PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

खुल्लामञ्च भएको भए राजधानी अस्तव्यस्त हुँदैन थियो कि !



सहयोग रञ्जित

खुल्लामञ्च भएको भए राजधानी अस्तव्यस्त हुँदैन थियो कि !

कुनै समय थियो जब खुल्लामञ्चमा भाषण गुञ्जिन्थे तब नजिकै रहेको राजदरबारदेखि सिंहदरबार तर्सिन्थे। खुल्लामञ्चमा उभिएर गरिने भाषणका शब्द शब्दले आउने दिनको संकेत गर्थ्यो। राजालाई चुनौती दिने देखि गणतन्त्र ल्‍याउन यही खुल्लामञ्च नेताहरुको सहारा भए। लोकतन्त्र गणतन्त्र स्थापना गर्न यही खुल्लामञ्च केन्द्र बनेको थियो राजनीतिक दलहरुको।

तर नेतालाई नेता बनाउने खुल्लामञ्चलाई सत्तामा पुगेका 'नयाँ राजा'हरुले बिर्सिए। खुल्लामञ्चलाई ठेकेदारको हातमा सम्पियो। पुरानो बसपार्कमा बहुप्रयोजनको भ्यू टावर बनाउने भन्दै वर्तमान राजनीतिक नेतृत्वको उद्गमस्थल खुल्लमञ्चलाई साँघुरो बनाइयो। खुल्लामञ्चको आधा भागमा बसपार्क सारियो। भूकम्पपछि बाँकी रहेको आधा भागमा पुनर्निर्माणका सामान भण्डारण गर्न दिनुका साथै पार्किङस्थल बनाउन काठमाडौं महानगरले अनुमति दियो। त्यहाँ सभाहरु हुन बन्द भए। जसकारण त्यहाँहरु सभा, भेलाहरु माइतीघर 'सिफ्ट' भए। जनमत अभिव्यक्त गर्ने र अधिकार खोज्न सडक मै ओर्लिन बाध्य भए नागरिकहरु।

एक वर्षअघि खुल्लामञ्चलाई खुल्ला बनाउने र त्यही नै राजनीतिक अभियान पुन: संचालन गर्ने प्रयास भएका थिए। बृहत टुंडिखेल अन्तर्गत खुल्लामञ्चलाई खुल्ला बनाउन सुरु भएको अभियानलाई खासै महत्व दिइएन। माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्न तत्पर देखिएको सरकार 'ओपन स्पेस' खुल्लामञ्चलाई ब्युताउने पक्षमा देखिएन। बरु जनतालाई प्रदर्शन गर्न बाट रोक्न नै उद्दत रह्यो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले देशभर आन्दोलनको लहर छ। दैनिक रुपमा काठमाडौंका सडकमा प्रदर्शन भइरहेका छन्। माइतीघरमा दिनहुँजसो प्रदर्शन भइरहेका छन्। पार्टी प्यालेसदेखि सभागृहमा नेताहरु पुगिरहेका छन्। आज भने आन्दोलनको 'ट्रेलर' भन्दै काठमाडौंलाई ठप्प बनाउने प्रयास गर्‍यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले।

प्रतिनिधिसभा विघटनविरुद्ध बीच सडकमा मञ्च बनाएर विरोधसभा गरेका कारण मुख्य सडकसँगै भित्री सडक दिनभर अस्तव्यस्त बन्यो। यसरी बीच सडकमा नै मञ्च बनाएर घण्टौं सभा गरिरहँदा त्यही 'ओपन स्पेस' खुल्लामञ्च भने सुनसान रह्यो।

आधा भागमा बनाइएको बसपार्कमा यात्रुहरु अलपत्र देखिए। मञ्च रहेको स्थानमा केही सवारी साधन पार्किङमा थिए। कोही भने सभा सकिएपछि गन्तव्यमा पुग्न गाडी कुर्दै थिए।

कुनै बेला यही खुल्लामञ्ज नेताहरुको सहारा थियो। अहिले बेसहारा बनेको खुल्लामञ्चलाई सोध्ने कोही भएन। आज त्यही खुल्लामञ्च भएको भए यसरी सडक नै अस्तव्यस्त बनाउनु पर्दैन थियो होला भनेर सायदै सडकमै मञ्चमा उभिएर भाषण गरेका नेताहरुले सोचे होलान्। सायदै त्यहाँ उपस्थित कसैले खुल्लामञ्चमा हुने गरेका उद्घोषहरु याद गरे होलान्।

हुनत: आन्दोलन र प्रदर्शनहरुमा सडक सामान्यता अवरुद्ध हुन्छन् नै। प्रतिनिधिसभा विघटनपछि १ महिनता देखि भइरहेको प्रदर्शनका कारण सडक अवरुद्ध नभएका होइनन्। तर, आन्दोलनकारीहरुले आज मुख्य सडक नै कब्जा गरेपछि काठमाडौं ठप्प बन्न पुग्यो। खुल्लामञ्च भएको भए सायदै यसरी सडक अवरुद्ध गरेर प्रदर्शन गर्न आवश्यक हुन्थ्यो होला। 

केही वर्ष अघिको कुरा हो। राजनीतिक परिवर्तनको मागको गर्दै यस्ता भेला खुल्लामञ्चमा हुन्थे। राजालाई हुँकार देखाउने देखि गणतन्त्र स्थापना गर्ने बेलासम्म नेताहरु खुल्लामञ्चमा पुग्थे र भाषण गर्थे। तर नेताहरुले आफै बोल्ने ठाउँ मास्नबाट रोक्न नसकेपछि अहिले पार्टी प्यालेसदेखि सभागृहको कोठा खोज्न हिँड्नुपरेको छ। खुल्लामञ्चलाई यथावत् राख्न सकेको भए नेताहरुलाई भाषण गर्न पार्टी प्यालेस खोज्न नि पर्दैन थियो।

आज सरकारलाई आन्दोलनको पूरै फिल्म देखाउन उद्घोष गर्न भन्दै सडकको बीचमा मञ्च बनाएर प्रचण्ड नेपाल समूह शक्ति प्रदर्शनमा उत्रियो। जसको मारमा परे सर्वसाधरण। यी नेताहरुले त्यही खुल्लामञ्चलाई बचाउन प्रयास गरेको भए यसरी काठमाडौंलाई आज अस्तव्यस्त बनाउन पर्दैन थियो कि !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell