाई बोलाएर झोलाभित्र पर्चाको मुठो देखाएपछि सबै ‘सटकदम’ भए। सबैका ओठतालु सुके। काठमाडौं जाने बसमा कडा चेकिङ चलिरहेको छ, कसरी पुर्‍याउने पर्चा?

‘अशोकजी, तपाईं एक्लै काठमाडौं जानूस्, हामी अलग्गै जान्छौँ’, एक जना साथीले भन्नुभयो, ‘तपाईंसित हिँड्दा हामी पनि सँगै मारिन्छौँ। हामी यो जोखिम मोल्न तयार छैनौँ।’

ती साथीका कुरामा अरू दुई जनाले पनि हाँमा हाँ मिलाए।

तर हामीमध्येका शम्भु दाई (शम्भुप्रसाद रिजाल) अत्यन्त निडर, बुद्धिमान् र क्रान्तिकारी स्वभावका हुनुहुन्थ्यो।

‘हामीले अशोकलाई एक्लै छाड्नु हुँदैन’, उहाँले निर्णय सुनाउनु भयो, ‘हामी भोलि बिहानको एउटै बसमा अलगअलग सिटको टिकट काटेर काठमाडौं जाऔँ। हामीले बाटामा एकले अर्कासित बोल्नु हुँदैन। बोल्ने कुरा त टाढै रह्यो, हेराहेर र हाँस्ने काम पनि गर्नु हुँदैन। बाटामा खाना, चिया खान वा पिसाब गर्न उत्रँदा पनि एक्लाएक्लै हुनुपर्छ। यसो भए भने हामी सबै सुरक्षित काठमाडौं पुग्न सक्छौँ।’

‘पर्चा कसरी काठमाडौं पुर्‍याउने, त्यो उपाय मसित छ’, शम्भु दाइले थप्नु भयो, ‘जाऔँ हामी बजार। त्यहाँबाट मलमलको कपडा, सुतली (जुटको पातलो डोरी)–को मुठो र चक्कू लिएर आऔँ।’

उहाँको कुरो अरूले के बुझे मैले त छेउटुप्पो बुझिनँ।

भोलिपल्ट बिहान ७ बजेको बस चढ्नु छ। शम्भु दाइ बिहान ३ बजे नै मेरो ढोका ढक्ढकाउँदै म बसेको कोठामा आउनु भयो।

पुसको मध्य जाडो छ। वीरगञ्जमा शीतलहर चलेको छ। बाहिरको सिरेटो भित्रसम्म पसिरहेको छ। बसपार्कमा अलिअलि टाँ–टाँ–टीँ–टीँ सुरु भएको छ।

‘अशोकजी, सबै लुगा खोल्नूस्’, आदेशका शैलीमा शम्भु दाइले भन्नुभयो, ‘यी सबै पर्चा तपाईंका जीउभरि बाँध्नुपर्छ। अनि लुगा, स्वीटर र ज्याकेट लगाउनु पर्छ।’

मैले सोधेँ, ‘पर्चा त बाँध्ने, तर ब्लड सर्कुलेसन भएन भने म कसरी बाँच्छु?’

आश्वस्त पार्दै उहाँले भन्नुभयो, ‘तपाईं बाँच्ने गरी, ब्लड सर्कुलेसन हुने गरी बाँधिदिए भएन?’

‘त्यसो भए ठिक छ’, यति भनेर म तयार भएँ।

मैले जीउका सबै लुगा खोलेँ, कट्टु मात्र लगाएर सिरक ओढेर खाटमा बसेँ।

शम्भु दाइले सबै पर्चा पट्याएर सानो साइजका बनाउनु भयो। अनि मलमलको सेतो कपडा टुक्राटुक्रा पारेर च्यात्दै त्यसमा पर्चाका सानासाना मुठी बाँध्नु भयो। त्यसपछि मेरो शरीरमा तल खुट्टाको पिँडौलादेखि पर्चा बाँधिएका कपडा बाँध्न थाल्नु भयो। पहिले त, उहाँले कपडा बाँधेपछि त्यसमाथि सुतलीले पनि बाँध्नुभयो। तर त्यसले मलाई पीडा भयो। ब्लड सर्कुलेसन नै रोकिएलाजस्तो भयो।

मैले भने, ‘शम्भु दाइ, सुतलीले त ज्यादै दुःख भयो।’

यसपछि उहाँले सुतली फुकाएर कपडाकै डोरी बनाएर सजिलो हुनेगरी बाँधिदिनुभयो। यसरी उहाँले कपडामा मिलाएर बाँधेका पर्चा तल पिँडौला, तिघ्रा र माथि कम्मर, पेट, छाती, ढाड र पिठ्यूँमा पनि सजिलोसित बाँधिदिनुभयो। मेरा हात, घूँडा, गोलीगाँठा र पाइताला अनि घाँटीदेखि माथिको भागमात्र स्वतन्त्र थिए। जिउमा सर्वत्र पर्चा बाँधिएको थियो।

यसपछि उहाँले मलाई ट्राउजर, पाइन्ट, सर्ट, स्वेटर र ज्याकेट लगाउन भन्नुभयो। मैले सबै लुगा लगाएँ, घाँटीमा मफलर पनि बेह्रेँ। म फिटफाट देखिन्थेँ। शरीरभित्र एक हजार पर्चा भएको कसैले भेउ पाउन सक्तैनथे।

होटलबाट एक्लाएक्लै हिँडेर बसपार्क पुग्यौँ। गाडी यथा समयमा हिँड्यो। गाडी हिँड्नेबित्तिकै प्रहरीको समूहले बसपार्कको गेटमा नै रोक्यो। हाम्रो मन ढक्क फुल्यो।

प्रहरीको समूह बसभित्र पस्यो। हामीले आफूलाई स्वाभाविक बनाउन खोज्यौँ। त्यो जाडोमा प्रहरीले पनि फगत जागिर खानु थियो क्यारे, सबैका झोला माथिमाथिबाट छाम्दै ५–७ मिनटभित्रै चेकिङ सकेर उत्रिए। हामीले लामो सास फेर्यौँ। बस हुइँकियो।

बाटामा तीन–चार ठाउँ चेकिङ भयो। तर हाम्रा झोलाबाट केही बरामद हुने कुरा थिएन। शरीर कसैले छाम्दै छामेनन्। शम्भु दाइको आइडियाले काम गर्‍यो। कपडा बाँधे पनि गाँठा भएका ठाउँमा मलाई घरिघरि निकै दुख्थ्यो। तर अय्या भन्ने अवस्था थिएन।

बाटामा चिया, खाना, खाजा खान अनि दिसापिसाबका लागि सबै साथी अलग–अलग उत्रिए। कोही एक अर्कासित बोलेनन्। म चाहिँ बसकै सिटमा बसेँ। उत्रँदा, हिँडदा खुट्टामा बाँधेका पर्चा झर्ने डर थियो। त्यसैले मैले उत्रने काम गरिँन। दिनभरि पिसाब रोकेरै बसेँ। शम्भु दाइले इसारा गरेर मलाई बसभित्रै खाजा, सुन्तला आदि पठाइदिनु भयो। पसलेले ल्याइदिन्थ्यो।

काठमाडौं पुग्दा दिउँसो ३ बजेको थियो।

‘अशोकजी, तपाईं आफ्नो बाटो जानूस्’, सँगै गएका एक जना साथीले भन्नुभयो, ‘तपाईं सँगसँगै हामी किन पक्राउ पर्ने? किन मारिने? हामी अन्तै जान्छौँ।’

तर शम्भु दाइले यो कुरा मान्नुभएन।

‘हेर्नूस् साथी हो, गाँस छाड्नू–साथ नछाड्नू’, उहाँले भन्नुभयो ‘हामी अलगअलग दूरी बनाएर हिँडौ र पीपल बोटको होटलमा सँगै बसौँ।’

उहाँका कुरामा सबै सहमत भए। उहाँले मलाई खर्च भनेर ४ सय रुपैयाँ पनि दिनुभयो।

खड्गबहादुर दाइ सपरिवार हुनुहुन्थ्यो। उहाँको काठमाडौंमा आफ्नै घर भएकाले भाउजू लिएर उहाँ घरै जानुभयो। बाँकी ४ जना हामी होटल गयौँ। मेरो जीउ दुखिरहेको थियो। कति बेला पर्चा फुकाऊँ र हलौँ बनौँजस्तो भएको थियो।

काठमाडौं त पुगियो, अब किसुनजीकहाँ पुग्ने कसरी? किसुनजी पुल्चोकमा बस्नुहुन्छ भन्ने थाहा थियो तर पुल्चोक कहाँ हो के थाहा? त्यस बेला काठमाडौं जाने काम ज्यादै कम पर्थ्यो। त्यसैले कुन ठाउँ कहाँ छ, थाहा थिएन।

होटलमा झोला राखेपछि मैले सोचेँ, देशभरिबाट काङ्ग्रेसी साथीहरू काठमाडौं आइरहेका होलान्। कोही–कोही त यता न्यूरोडतिर पनि घुम्दै होलान्। न्यूरोड एक–दुई चक्कर घुम्न पाए त किसुनजीको निवास देख्ने कोही चिनेका साथी भेटिएलान्। यस्तो सोचेर म होटलबाट उत्रेर न्यूरोड घुम्न थालेँ तर बिस्तारै–बिस्तारै। अत्यन्त सुस्तरी। किनकि शरीरमा बाँधेको पर्चा खजमजिनु र झर्नु हुन्नथ्यो।

बाटामा विराटनगरकै एक जना दाइ भेट भए। उनी गुप्तचरमा जागिर खान्थे। म खङ्ग्रङ्ग भएँ। तर उनीसित हाम्रो पुरानो र पारिवारिक सम्बन्ध थियो। त्यसैले अलि आँट आयो।

उनले को–को आएका छौ भनेर सोधे। मैले ममात्र छु, अरूको थाहा छैन भनिदिएँ। यति भनेपछि हामी छुट्यौँ।

एक छिन हिँडेपछि धरानका एक जना पुराना साथी भेट भए। उनी पार्टीकै सक्रिय कार्यकर्ता थिए। मलाई देख्नेबित्तिकै ‘ओहो अशोकजी, कहिले आउनु भयो ?’ भनेर सोधिहाले।

‘मलाई किसुनजीको निवासमा पुग्नुछ’, मैले उनलाई अनुरोधको स्वरमा भनेँ, ‘उहाँ कहाँ बस्नुहुन्छ?’

उनले किसुनजीको पुल्चोकको निवास आफूले देखेको बताए। मैले पुर्याइदिन अनुरोध गरेँ। उनी अलि अनकनाए।

मैले भनेँ, ‘ट्याक्सीमा जाउँला नि। के बितेको छ र?’

बल्ल–बल्ल एउटा ट्याक्सी भेटियो। त्यसले ३५ रुपैयाँ लिने कुरा गर्‍यो। म दिन तयार भएँ। यसरी हामी किसुनजीको पुल्चोकस्थित निवास पुग्यौँ।

तर अफसोच, निवासमा किसुनजी हुनुहुँदो रहेनछ। घरका मान्छेले साँझतिर आउनुहुन्छ भन्नुभयो। हामी उहाँलाई पर्खेर बस्यौँ। करिब डेढ घण्टाजति कुर्नुपर्यो।

नभन्दै साँझ ७ बजेतिर किसुनजी आइपुग्नुभयो।

‘अरे अशोकजी, आप आएँ?’, मलाई देख्नेबित्तिकै उहाँले भनिहाल्नुभयो।

मैले भित्र कोठामा गएर कुरा गरौँन भनेर अनुरोध गरेँ।

‘क्या, बहुत गोप्य है क्या?’ भनेर सोद्धै उहाँले आफ्नो कोठामा लैजानुभयो।

मैले स्वेटर र ज्याकेट माथि तानेर मेरो पर्चा बाँधिएको शरीर उहाँलाई देखाएँ।

भनेँ, ‘मेरो शरीरमा १ हजार पर्चा बाँधिएका छन्। यी पर्चा गिरिजाबाबुले किसुनजीलाई दिनू भनेर मलाई पठाउनु भएको हो।’

यति भनेर म पर्चा फुकाउन लागेँ।

‘रुकिए’, उहाँले भन्नुभयो, ‘मलाई ५–७ वटा दिनूस्।’

उहाँले एउटा पर्चा आफ्नो जेबमा राख्नुभयो। बाँकी भुइँमा ओछ्याइएको गलैँचामुनि लुकाउनुभयो।

‘हेर्नुस् अशोकजी, यहाँ सिआइडीहरू हिँडिरहेका छन्’, उहाँले भन्न थाल्नुभयो, ‘मलाई भोलि बिहानै पक्राउ गर्ने सम्भावना छ। बडो अप्ठेरो अवस्था छ। म पक्राउ परेपछि कसले बाँड्छ पर्चा? त्यसैले म एक जना साथीलाई चिठी लेखिदिन्छु, त्यो चिठी लिएर तपाईं उनीसित जानूस्। सबै व्यवस्था उनैले मिलाइदिन्छन्।’

कास्की, पोखराका शुक्रराज शर्मा। उहाँ मसितै राष्ट्रिय सभामा पनि हुनुहुन्थ्यो। उहाँ महाबौद्धमा श्रीखण्ड नामको होटल चलाउनु हुँदो रहेछ। किसुनजीले उहाँलाई नै एउटा पत्र लेखेर मलाई जानूस् भन्नुभयो। पत्रमा अशोकजीलाई खाने–बस्ने सबै व्यवस्था मिलाइदिनू भनेर पनि लेख्नुभएको थियो।

अब हामी त्यहाँबाट फर्कनु पर्ने भयो। म महाबौद्धका लागि ट्याक्सी खोज्न थालेँ। मलाई पुल्चोक पुर्याउने ती साथीले मैले जिउभरि बाँधेर ल्याएको थाहा पाइसकेका थिए। उनी निकै डराए।

उनले भने, ‘अशोकजी, किन यस्तो ज्यानै जाने काम गर्नुहुन्छ? यी पर्चा टुकुचामा फालिदिनूस् र आफू सुरक्षित हुनूस्।’

‘मैले आफूले ज्यानको बाजी लगाएर काठमाडौं ल्याइपुर्‍याएका पर्चा किन फाल्ने?’, मैले उत्तर दिएँ।

हामी ट्याक्सी चढ्यौँ। एक छिनमा होटल श्रीखण्ड आइपुग्यो। ती साथी आफ्नो बाटो लागे। म होटलमा छिरेँ।

शुक्रराजजी होटलमा हुनुहुँदो रहेनछ। म एउटा कोठा लिएर बसेँ। होटल कर्मचारीलाई शुक्रराजजी आएपछि भेट गराइदिनूस् भनेँ। कोठामैँ खाना मगाएर खाएँ। राति ११ बजेतिर शुक्रराजजी आइपुग्नुभयो। मैले उहाँलाई किसुनजीले लेखेको पत्र दिएँ। उहाँले म किसुनजीलाई भेट्छु भन्नुभयो। मैले पर्चाको कुरा उहाँलाई खोलिँन। गोप्य नै राखेँ।

जिउमा पर्चा बाँधेर नै म त्यो रात शुक्रराजजीको होटल श्रीखण्डमा सुतेँ। कपडा बाँधेका गाँठाले जिउ दुख्थ्यो। राम्ररी निदाउन पनि सकिएन।

शुक्रराजजी भोलिपल्ट बिहान ४ बजे नै उठेर किसुनजीकहाँ जानुभएछ। उहाँ त्यहाँ पुग्दा प्रहरीले किसुनजीलाई पक्राउ गरेर लगिसकेको रहेछ। शर्माजी किसुनजीसित भेटै गर्न सकिएन भन्दै आउनुभयो।

उहाँसित मेरो परिचय पहिलो थियो। त्यसैले कति पानीमा हुनुहुन्छ भनेर मलाई जाँच्नु पनि थियो। केही बेर कुरा गरेपछि उहाँ समर्पित र इमानदार कार्यकर्ता भएको थाहा पाउन कुनै गाह्रो भएन। यसपछि मात्र मैले उहाँसित पर्चाको कुरा खोलेँ र पर्चा बाँधिएको मेरो शरीर देखाएँ। एउटा पर्चा निकालेर उहाँले पूरै पढ्नुभयो। तर डराउनु भएन। खुशी देखिनुभयो।

मैले भनेँ, ‘भोलि बिहान सान्दाजु प्लेनबाट काठमाडौं आउँदै हुनुहुन्छ। यी पर्चा एअरपोर्टमा छर्नुछ। विश्वासिला ३–४ जना साथीहरू खोज्नुपर्‍यो।’

शुक्रराजजी एकछिन घोरिनु भयो। अनि सुनिल दाहाललाई बोलाउन मान्छे पठाउनु भयो।

सुनिल दाहाल, समर्पित कार्यकर्ता थिए। हाल उनको स्वर्गवास भइसकेको छ। उनी २०१५ सालका सांसद् लीलाप्रसाद दाहालका छोरा हुन्।

सुनिल आए। मैले पर्चा फुकाएँ। शुक्रराजजीले सबै पर्चा सुनिललाई दिनुभएन। दुई–तीन सय जति हामी बाँड्ने भनेर राख्नुभयो।

मैले आफ्नो भागमा परेका पर्चा पट्याएर सानो पार्दै ज्याकेटका गोजीमा राखेँ।

भोलिपल्ट हामी सबेरै एअरपोर्ट पुग्यौँ। त्यहाँ हजारौँ साथीहरू भेला भइसक्नुभएको थियो। हामी पनि निकै उत्साहित भयौँ।

बिपीको जहाज आइपुग्न एक घण्टा जति ढिलो भयो। त्यति बेलासम्म कसैले पर्चा बाँडेको र पाएको थिएन। निकै बेरपछि मैले गोजीका पर्चा निकाल्दै बाँड्दै गर्न थालेँ। एक ठाउँमा ५ वटा बाँड्यो अनि अर्का ठाउँमा गइहाल्यो, गर्न थालेँ। मैले बाँडेका पर्चा हारालुछ भए। यसपछि सुनिलको समूहले पनि बाँड्न थाल्यो। अनि त, पर्चा एअरपोर्टमा छ्याप्छ्याप्ती भइहाल्यो। चारैतिरबाट बाँड्न थालियो। पछि न्यूरोड पीपलबोटमा पनि पर्चा पुगेछ। यसरी एउटा ठूलो मिसन सकियो।

बिपीहरू विमानबाट उत्रनेबित्तिकै गिरफ्तारीमा पर्नुभयो। उहाँहरूलाई सेनाले कार्गोको कार्यालय हुँदै सुन्दरीजलतिर लग्यो। हामी फर्कियौँ। मैले होटल श्रीखण्ड भोलिपल्ट १७ गते बिहान ५ नै छाडेँ र बानेश्वरमा नातेदार डाक्टर कमलेश शर्माका घरमा गएँ।

कमलेशले पनि मलाई सोध्नुभयो, ‘पर्चा कसले ल्याएछ? रातैभरि बाँडिएछ।’

पछि थाहा भयो, सुनिल पक्राउ परेछन्। प्रहरीले उनलाई धेरै पिटेछ। पर्चा कसले दियो भनेर यातना दिँदै सोधिएछ। उनले पनि ज्यानै जाला भन्ने डरले अशोक कोइरालाले दिएको हो भनेछन्।

‘आफ्नो ज्यान बचाउने काम पहिले गर्नू’, बिपी हामीलाई भन्नुहुन्थ्यो, ‘ज्यानै नबाँचे कसरी प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने? त्यसैले बिपी मुर्दाबाद भनेर ज्यान बाँच्छ भने भनिदिनू।’

सुनिलले पनि मेरो नाम भनेकोमा मलाई दुःख लागेन। कमसे कम उनको ज्यान त बाँच्यो। उनी नभए एअरपोर्ट र सारा काठमाडौंमा पर्चा बाँडिने थिएन। तर यसपछि काठमाडौंमा प्रहरीले मलाई खोज्न थालेको मैले चाल पाएँ।

अनि म कमलेशको घरबाट बानेश्वरमै आफ्नै एउटा साथीकहाँ गएँ। उनी पेसाले सरकारी इन्जिनियर थिए। उनको साइट नागढुङ्गामा चल्दै थियो। त्यो साथीका घरमा २–३ दिन बसेँ।

‘मलाई प्रहरीले खोजेको खोज्यै छ, मैले जसरी पनि सुरक्षित रूपमा विराटनगर पुग्नु छ’, मैले मेरा इन्जिनियर साथीलाई अनुरोध गरेँ, ‘तिमीले केही उपाय गरिदेऊ।’

उनले भने, ‘मेरो साइट नागढुङ्गामा चल्दैछ। त्यहाँबाट आजै एउटा हाम्रो सरकारी ट्रक हेटौँडासम्म जाँदैछ। तिमी त्यसैमा हेटौँडा जान्छौ भने हिँड। त्यहाँबाट विराटनगर गए भइगयो। म मेरै बाइकमा तिमीलाई नागढुङ्गा पुर्‍याउँछु र ट्रक चढाउँछु। बाटामा कसैले सोधे भने मेरो स्टाफ हो भनिदिउँला।’

मलाई के खोज्छस् काना आँखो भयो। नागढुङ्गामा ट्रक स्टार्ट भएपछि उसले बाटाखर्च भनेर १ सय ५० रुपैयाँ पनि दियो र प्रेमले हात हल्लाएर बिदा गर्‍यो। यसरी म सरकारी ट्रकमा हेटौँडा आइपुगेँ।

हेटौँडामा म नारायणप्रसाद शर्माका क्वार्टरमा गएँ। उहाँ त्यहाँका प्रतिष्ठित र सहयोगी प्रजातन्त्रवादी हुनुहुन्थ्यो। हेटौँडा औद्योगिक क्षेत्रमा एक ठूलै उद्योगका जिएम् पनि हुनुहुन्थ्यो। उहाँले प्रजातन्त्रको सङ्घर्षमा तन, मन, धन सबै लगाउनु भएको छ। काठमाडौंमा बाँडिएको पम्प्लेटका बारेमा उहाँले पनि सुन्नुभएको रहेछ। म उहाँका क्वार्टरमा १५ दिनजति बसेर विराटनगर आएँ।

घर आएको १ महिनापछि प्रहरीको पक्राउ पुर्जी आयो।

पुर्जीमा लेखिएको थियो, ‘काठमाडौंसम्म पुगेर पञ्चायत व्यवस्थाका विरोधमा पर्चाबाजी गर्ने विराटनगर नगर पञ्चायत वडा नम्बर ११ का अशोककुमार कोइरालालाई हाजिर गराउनू।’

मैले हाजिर हुन मानिनँ। मैले म पहिले वकिललाई बोलाउँछु भनेँ। प्रहरीले मान्यो। वकिल आएपछि सबै कागज हेरे। अनि तपाईँ अशोक कोइराला कि अशोककुमार कोइराला भनेर सोधे। पुर्जीमा अशोककुमार लेखिएको छ भने।

मैले भनेँ, ‘म त अशोक मात्रै हुँ, अशोककुमार होइन।’

अनि वकिल बोले, ‘त्यसो भए उहाँलाई पक्राउ गर्न पाइँदैन।’

पुर्जी लिएर आएको प्रहरीले वडाध्यक्ष बोलाएर सर्जमिन गरायो। सर्जमिनको ब्यहोरामा वडा नम्बर ११ मा अशोककुमार कोइराला नामको कुनै नेपाली नागरिक नभएको कुरा लेखियो। यसरी म एक पटकका लागि पक्राउ पर्नबाट जोगिएँ।

(नेपाली काँग्रेस मोरङका पूर्व सभापति, संविधान सभा सदस्य एवम् राष्ट्रिय सभाका पूर्व सदस्य कोइरालासँग पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेले गरेको कुराकानीमा आधारित।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell