PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको नजरमा अब नयाँ प्रधानमन्त्री को?



नेत्र तामाङ

देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको नजरमा अब नयाँ प्रधानमन्त्री को?

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको 'ह्याप्पी लुक्स' दुर्लभ मानिन्छ। गएको प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा यस्तै एउटा दुर्लभ दृश्य कैलालीमा देखिएको थियो।

चुनावी सभाकै क्रममा २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँग उनी यसरी खुले कि, उपस्थित पत्रकारहरुमेत अचम्ममा परे।

त्यसको ठीक एकदिन अघि गोरखा पुगेका तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले ठोकुवा गरेका थिए - देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन्। प्रधानमन्त्री रहेका देउवालाई पत्रकारहरुले ओलीको भनाइलाई रेफरेन्स लिँदै प्रश्न गरेपछि सुरुमा त झोक्किएका थिए उनी।  

तर त्यहीँ बोल्दै जाँदा सात पटक प्रधानमन्त्री हुने सन्दर्भ जोड्दा भने ह्याप्पी लुक्समा उनको अवतरण भयो। 'म अन्तिम प्रधानमन्त्री त भन्छु मैले। ज्योतिषीले भन्या भएर ७ पटक बन्नुहुन्छ भन्या छ मलाई अहिले,' यति भन्दै गर्दा देउवा तनक्क तन्किँदा बिछट्टै हँसिला देखिए। देउवाको हाँसोमा पत्रकारको पनि साथ रह्यो।

हेर्नुस् त्यतिखेरको दृष्य :

देउवाको उक्त दाबीले तात्तातो चर्चा पायो। कतिले निर्वाचनपछि उनी नै प्रधानमन्त्री बन्ने लख काटे पनि। तर, राजनीतिक कोर्स उनले भनेजति सजिलो किन थियो र? नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गजबको तालमेल भयो र उनीहरु निर्वाचनमा गए। र, चिर्वाचन परिणाममा कायापलट भयो। नराम्ररी हार्‍यो काँग्रेस, देउवा भने बालबाल बचे।

पाँचौ पटक प्रधानमन्त्री बन्ने देउवाको आकंक्षा धुमिल बन्यो। चुनावी हारको जिम्मेवारी एक्लै नलिने बताएपछि उनीमाथि काँग्रेसी नेताहरु नै खनिन थाले। उनी प्रधानमन्त्री नबन्ने निश्चित भएपछि बजारमा चर्चा चल्यो - देउवाको के दोष? यो त ज्योतिषको पो दोष। कस्ता ज्योतिष रहेछन् सात पटक प्रधानमन्त्री बन्छन् भन्दिने? यस्तै प्रश्नका बिच खोजी भयो भविष्यवाणी गर्ने ज्योतिषको।

ज्योतिषको नाम देउवाले पनि खुलाएका थिएनन्। चौतर्फी खोजी भएपछि अन्तत : ज्योतिषको नाम सार्वजनिक भयो। उनी रहेछन् दक्षिण एसियाली महासंघ नेपालका महासचिवसमेत रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल।

'त्यस समय मलाई निकै तनाव भएको थियो। मैले त्यतिबेला सात पटक प्रधानमन्त्री बन्नुहुन्छ। त्यस्तै योग देखिएको छ भनेको थिएँ। तर, त्यहीबेला प्रधानमन्त्री हुन्छ भनेर दाबी गरेको थिइनँ,' ज्योतिष रिजालले पहिलोपोस्टसँग भने, 'तर, ज्योतिष साथीहरुले पनि मलाई फोनै गरेर यस्तो भविष्यवाणी गरेकोमा दुखेसो पोखे।'

+++

देश अहिले आन्दोलित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै काँग्रेस सभापति देउवा अहिले चर्चामा छन्। प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भने पनि देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा जोडबल लगाएका छैनन्। उनी हरेक सभामा पुग्दा एउटै बोली हुन्छ : अदालतलाई धम्क्याउन हुन्न। सर्वोच्चले जे निर्णय गर्छ त्यो काँग्रेसलाई मान्य हुनेछ।

