खोला कक्रक्क जमेको छ। जमेको खोला भित्र चाहिँ पानी बग्छ कि बग्दैन होला? जे होस् हामी त्यही बरफको माथि हिँड्दै छौं।
उद्देश्य त २ हजार ८ सय मिटर उचाइमा रहेको कालापानीदेखि ३ हजार १ सय ५० मिटर अग्लो शैलुङको शिरसम्म पुग्नु थियो। तर, हामीलाई जमेको खोलाले झोर, मनगाउँमा नै रोक्यो। रोक्किनुको अर्थ चुपचाप उभिनु होइन रहेछ। वरपर हेर्नु, रमाउनु र ती दृश्य तस्विरमा कैद गर्नु उद्देश्य बन्यो। त्यसै गर्यौं। त्यसपछि निस्कियौं महादेव गुफातर्फ ‘जंगल सफारी’मा, हिँड्दै।
महादेव गुफामा पानी अविरल आइरहने र हामी अघि जुन खोलामाथि हिँड्यौं त्यहाँ पुग्ने कथन रहेछ। किम्बदन्ती सुन्दै उकालो लागेपछि हाम्रो ‘हाइकिङ’ सुरु भयो।
काठमाडौंमा कहाँ पाउनु त्यो सुन्दरता? जति छन् तिनले आजभोलि त इन्द्रियलाई पनि खासै प्रभाव पार्दैन। शहरको कोलाहलका कारण हुनसक्छ हामी उपत्यकाका प्रकृतिमा त्यतिधेरै रमाउन सक्दैनौं। त्यसलाई विवेकले मात्र विश्लेषण गर्न सक्दैनौं।
डाक्टर तीर्थबहादुर श्रेष्ठले प्रकृति कसरी अवलोकन गर्ने? भन्ने बारे ‘नेपालको अध्ययन १’ मा उल्लेख गरेका छन्- 'हामी प्रकृतिको अवलोकन गर्न जाँदा वनस्पती, पशुपंक्षीहरू आआफ्नो बासस्थान बारेमा बोलिरहेका हुन्छन्। हाम्रा इन्द्रियहरूले तिनलाई ठम्याएर मनन गर्न सक्नुपर्छ। विवेकले विश्लेषण र आत्माले आत्मसात् गर्नुपर्छ।'
यो श्रेष्ठको प्रकृति अवलोकन सिद्धान्त हो। यस सिद्धान्तलाई व्यवहारमा उतार्नु काठमाडौंमा सायदै सकिएला। शैलुङले भने इन्द्रियहरूलाई एकाएक सक्रिय बनाइदियो। सबै इन्द्रियहरू बोलिरहेको प्रकृतिको आवाज ‘डिकोड’ गर्न लागे।
सल्ला, गुराँस, चिमालले घेरिएको जंगलमा हिँड्दै गर्दा बेग्लै उर्जा पाइरहेका थियौं। करिब ४५ मिनेटपछि कालापानी पुगियो। तर, किम्बदन्तीहरूको श्रृङ्खला टुटेन।
धेरै पहिले मट्टितेलको बास्ना सहितको पानी बग्ने धाराबारे सुन्यौं। हामी पुग्दा भने पानी समेत बगेको थिएन।
धारा रहेको त्यही कालापानीमा शैलुङमा आउने पर्यटक लक्षित बेस क्याम्प निर्माण गर्ने योजना रहेछ गाउँपालिकाको।
हुन त १५-२० मिनेटको पद यात्रापछि नै पहिलो थुम्कोमा पुगिन्छ भनिएको थियो। तर, हाम्रो हिँडाइले करिब १ घण्टा लगायो थुम्को माथि पुगेर तल बसेको गाउँ अनि जंगलहरू देख्न। माथि मिलेर बसेका थुम्कोहरूमा कहिले पुगुँ? भन्ने महसुस गराइरह्यो।
उकालो ओरालो गर्नु थियो। काठमाडौंमा दिनदिनै सिधा बाटो हिँडेको त मतलबै भएन!
पहिलो थुम्कोमा विशाल त्रिशुल राखिएको थियो। स्थानीयका अनुसार फेदमा रहेको सानो मन्दिरबाट एकै सासमा त्यो चुचरोमा उक्लियो भने इच्छाएको पूरा हुन्छ। इच्छा पूरा हुनु त सुन्दर कुरा हो। तर, सास रोकेर कसरी कुद्नु? बिस्तारै हिँड्दा त स्वाँस्वाँ र फ्वाँफ्वाँ भएको थियो। त्यसैले, आँट गरिएन।
शैलुङ्गेश्वर महादेवको दर्शन गर्न ओरालो झर्यौं। यहाँ बालाचतुर्दशीका दिन शतबीज छर्न विभिन्न ठाउँबाट मानिस आउने रहेछन्। जनै पूर्णिमामा त मेला भर्न थुम्काहरु मानिसले भरिन्छन् भन्ने सुनियो। कयौं गुफाहरूले यस ठाउँमा सौन्दर्यता थपेको रहेछ।
हिँड्दै गर्दा भीमसेनको तरवार रहेको स्थानमा पुग्यौं। कथन अनुसार भीमसेनको बाटो सुङ्गुरले अवरुद्ध गरेको थियो। त्यसपछि भीमसेनले तरबारले सुङ्गुर ढाले। सुङ्गुर काटेपछि तरबार अछुतो भयो। र, तरबार त्यहीँ छाडेर भीमसेन आफ्नो बाटो लागे।
कथनहरू सुन्दै, थुम्का नियाल्दै, ढुंगाका सिंढीबाट उचाईतिर लागिरह्यौं। घाम छिप्पिँदै जाँदा हावाको वेग भने बढ्दै गयो।
जुन थुम्कोमाथि उक्लियो त्यहाँबाट हिमाल त छर्लंगै। जति माथि गयो, हिमालहरू थपिँदै गए। महाभारत पर्वत श्रृंखलाको सबैभन्दा उच्च भागमा पुग्दा चारैतिर हिमालका दृश्य आँखा ओरिपरि देखिए। यहाँबाट गौरीशंकर, धौलागिरी, अन्नपूर्ण, मनास्लु, गणेश लगायतका हिमाल छर्लंगै देख्न सकिने रहेछ। मौसमले साथ दिए सगरमाथा पनि देखिने। नेपालमा रहेका करिब ६० प्रतिशत हिम श्रृंखला र महाभारत रेन्जको अधिकांश डाँडाहरू यहाँबाट देख्न सकिने रहेछ। शैलुङको उच्च बिन्दुबाट ३६० डिग्रीमा नै हिम श्रृंखला। वाह!
अहिले भने चुचरोमा भ्यू टावर समेत बनाइएको छ। ३१५० मिटर अग्लो पहाडबाट देखिने दृश्य हेर्न अर्को ५० मिटरको भ्यू टावर! लाजको पसारो, प्रकृतिक उचाईमा लागेको कालो धब्बा।
यसपाला हामीलाई मौसमले गजबले साथ दियो। जोडले हावा चले पनि, चर्को घाम लागे पनि शैलुङबाट देखिएको अलौकिक दृश्यले थकान नै मेटाउने रहेछ।
डाँडाहरू सुख्खा देखिन्थे। सामाजिक सञ्जालमा देखिएभन्दा भिन्न। तर, मौसमसँगै बद्लनु नै त प्रकृतिको सुन्दरता हो।
अहिले सुख्खा देखिएको शैलुङका सय भन्दा बढी थुम्का केही समयमा नै हिउँले सेताम्मे हुनेछन्। त्यसबेला धेरै संख्यामा आन्तरिक पर्यटकहरू हिउँ खेल्नका लागि शैलुङ पुग्ने गर्छन्।
चैत- वैशाख महिनामा भने गुराँस र चिमालहरू डाँडाभरी फूल्छन्। भदौ- असोज तिर थुप्रै प्रजातिका भूइँमा फूलहरू फुल्छन्। सबै थुम्कामा फूलहरू ढकमक। त्यो बेला चौरी, भेडा, बाख्राहरू यहाँ चर्न आउँछन्। यसरी प्रत्येक सिजनमा रुप र शैली फेरिरहने हुँदा शैलुङ यात्रा एकपटकमा कहिल्यै पूरा हुन नसक्ने रहेछ।
'शैलुङका भिन्न कथनहरू'
शैलुङबारे स्थानीयबीच विभिन्न किम्बदन्ती रहेछन्। केही सय वटा थुम्का भएकाले यसलाई शैलुङ भन्ने गरेको बताउँछन् स्थानीय।
गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालका अनुसार प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान र प्रवचन दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनियो र पछि अपभ्रश हुँदै शैलुङ रहन गएको हो।
प्रकृतिको अनौठो र आश्चर्य पार्ने खालको बनोट र धार्मिक सांस्कृतिक इतिहास बोकेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र क्षेत्र समेत हो।
पाँचौं बुद्ध पद्मसम्भव लामो समय शैलुङमा बसेर तपस्या गरेको भन्ने पनि कथा रहेछ। यस्तै, शाक्यमुनी गौतम बुद्ध नमोबुद्ध हुँदै शैलुङ आएको र हलेसी हुँदै भारत गएको कथन पनि रहेछ।
हिन्दु धर्मावलम्बीहरूका अनुसार शैलुङ पर्वतमा ऋषिमुनीहरू तपस्या गर्थे। कलियुग सुरु हुन लागेपछि तपस्या गरेर बसेका ऋषिहरू बिलिन भए। ऋषि बिलिन भएको प्रत्येक ठाउँमा थुम्काहरू निर्माण भएको किम्बदन्ती समेत रहेछ।
यससँगै शैलुङ पर्वतलाई महादेवको वासस्थानका रुपमा समेत लिने गरिन्छ। १२ वर्षमा गोदावरी फुल्ने गुफा, शैलुङगेश्वरी देवी भगवती, डाँफे ढुंगा, पृथ्वीको नाइटो, बुद्धको पाइला। यस्ता विभिन्न धार्मिक सांस्कृति पवित्र स्थानहरू छन् यही छन्। गुप्तेश्वर महादेव रहेको गुफादेखि धर्मद्वारसम्मको आफ्नै धार्मिक महत्व सुनाउँदा प्रकृतिसँगै सांस्कृतिक हैसियत पनि निक्कै अग्लो अनुभूति भयो।
त्यसैले गाउँपालिका अध्यक्ष दुलाल यसलाई हिन्दु र बौद्धमार्गीहरूको पवित्र संगमस्थलका रुपमा अर्थ्याउँछन्।
साथै अब यसलाई धार्मिक, जैविक विविधता युक्त पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सुनाए।
‘लुकेर बसेको पर्यटकीय गन्तव्य’
दुलाल शुलैङलाई लुकेर बसेको पर्यटकीय गन्तव्य भन्छन्। त्यसैलै अब यो क्षेत्रलाई चिनाउन र आन्तरिक पर्यटनलाई बढावा दिन प्रयासरत् छन्।
शैलुङ डाँडासहितको क्षेत्र रहेको वडा नम्बर ८ का वडा अध्यक्ष रामेश्वर उप्रेती पनि अब शैलुङलाई पर्यटकीय गन्तव्य बनाउनेमा दृढ छन्।
‘यो हामीले मात्रै गरेर हुने होइन। सबैको साथ चाहिन्छ। अहिले सबैको साथ भएकोले हामी अघि बढेका छौं। दुई वर्ष भित्र कालापानीको रुप फेरिन्छ,’ उनले भने।
सिजनमा अहिले पनि यहाँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्छ। तर बस्ने राम्रो सुविधा नहुँदा सोचेअनुसार पर्यटक तान्न सकिएको थिएन। त्यसैले करिब एक महिनाअघि मात्रै भैसेंमा होम स्टे सञ्चालनमा ल्याइएको छ। हाम्रो बास यस पटक त्यहीँ नै भयो।
भोजराज आचार्यले संचालन गरेको होमस्टेमा ‘लोकल’ स्वादको अवसर जुट्यो। शहरी भाषामा ‘अर्गानिक’।
काठमाडौंबाट मुडेसम्म सडक पक्की छ। मुडेबाट ओरालो लागेपछि ‘अफ रोड’। त्यसैले सडक निर्माणको कार्यका लागि पहल सुरु भएको छ। अहिले मुडेबाट भैसेंसम्म पुग्न करिब दुई घण्टा लाग्छ गाडीमा। त्यहाँबाट कालापानी पुग्न त्यस्तै साढे १ घण्टा। त्यसैले भैसेंलाई अस्थायी बेस क्याम्पका रुपमा विकास गर्ने योजना बनाएका रहेछन्।
‘यहाँको मुख्य समस्या भनेकै बस्ने ठाउँ छैन। पर्यटक आउन चाहन्छन्। तर बस्ने ठाउँ छैन। अब भैसेंमा होमस्टे सुरु भयो। अरु पनि खोलिएला। पर्यटकलाई सुविधा हुन्छ,’ वडा अध्यक्ष उप्रेतीले भने।
स्थायी बेस क्याम्प बनाउने भनिएको कालापानीमा अहिले काठले बनेको एउटा चिया पसलबाहेक अरु संरचना संचालनमा आएको छैन। कालापानीमा एउटा सामुदायिक भवन र शौचालय बनाउने काम सकिएको छ। यसको संचालनका लागि प्रक्रिया सुरु भइसकेको छ। ४ करोडको लगानी सूचना केन्द्र बनाउने योजना पनि रहेछ।
कालापानीमा नै होमस्टे व्यवसाय संचालनका लागि गाउँपालिकाले घडेरी बिक्री गर्ने योजना समेत बनाएको छ। हाललाई ८ वटा होटल सहितको परियोजना तयार गरिएको छ।
यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका गर्दै पर्यटकहरूलाई आकर्षित गर्न जंगल सफारी, हाइकिङ र साइकिलिङ रुट, रक क्लाइम्बिङको योजना समेत बनाइएको रहेछ।
लुकेर बसेको यो ‘हब’ लाई जगमग बनाउन भएका प्रयासहरूले पक्कै पर्यटकलाई आकर्षित गर्नेमा दुईमत छैन।
माथि डाँडामा पुगेर फर्कँदै गर्दा हिउँ अड्याएर उभिएका थुम्काहरूको तस्विर सम्झिएँ। भलै यसपटक आफूले त्यो दृश्य प्रत्यक्ष देख्न पाइँन। त्यो मौसम पक्कै आउनेछ जब शैलुङका थुम्काहरू पुन: सेताम्मे हुनेछन्। त्यो समय पक्कै आउनेछ जब म हिउँ छिचोल्दै अहिले ओर्लिरहेको बाटो उकालो लाग्नेछु। टुप्पोमा पुगेर शैलुङको फरक रुप हेर्नेछु।
हिउँको च्यादरले ढाकिँदा सैलुङ कस्तो देखिन्छ? एक वर्ष अघिको नियात्रा पढ्न क्लिक गर्नुस्