PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीको 'सकिङ स्टेप'बारे माधव कुमार नेपाल : पहिले मलाई जेल ठोक्ने, दोस्रोमा प्रचण्डलाई



पहिलोपोस्ट

ओलीको 'सकिङ स्टेप'बारे माधव कुमार नेपाल : पहिले मलाई जेल ठोक्ने, दोस्रोमा प्रचण्डलाई
फाइल फोटो

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भाव लिएर अगाडि बढिरहेको बताएका छन्। ओलीका कदमलाई चुनौती दिने व्यक्तिलाई सत्रुको व्यवहार हुने गरेको उनले सुनाए।

आज प्रचण्ड-नेपाल पक्षका नेताहरुले पत्रकारहरुसँग छलफल गरेका थिए जहाँ उनले नेकपा एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार खराब बाटोतिर पुगेको बताए। प्रधानमन्त्री ओलीले 'सकिङ स्टेप' चाल्ने बताएको उनले सुनाए। 'सकिङ स्टेप चाल्छु भन्नुभएको थियो। पहिलो चरणमा मलाई जेल ठोक्ने दोस्रोमा प्रचण्डलाई,' नेता नेपालले भने, 'मलाई ललिता निवास प्रकरणमा थुन्ने बताउनुभएको थियो।'

नेता नेपालले ओलीको त्यस्तो अभिव्यक्तिपछि आफूले चुनौती दिएको पनि सुनाए। 'मैले एक एक केसमा जान्छु भनेँ। मैले चुनौती दिएपछि चाहिँ भनेकै छैन भन्नुभयो,' नेपालले भने, 'चुनौती दिनेवित्तिकै अरिङ्गालको गोलामा हान्ने र साइबर सेना खटाउने गर्नुहुन्छ।'

प्रधानमन्त्रीका हैसियतमा ओलीले गलत कदम लिँदै जाने र त्यसको जिम्मेवारी पार्टीले लिइरहनुपर्ने अवस्था सिर्जना भएको सुनाए। 'सरकारमा हुने नेकपा, डिफेन्स गर्नपर्ने नेकपाले अनि काम चाहिँ मनपरी गर्ने,' नेपालले भने, 'मैले त्यसैँ संसदमा देश डुब्न लाग्यो माझी बोलाइदेउ... त्यसै भनेको होइन।'

संसदको त्यही बोलीपछि ओलीले नेपाललाई तारो बनाएको उनको भनाइ थियो। पार्टीका गतिविधि अस्पताल र ओली निवास बालुवाटारमा केन्द्रित गरेर एकाधीकारवादी व्यवहार गरेकाले त्यहाँ आफूले जान अस्वीकार गरेको पनि नेता नेपालले सुनाए।

'तल्लो स्तरमा ठेट्नो केटो भन्दा कति बिझ्यो होला? बैंकमा काम गर्ने जागिरे भन्दा कति बिझ्यो होला?,' ओलीको शैलीको आलोचना गर्दै नेता नेपालले भने, 'अब यस्ता कुराको के जवाफ दिने? नदिइ पनि नहुने।'

पछिल्लो समय ‌ओलीकै शैलीमा प्रचण्ड-नेपाल समूहको बोल्ने शैली बनेको पत्रकारहरुको टिप्पणीलाई स्वीकार्दै उनले अति भएपछि बोल्ने गरेको स्वीकारे। '२०६४ सालमा मैले प्रचण्डलाई एकता गरौं भनेर प्रस्ताव गरेको हो। पछि ओलीले एकता गर्ने भनेपछि म दंग। बल्ल ठाउँमा आए भनेजस्तो लागेको थियो,' उनले भने। तर, एकतालगत्तै झलनाथ खनालमाथि आक्रमण सुरु भएको सुनाए। त्यो क्रम लगातार जारी रहँदा अहिलेको स्थितिसम्म आइपुगेको उनको भनाइ थियो।

'पेलिँदा पेलिँदा अहिलेको अवस्था आइपुगेको हो। एकता भएको केही दिनबाटै यसको सुरुवात भएको हो। पछिल्लो समय छताछुल्ल हुन पुगेको हो,' उनले भने। ओलीले पार्टीको नीति, चुनावी घोषणापत्र लगायतका विषयलाई लत्याउँदै अगाडि बढेको सुनाए।

नेकपाको यो समूहको आन्दोलनले गति लिन नसकेको सन्दर्भमा सोधिएको प्रश्नमा नेता नेपालले २०६२/६३ को आन्दोलन अघिको सन्दर्भ उठाए। 'त्यतिखेर आन्दोलनमा हामी उत्रिँदा मलाई अमेरिकी राजदूत मोरियार्टी र भारतीय नेता प्रणव मुखर्जीले पनि 'पिपुल आर नट विहाइन्ड यू' भनेका थिए,' नेता नेपालले भने, '१२ बुँदे सहमति भएपछि तरङ्गको अवस्था सिर्जना भयो।'

पत्रकारहरुले २०६२/६३ को आन्दोलनका क्रममा नेताहरुले अन्तिम पटक भन्दै साथ मागेको स्मरण गराएका थिए। नेताहरुले सच्चिने बताए पनि नसच्चिएको विषय पत्रकारले उठाएका थिए। त्यसमा नेता नेपालले आत्मालोचनासहित जनतामा जान आफू तयार भएको बताए। 'जनतामा सबै नेता एकै ड्याङका मुला हुन् भन्ने छ। म आत्मालोचना सहित जान तयार छु। हामी जनताको अपेक्षा अनुसार नै चल्नुपर्छ,' नेता नेपालले भने।

सत्ता लोलुपताका कारण विरोध गरेको भन्दै प्रचार भएकोमा उनको ध्यान केन्द्रित थियो। कार्यक्रममा पुष्पकमल दाहालले ब्लुप्रिन्ट र स्वेतपत्रसहित आन्दोलनमा उत्रिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell