PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीमाथि हदैसम्म प्रहार गर्ने रणनीतिमा प्रचण्ड, आन्दोलनलाई 'क्लिक' गर्न यस्ता छन् 'ट्रिक'



प्रकाश भण्डारी

ओलीमाथि हदैसम्म प्रहार गर्ने रणनीतिमा प्रचण्ड, आन्दोलनलाई 'क्लिक' गर्न यस्ता छन् 'ट्रिक'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्केलगतै थप आक्रामक देखिन थालेका छन्। पत्नी सीताको उपचारका लागि पुस २० मा भारत लागेका उनी ५ दिनमै पत्नीलाई भारतमै छोडेर नेपाल फर्केका थिए। प्रचण्ड भारत रहेक बेला उनी नेतृत्वको नेकपा लगभग शिथिल देखिन्थ्यो।

यसको कारण पुस ५ को संसद बिघटनपछि प्रधानमन्त्री ओलीमाथि जाइलाग्ने रणनीतिमा रहेका प्रचण्ड माधव नेपाल पहिलो चरणको आन्दोलनपछि भने आन्तरिक छलफलमै व्यस्त रहेकोले होला। तर, प्रचण्डको फिर्तासँगै यो समूह ओलीमाथि हदै सम्मको प्रहार गर्ने तयारीमा जुटेको छ।

त्यसका लागि प्रचण्ड नेपालले देश दौडाह पनि शुरु गरेका छन् भने नेता कार्यकर्तालाई तताउन दैनिक भेला तथा सभाको आयोजना गरिरहेका छन्। ओलीबिरुद्धको कदममा देश होमिसकेको र आन्दोलनलाई आफूलाई 'क्लिक'मात्र गर्नुपर्ने प्रचण्डको विश्लेषण छ। उनले आइतवार अनेरास्ववियुको उपत्यकास्तरीय भेलामा अब स्विच दबाउनमात्र बाँकी रहेको भएको बताएका थिए।

प्रचण्डले आफू निकट नेता र सार्वजनिक मञ्चमा बताएअुसार आन्दोलनलाई क्लिक गर्ने ट्रिक यस्ता छन्:

मांसाहारी आन्दोलन!

प्रचण्ड माहोल अनुसारको अभिव्यक्ति दिन सिपालु देखिन्छन्। आफूमाथि अफ्ट्यारो पर्दा उनी त्यसलाई हतियार नै बनाउँछन्। प्रचण्डले आइतवार प्रज्ञा प्रतिष्ठानमा आफ्नो त्यही शैलीको उपयोग गरे। युवा विद्यार्थी देखेर उत्साहित उनले ओलीमाथि जाइलाग्न अपिल नै गरे। उनी कतिसम्म आक्रामक देखिए भने आफूलाई प्रहरीको डण्डा खान मन लागेको अभिव्यक्ति दिन भ्याए। 'किन किन मलाई टाउको चिलाएर हो कि कुन्नी। किन हो यो पटक साच्चै टाउको फुटाउन मन लागेको छ,' आइतवार  अनेरास्ववियुलाई सम्बोधन गर्दै उनले भने। त्यही दिन बुद्दनगरमा युवासंघको बैठककलाई सम्बोधन गरेका प्रचण्डले ओलीमाथि मेजर अप्रेसन चलिरहेको अभिव्यक्ति दिए। ओलीसँगको संगतले आफ्नो समूहमा पनि संक्रमण भएको र त्यसको अप्रेसनपछि गरिने उनको भनाई थियो।

सोमवार महिला संघको भेलामा पनि प्रचण्ड आक्रामक देखिए। उनले ओलीमाथि विजय प्राप्त गर्न कम्तिमा दुई महिना सशक्त आन्दोलन गर्नुपर्ने बताए। हडतालसम्मका आन्दोलनका कार्यक्रमको तयारी भइरहेको प्रचण्डको भनाई छ।

जनअदालतमा फैसला

प्रचण्ड नेपाल समूह सार्वजनिक रुपमा अदालत र निर्वाचन आयोगप्रति भरोसा भएको दाबी गरिरहेको छ। तर यो समूह भित्रभित्रै आफ्नो पक्षमा फैसला नआउने हो कि भन्ने आशंका पनि बढ्दो छ। ओली समूहका नेताले संवैधानिक निकायमा सेटिङ भएको अभिब्यक्ति दिएको भन्दै प्रचण्डले आक्रोश ब्यक्त गरेका थिए। 'अदालत र निर्वाचन आयोगप्रति हाम्रो भरोसा छ। तर, केपीका मान्छेले सेटिङ भन्छन्। के हो यो सेटिङ? यसमा त शंका गर्न पाइयो नि,' मंगलवार प्रज्ञा प्रतिष्ठानमा प्रचण्डले भने। उनले आन्दोलनमार्फत अदालतभन्दा अघि नै जनअदालतमा फैसला गर्ने बताएका छन्।

सडकमा आन्दोलनको आँधीहुरी ल्याउँदा अदालतले जनअपेक्षा अनुसार आफ्नो पक्षम फैसला गर्ने प्रचण्डको विश्लेषण छ। निर्वाचन आयोगलाई पनि यो समूहले आफ्नो पक्षमा फैसला गर्ने वातावरण बनाइरहेको बताएको छ। 'संवैधानिक निकायलाई हाम्रो पक्षमा फैसला गर भन्न मिलेन। बरु त्यसको वातावरण बनाउने काम हाम्रो हो। जनताको कुरा सुनाउने हो,' प्रचण्डले गत आइतवार युवासंघको कार्यक्रममा भनेका छन्।

ओलीको भविष्यवाणी

प्रचण्डले आन्दोलनको महोल बनाउन के सम्मको जुक्ति लाइरहेका छन् भने उनले केपी ओलीको भविष्यवाणीसमेत गरेका छन्। कार्यकर्ताको मनोबल बढाउन ओलीसँगको युद्धमा विजय प्राप्त नै गरिसकेको भन्दै उनी कार्यकर्तालाई हौस्याउँछन्। पुस ५ पछि ओलीसँग केही नभएको चिज अन्तै भएको प्रचण्डले मंगलवार प्रज्ञा प्रतिष्ठानमा बताए। धेरैमा दुई महिना कठोर आन्दोलन गर्नुपर्ने उनको विश्लेषण छ।

राजनीतिमा आफू नै किङ्मेकर भएको दाबी गर्ने प्रचण्डले कार्यकर्तालाई आन्दोलनमा होमिन सम्भव भएसम्मका उपाय लगाएका छन्। काठमाडौंका दैनिकजसो भेला तथा सम्मेलनमा उनी सम्बोधन गरिरहेका छन्।

हडतालसम्मको तयारी

यो समूहका नेताहरुका अनुसार अदालत र निर्वाचन आयोगको फैसला अफ्ना पक्षमा नआए प्रचण्ड नेपालले आम हडतालको घोषणा गर्ने छन्। संघर्ष समितिका सदस्य गणेश साहले अहिलेको आन्दोलन माहोल बनाउन र अदालत र निर्वाचन आयोगलाई घचघच्याउन भएको बताए। 'सबै कुराको विचार हुँदै छ। संयुक्त मोर्चाको पहल भइरहेको छ। अब सरकारको कदमलाई अन्तिमसम्म संघर्ष गर्न जस्तोसुकै आन्दोलनको घोषणा हुन सक्छ,' उनले भने।

ओलीलाई साथ दिने नेतामाथि प्रहार

प्रचण्ड विरुद्धका गतिविधि गर्न ओलीले पूर्व माओवादीलाई हतियार बनाएका छन्। युद्धका बेला ढाडमा टेकी टाउकोमा हान्ने रणनीति अपनाएका प्रचण्डलाई ओलीले हाल त्यही शैलीमा जवाफ दिन चाहिरहेका छन्।

प्रचण्डका पूर्व सहकर्मीलाई प्रचण्डविरुद्ध आक्रमण गर्न लगाउनु ओलीको रणनीति हो।

उनीहरुका कारण अन्दोलन कमजोर हुनसक्ने आँकलन गरेका प्रचण्डले पूर्व माओवादीका नेताको कित्ता क्लिएर भएसँगै उनीविरुद्ध अभिव्यक्ति दिन थालेका छन्। उनीहरुलाई प्रचण्डले जोगीको संज्ञा दिएका छन्।

विप्लवप्रति नरम

आफूलाई राजनीतिको केन्द्रमा राख्न चाहने प्रचण्डले ओलीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेकपालाई राजनीतिक बन्देज लगाउँदा पनि विप्लवको बलोचना गरेनन्। बरु उनीहरुका माग सम्बोधन गर्नुपर्ने आवाज उठाए। विप्लवसँग निकट भएर आफूलाई धोका दिएको ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा उल्लेख छ।

प्रचण्डले विप्लवबारे खुलेर केही नबोलेको भए पनि उनले सबै राजनीतिक शक्तिसँग कुरा भइरहेको बताएका छन्। जुन रणनीति ओलीलाई कमजोर पार्ने र आन्दोलनलाई आन्दोनलाई सशक्त बनाउने अन्तर्गतको भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell