जनकपुरधाम : विश्वप्रसिद्ध जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमणको विषयलाई लिएर करिब १ वर्ष भन्दा बढी समयदेखि विवाद चल्दै आएको छ। सडक विस्तारको नाउँमा जनकपुरधाम उपमहानगरपालिकाले व्यक्तिको निजी जग्गालाई बचाउन पौराणिक धार्मिक महत्वलाई ख्यालै नगरी मन्दिरको जग्गा अतिक्रमण गरेकोमा स्थानीयहरुले व्यापकरुपमा विरोध गर्दै आएका छन्।
सो फुलबारी जग्गा अतिक्रमणबारे नापी कार्यालयद्वारा नागरिक समाजको अगुवाईमा गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयद्वारा कार्यदल गठन भई तीन÷तीन पटक नापी समेत भएको थियो। सो कार्यदलले मन्दिरको सिट नम्बर १३५५-२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर भएको बताएको छ। सडक विस्तारको नाउँमा बगैँचाको बीचमा ०.७० मिटर चौडाई पूर्वी दक्षिण कुनामा ३ मिटर तथा पूर्वी उत्तरको कुनामा ४.८८ मिटर जग्गा अतिक्रमण गरिएको प्रतिवेदन समेत बुझाइसकेको छ।
विवाद समाधान हुन नसकेपछि भदौ २८ गते विवादित पर्खाल स्थानीय जनप्रतिनिधिको नेतृत्वमा भत्काइएको थियो। पर्खाल भत्काउँदा जनकपुर उपमहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रलगायत युवा अभियन्ताको सहभागिता रहेको थियो। यता पर्खाल भत्काइएको केही महिना नबित्दै अतिक्रमणलाई निरन्तरता दिई प्रदेश सरकारद्वारा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पुनः सोही विवादित स्थानमा पर्खाल लगाउन शुरु गरिएको छ।
प्रदेश सरकारद्वारा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण कार्यक्रममा समावेश गरी सो विवादित जग्गामा पर्खाल लगाउने कार्य शुरु गरिएको हो। प्रदेश सरकारद्वारा विवाद समाधान नगरी उल्टै विवाद सिर्जना गरेको भनी नागरिक समाजका अगुवा आन्दोलित भएका छन्।
‘जानकी मन्दिरको फुलबारी जग्गा बचाउन हामी शुरुदेखि नै लागेको छौँ, उपमहानगरपालिकाले निजी जग्गा बचाउन कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गराउन नसकेपछि प्रदेश सरकारले मन्दिर सौन्दर्यीकरणको नाममा निजी जग्गा बचाउन अतिक्रमणकारीको मतियार बनेको हो’, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले भने, ‘हामी जिल्ला प्रशासन कार्यालयलाई न्यायका लागि आग्रह गर्नेछौँ यदि विवाद समाधान हुन नसके चरणबद्ध रुपमा आन्दोलनमा जानेछौँ र अदालतमा मुद्दा समेत हाल्ने छौँ।’
गुठी संस्थान कार्यालय धनुषाले समेत मन्दिरको जग्गा अतिक्रमण भयो भनेर जिल्ला प्रशासन कार्यालयलाई विगतमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मागसहित आइतवार पत्राचार समेत गरेको छ।
अतिक्रमण गरी बनाइएका संरचना हटाई सम्पदा क्षेत्र जोगाउने जिम्मा पाएका स्थानीय सरकार, प्रदेश सरकारका केही मुखियाहरु चलखेल गरी जानकी मन्दिरलाई नै ध्वस्त पार्ने षड्यन्त्रमा लागेको स्थानीय शुशील कर्णले आरोप लगाए। अतिक्रमण गरिएको जग्गामा बनाइएको घर हटाउने जिम्मा पाएका मेयरदेखि प्रशासनसम्मले कुनै तत्परता नदेखाएको भन्दै आफूहरु पटकपटक आन्दोलन समेत गर्दै आएको कर्णले बताए।
यता स्वच्छता अभियानको नाममा कुनै व्यक्ति विशेषलाई फाइदा पुर्याउन प्रदेश सरकार नै सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको भन्ने जिज्ञासामा स्वच्छता अभियानका संयोजक इञ्जिनियर भगवान झाले कुनै अतिक्रमण नगरेको दावी गर्छन्।
उनले भने, ‘जानकी मन्दिरको पर्खाल भत्किँदा आवात जावतमा हुँदै आएको समस्यालाई ध्यानमा राख्दै उपमहानगरपालिकाको अनुरोधमा मन्दिर सौन्दर्यीकरणको क्रममा पर्खाल निर्माण गरिरहेका छौँ, जहाँसम्म प्रतिवेदन कार्यान्वयनको कुरा हो, त्यो उपमहानगरपालिकाको समस्या हो हाम्रो होइन।’
सम्बन्धित समाचार :