उनको बोलीमा लोली मिलाउने काँग्रेस नेताहरु पनि छन्। उनको भनाई काट्ने नेताहरु पनि काँग्रेसमै छन्। आशंका गर्ने नेताहरु पनि। आशंका यो छ कि : देउवा ओलीसँग साँठगाँठमा छन्। केही सीप नलागे ओली देउवालाई सत्ताको बागडोर सुम्पने तयारीमा छन्।

यस्तो आशंकाकाबीच सरकारको विरोधमा सडकमा ओर्लेका नेताहरुले देउवा नै अबको प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन्। माघ २ गते गोरखा पुगेका जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री देउवा नै हुने दाबी पेश गरे

'ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्छ। दण्डितै गर्नुपर्छ। यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्,’ पत्रकार भेटघाटमा उनले भने, ‘अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नुभन्नु सरासर पदलोलुपता हुन्छ। त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली काँग्रेसको आउँछ। काँग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदमा सदस्य हुनुहुन्न। त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ।’

त्यसैको भोलिपल्ट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवा फेरि प्रधानमन्त्री हुन 'बेर नलाग्ने' टिप्पणी गरे। प्रतिनिधि सभा पुनर्स्थापना गर्न काँग्रेसले जोड दिनुपर्ने लाइनका वरिष्ठ नेता पौडेलले काँग्रेसको भरतपुर महानगरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाको पुर्पुरो बलियो रहेको संकेत गरे।

प्रतिनिधिसभा पुनर्स्थापना भएर केही नबिग्रने पौडेलको भनाई थियो। 'प्रतिनिधिसभा आए पनि केही नोक्सान छैन। उनीहरु दुई फ्याक भएका छन्। हामी त निर्णायक नै हो। काँग्रेस जता लाग्छ त्यतै निर्णय हुन्छ,' माघ ३ गते पौडेलले भने, 'हाम्रो सभापतिको तालुमा आलु फल्यो। फेरि प्रधानमन्त्री हुन बेर छैन।'

यता सत्ता छोडी सडक रोजेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि अबको प्रधानमन्त्री देउवालाई बनाउन तयार रहेको प्रस्तावसहित कहिले बुढानीलकण्ठ त कहिले सानेपा धाएकै छन्। यही विषयमा प्रस्ट पार्दै माघ ६ गते प्राइम टिभीको कार्यक्रम 'जनता जान्न चाहन्छन्'मा प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन समेत आफूलाई अफ्ठ्यारो नपर्ने बताएका छन्। ‘संसद पुनर्स्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन,’ उनले भनेका छन्।

+++

यसरी देउवालाई अहिले चौतर्फी रुपमा 'प्रधानमन्त्री अफर' आएको छ। के यसपटक पनि प्रधानमन्त्री बन्दैछन् त देउवा? सात पटक प्रधानमन्त्री बन्छन् भनी भविष्यवाणी गरेका भविष्यवेत्तासँग यसबारे किन नसोध्ने त? यही प्रश्न लिएर रिजालको खोजी सुरु भयो।

यसो त रिजाल पछिल्लोपटक प्रधानमन्त्री ओलीको कडा निगरानीमा रहेको समाचार पनि सार्वजनिक भएको थियो। केटीएमदैनिक अनलाइनमा उनीमाथि नेकपाको निगरानी रहेको खबर प्रकाशित भएको थियो।

रिजाललाई भेट्न केही सम्पर्क सुत्र लगाउनुपर्‍यो र केही दिनको प्रयासपछि भेट भयो उनीसँग। पशुपतिको एक आश्रममा भेटपछि देउवाको भविष्यवाणी गर्दा उनले एउटा शर्त भने तेर्स्याए, 'तोडमरोड नगरी लेख्‍ने भएमात्र यसबारेमा कुरा गर्ने हो।'

त्यसमा प्रतिवद्धता जनाएपछि भने निर्धक्क देखिए उनी। अनि भने, 'हो, अहिले पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुने योग देखिन्छ।' यसो भनिरहँदा ज्योतिष रिजाल विश्वस्त देखिए।

'कसरी भयो त यस्तो योग?' हाम्रो प्रश्न।

ज्योतिष रिजालको जवाफ थियो, 'ग्रहदशा बलियो छ देउवाको। हामीले ग्रह, राशी र नक्षत्रबाट क्यालकुलेसन गर्ने हो। यसले स्पष्ट देखाउँछ। चैतसम्ममा देउवा प्रधानमन्त्री बन्नुहुने योग छ।'

यो रह्यो ज्योतिषको कुरा। देउवाले पक्कै पत्याइहाल्नेछन्। कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली त स्वर्ग र नर्कको कुरा गर्ने मुलुकमा काँग्रेसका सभापतिले ज्योतिषीको कुरा नपत्याउन किन?

ज्योतिष रिजाल राजनीतिक गतिविधिमा पूरै अपडेट रहेछन्।  उनलाई हामीले राजनीतिक परिदृश्य व्याख्या गर्न भ्याए। अहिले प्रतिनिधिसभा भंग छ। प्रतिनिधिसभा पुनर्स्थापना नेताहरुले बोलेकै आधारमा भए पनि देउवा प्रधानमन्त्री होलान्। तर, चुनावमा गए यसै भन्न सकिन्छ र? किन कि चुनाव त वैशाखमामात्र हुने भनेर समय तोकिएको छ। चैतमा नै प्रधानमन्त्री बन्छन् भन्ने आधार त चाहियो।

चुनावको विषय सुन्नसाथ रिजालले बिचैमा भने, 'चुनाव हुने योग नै छैन। बृहस्पती तल परेको बेला यो सम्भव नै छैन।'

बृहस्पती गुरु र शनि चेला भएको विश्लेषण गर्दै ज्योतिष रिजालले गुरु मुनि परेको र चेला माथि परेको बेला चुनावी कार्यक्रम हुनै नसक्ने ठोकुवा गरे।

'त्यसो भए कसरी होलान् त देउवा प्रधानमन्त्री? यो सम्भावनै देखिँदैन!' हाम्रो दावी।

यसबारे उनले थप प्रस्ट्याए, '२०७७ माघ २८ र २९ मा राजनीतिक उथलपुथल हुन्छ भनेर एक वर्ष अघि नै मैले भनेको थिएँ। अब मेरो ज्योतिष विद्याले यही भन्छ। सम्मानित सर्वोच्च अदालतबाट नै सायद यो भित्रमा केही निर्णय आइसक्छ र यी दुई मितिबाट नै नयाँ प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्ला।'

शनि र वृहस्पती त ग्रह नक्षत्रको कुरा भए।

राशीमा पनि देउवा बलियो भएको उनको तर्क थियो।

उनका अनुसार देउवाको कुम्भ राशीका हुन्। यो राशि ज्यादै बलवान भएर आएको उनले सुनाए। ओली मकर राशीका हुन्। जुन राशी अहिले कमजोर हुँदै आएको उनको दावी छ।

यतिमात्र होइन, देउवालाई आरजु राणाको राशीको समेत साथ रहेको दाबी ज्योतिष रिजालले पेश गरे।

'देउवालाई मिसेसको ग्रहले पनि केही सपोर्ट गर्छ। आरजु मेष राशीकी हुन्।'

देउवाको प्रधानमन्त्री हुने योग कात्तिकबाट शुरु भएर चैतको नवरात्रीसम्म रहेको भन्दै उनले टाइलाइन नै पेश गरे।

'कातिक १ बाट शुरु भयो योग। चैतको नवरात्रीभित्र देशले नयाँ प्रधानमन्त्री पाउने देखिन्छ,' उनी थप ढुक्क देखिए। र, देउवा प्रधानमन्त्री भएमा देशलाई राम्रो हुने तर्क पनि उनले सुनाए।

+++

त्यसो भए नेकपा किन फुट्यो त? ज्योतिषीय दृष्टि के छ त यसमा?

यसपटक छत्रभंग योग परेकाले नेकपामा विपत्ती आइपरेको उनको दाबी थियो। यस वर्षको असोजको २७/२८ तिरबाट विश्वभर यो योग परेको उनले बताए।

'माघमा मकर राशी पर्छ। यही राशीमा छ वटा ग्रह पर्‍यो। यसले छत्र भंग योग बनाउँछ,' उनले थपे, 'शनिको साढे सात लागिरहेको छ ओलीलाई। ओली र प्रचण्डको राशी योग पनि मिल्दैन। प्रचण्डको मिथुन र ओलीको मकर राशी भएकोले यस्तो भएको हो।'

त्यसो त उनले राजनीतिक किचलो २०७९ सम्मै जारी रहने बताए। भने, '२०७९ मा मात्र देशले निकास पाउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell