16.jpg)
काठमाडौं : मङ्गलवार दिउँसो करिब ४ बजेतिर हिमेश भाइ उमेश केसी र बुहारी सुदीक्षा गिरीसँग छुट्टिए। एक घण्टा बढी सँगै बसेर गफगाफ गरेपछि फेरि भेट्ने बाचा गर्दै उनीहरु आ आफ्नो बाटो लागेका थिए। छुट्टिएपछि उमेर र उनकी पत्नी सुदीक्षा हिँडे। हिमेश पनि ललितपुरतिर।
उमेश हिमेशका कान्छा भाइ। हिमेश चाहिँ परिवारको माइलो। हिमेश ललितपुरमा बस्दै आएका छन्। बुबा आमा भने जेठो दाइसँग बानेश्वरमा बस्छन्। ३३ वर्षीय उमेश र सुदीक्षा भने टोखामा रहेको अपार्टमेन्टमा बस्दै आएका। उनीहरू बिच फेरि शनिवार भेट्ने कुरा भएको थियो।
तर, यो भेट अरु बेलाको झैँ रहेन। हिमेशले भाइ र बुहारी दुवैलाई मृत भेटे। शनिवार बिहान ३ बजेतिर आफन्तले दुवैको मृत्यु भएर अस्पताल पुर्याएको जानकारी पाएपछि आत्तिँदै उनी त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पुगेका थिए। दुवै जनाको मृत शरीर देखे त्यहीँ उनले।
'छुट्टिएपछि हाम्रो कुराकानी भएन। उ साथीभाइसँग नै रमाइलो गर्दै होला। फेरि भेट भइहाल्छ भनेर फोन समेत गरिन। आज बिहानमात्र यस्तो खबर सुनेँ,' हिमेशले पहिलोपोस्टसँग भने।
शुक्रवार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश र उनकी श्रीमती सुदीक्षा मृत अवस्थामा भेटिएका थिए। उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी प्रमेश विष्टले जानकारी दिए।
मृत अवस्थामा भेटिएपछि प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि अस्पताल पुर्याएको थियो। तर मृतका परिवारले भने अस्पताल पुगेपछि मात्र खबर पाए। स्थानीय जनप्रतिनिधि र सुदीक्षाका माइती पक्षको रोहबरमा शव अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
उमेश दशैंको अष्टमीको दिन अमेरिकाबाट नेपाल आएका थिए। पढ्नका लागि अमेरिका गएका उनी पाँच दिन पछि (१४ जनवरी) अमेरिका फर्किँँदै थिए। श्रीमान् श्रीमती बिच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। उमेशको शिरमा चोट देखिएको छ। घटनास्थल नजिकै रगत लागेको डुङ्गा समेत भेटिनुले थप शङ्का जन्माएको हो।
सम्बन्धित समाचारः ललितपुर र भक्तपुरका पहिलेका ति घटना जस्तै देखिने टोखाको त्यो घटनाः श्रीमान बेडमा मृत फेला, श्रीमती झुन्डिएको अबस्थामा
'श्रीमतीले श्रीमानको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएको छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
'एक जनाको शरीरमा चोटपटक र अर्को जना झुन्डिएका घरभित्र। पति चाहिँ बेडमा लडेको अवस्थामा भेटिएको हो। थप अनुसन्धान गरिरहेका छौँ',' डीएसपी विष्टले भने।
मृतकका परिवारले भने आफूलाई जानकारी नदिई शवलाई अस्पताल लगिएकाले शव नबुझ्ने भएका छन्। घटनालाई शंकाका रुपमा हेरिएकाले निष्पक्ष छानविन गर्नुपर्ने माग गरिरहेका छन् उनीहरुले।
'हामीलाई किन खबर भएन? शव हेर्दा केही दिनअघि घटना भएको जस्तो लाग्छ। बुहारीकी दिदी बिहानै कोठमा पुगेको भन्ने छ। बिहानै शव देखेको मान्छेले बेलुकासम्म किन खबर भएन? त्यसैले हामीलाई शङ्का छ,' मृतकका दाजु हिमेशले सुनाए।
मङ्गलवार को भेटमा भाइ बुहारी बिच कुनै त्यस्तो विवाद भएजस्तो नदेखिएको हिमेशको भनाइ छ। भाइ उमेशले अस्पताल गएर पीसिआर परीक्षण गर्ने र 'होल बडी' चेक भनेको उनको स्मरणमा अझै ताजै छ।