PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आक्रामक भाषणसँगै तातेको टंगाल : प्रतिगमनविरुद्ध युद्ध मैदानको कमाण्डर झै देखिए नारायण वाग्ले

आक्रामक भाषणसँगै तातेको टंगाल : प्रतिगमनविरुद्ध युद्ध मैदानको कमाण्डर झै देखिए नारायण वाग्ले

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं :  निधारमा कमलपोखरीको कालो माटो र 'कू' लेखिएको कालै झन्डा। 'असंवैधानिक' लेखिएको मास्क मुखमा। हातहातमा 'नारा' लेखिएको प्ले कार्ड। सुकाइएको कमलपोखरीबाट 'प्रधामन्त्री भन्नुहुन्छ, म देशद्रोही हुँ' भन्दै निस्किए पोलिटिकल लिटिरेसी फर वुमेन (पीएलडब्लु)का सदस्यहरु।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र कमलपोखरी पनि 'प्रतिगमन' को सिकार भएको भन्दै नागरिक अभियन्ताहरु सोमवार कमलपोखरीबाट बालुवाटारसम्म मार्चपासमा निस्किए। मार्चपासको क्रममा 'पीएलडब्लु' का सदस्यहरुले ओली सरकार र न्यायालयप्रति इंगित गर्दै 'फ्ल्यास मब' प्रदर्शन गरे।  अभियन्ताहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै मार्चपास गरेका थिए। नेपाली काँग्रेस, संघीय समाजवादी, विवेकशील साझाका युवाहरु समेत प्रदर्शनमा सहभागी हुनेक्रममा देखिए। यो भिडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रघुजी पन्त पनि देखिए। 

मार्चपासको एउटै उद्देश्य थियो - प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्नु। प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक सडकमा ओर्लिएको आवाज सुनाउनु।

तर, प्रहरीले मार्चपासलाई टंगाल हुँदै भाटभटेनीभन्दा अघि बढ्न दिएन। चेन बनाएर बसेका प्रहरीहरुले उनीहरुलाई अघि बढ्न नदिएपछि नागरिक अगुवाहरुले त्यहीँको पिपलको बोटलाई स्टेज बनाए। मार्चपास खबरदारी सभामा परिणत भयो। 'पीएलडब्लु' ले फेरि सत्तामा बसेर ओलीले जनताको सपनामाथि घात गरेको भन्दै 'फ्ल्यास मब' प्रदर्शन गरे।

अगुवाको टार्गेट बालुवाटार
नागरिक आन्दोलनलाई केही अगुवाहरुले सम्बोधन गर्ने तय भयो। प्रहरीले अघि बढ्न नदिएपछि वक्ताहरुको 'टार्गेट' मा पर्‍यो बालुवाटार।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले सत्ताले आफ्नै गल्तीका कारण नागरिकलाई बालुवाटारको गेट देखाउन समेत डराएको टिप्पणी गरिन्। सरकारले नै आफूहरुलाई सडकमा आउन बाध्य पारेको भन्दै उनले प्रहरीले बालुवाटारको गेट पनि हेर्न नदिएको भन्दै विरोध जनाइन्।

चारैतिर प्रहरीले घेरिएको आन्दोलनकारीलाई सम्बोधन गर्दै उनले प्रश्न गरिन्, ' हाम्रो चाहना संविधानको रक्षा होस् भन्ने थियो। प्रहरी यहाँ हाम्रो सुरक्षाको लागि आएको होइन। प्रहरी त बालुवाटारको गेटको पो रक्षा गर्दैछन्।'

उनको भाषणसँगै बज्यो गीत - 'एक युगमा एक दिन एकपटक आउँछ'। बालुवाटार जान नदिएपछि सडकमै बसेका युवाहरुलाई गीतले उत्साहित बनायो।

'श्री ७ ओली'

अन्सारीपछि बोल्न आए डा गोविन्द केसी। काठमाडौंलाई कंक्रिटको शहर बनाउन राज्य संयन्त्र नै लागेको भन्दै उनले प्रधानमन्त्री ओली प्रतिगमनको नाइके भएको आरोप लगाए। ओलीले देवत्व प्राप्त गरेको र जनतालाई रैती ठानिएको भन्दै उनले ओली तानाशाह नै भएको तर्क गरे।

सडक आन्दोलनबाट नै राणा, पंचायत र राजा हटेको भन्दै केसीले ओलीले सडकको आवाजलाई सुन्न नचाहेको बताए।  

जनताको रगत पसिना र ज्यान दिएर ल्याएको संविधान विरुद्ध काम गरेका ओली 'श्री ७ महाराजाधिराज ओली' बन्ने दिशातिर अघि बढेको उनको आरोप थियो। उनले सम्बोधनको क्रममा ओलीको 'तानाशाहको प्रवृत्ती' लाई 'बेइमानी' समेत भने।   

'अलि इमान्दार तानाशाह भए पनि हुन्थ्यो नि। तर, ओली बेइमानी तानाशाह भए,' उनले भने।

अहिले संविधानको रक्षा गर्ने दायित्व न्यायालयलाई आएको भन्दै सरकारले दवाव दिँदैमा प्रतिगमनलाई जनताले मान्यता नदिनेको उनको तर्क थियो।

'कत्रो महाराज?'

लेखक खगेन्द्र संग्रौला भने पत्रकार नारायण वाग्लेको भाषण र हातको हाउभाउ हेर्न आएका रहेछन्। नागरिक आन्दोलनलाई ऐक्यबद्धता जनाउने अर्को उद्देश्य रहेछ। यति भन्दाभन्दै उनले सम्बोधनमा ओलीको 'प्रतिगमन' विरुद्ध देशभर विरोध भइरहेको बताए।

अहिले देशभर खड्गप्रसाद शर्मा ओलीको चर्चा चलेको भन्दै भने, 'जसजसले खड्कप्रसाद शर्मा ओलीलाई सम्झिएका छन्। सबैले मुर्दावाद मात्रै भनिरहेका छन्। उनले कम्युनिस्टको आवरणमा शहीदको बलिदानलाई मुर्दावाद भनेकाले नागरिक सडकमा आउनुपरेको छ।'

बिचबिचमा आफ्नो माइक नचल्दा 'यो पनि षड्यन्त्र भएको हुनसक्ने अनुमान यहाँ उपस्थितले गरेको' भन्दै ठट्टा समेत गर्न भ्याए उनले।

नेपाली जनताले श्री ३ महाराज र श्री ५ महाराजको दासत्व अस्वीकार गरेको भन्दै उनले 'नाथे खड्गप्रसाद कत्रो  महाराज हो?' भन्दै प्रश्न समेत गरे।   

नेपाली जनताले ओलीको तानाशाही प्रवृत्तीलाई पनि अस्वीकार गर्ने उनको दाबी थियो।

त्यसपछि सम्बोधन गर्न आएका पत्रकार नारायण वाग्ले आक्रामक सुनिए। संग्रौलाले भने झै हात हल्लाउँदै सुरु भयो उनको भाषण। सँगै बसेका संग्रौला र अन्य अभियन्ता हाँस्दै उनका अभिव्यक्ति सुनिरहे।

'अब बालुवाटार जाउँ'

काठमाडौंको सभ्यताको माटो निधारमा पोतेर नागरिक आन्दोलनमा आइसकेको भन्दै बोल्न सुरु गरेका वाग्लेले सबै प्रतिगमनविरुद्ध आन्दोलन गर्ने बताए।

सबै जनआन्दोलनमा नागरिकहरु सडकमा ओर्लिन बाध्य पारिएको भन्दै अब बालुवाटारको प्रतिगमनविरुद्ध लड्ने उनले उद्घोष गरे।

बालुवाटरलाई आफ्नो निजी निवास बनाएर ओलीले त्यहीबाटै प्रतिगमन सुरु गरेको वाग्लेको आरोप थियो।

'बालुवाटरमा बसिरहेको हाम्रो जो साथी छन्। उनी सिंहदरबार जाँदैनन्। प्रधानमन्त्री जहिल्यै निजी निवासमा बस्छन् र त्यही बसेर स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई दर्शनभेट दिनलाई बाध्य बनाउँछन्। प्रमुख प्रतिपक्षको नेतालाई भाग शान्ति गर्न बोलाउँछन्। त्यसैले यो प्रतिगमन सम्भव भएको हो,' उनले भने।

प्रधानमन्त्रीले जनआन्दोलनलाई घात गरेर शासकीय शक्ति सन्तुलन खल्बल्याएर बालुवाटारलाई श्री ३ जंगबहादुरको जस्तो निजी निवास बनाउन चाहेको उनको आरोप थियो।

अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भइरहेको दाबी ओलीका पक्षधरहरुले गरिरहेको तर्कप्रति लक्षत गर्दै उनले भने, 'अविश्वास प्रस्ताव ल्याउँदैछ भनेर प्रतिनिधिसभा विघटन गरिदिने?'

विरोधीहरुले ओलीलाई खाली खुट्टा नै बालकोट हिँडाउनेवाला थियो भनेर ओली पक्षधरले बचाउ गर्दै गरेको प्रसंग उप्काउँदै वाग्लेले ओली बालकोट जान किन नहुने भन्दै प्रतिप्रश्न गरेका थिए।

'खाली खुट्टा हातमा चप्पल लिएर नेपाली जनताले प्रजातन्त्र ल्याए। ओली खाली खुट्टा हिँड्न नहुने?  राजा नारायणहितिबाट नागर्जुन जान हुने, ओली बालुवाटारबाट बालकोट फर्कन नहुने?,' वाग्लेको प्रश्न थियो।

ओली आज पशुपतिनाथ गएको प्रसंग जोड्दै पद जोगाउन पूजापाठ गर्दै हिँडेको वाग्लेले आरोप लगाए।

'बालुवाटारमा बसेकोले पहिला देशभर मन्दिर बनाउँछु भन्दै हिँडे। अहिले पूजा आरती गर्दै हिँड्दैछन्। संविधानमा धर्मनिरपेक्षता लेखिएको तर ओलीले त्यही संघियता र धर्मनिरपेक्षता खलबलाउन चाहेका हुन्।'

अनि भयो भिडन्त...

आक्रमक शैलीमा ओलीको अहमताको श्रीपेच फुस्काउन आफूहरु बालुवाटारमा आएको भन्दै वाग्लेले अब प्रहरीले रोके पनि अघि बढ्न आह्वान गरे। आज पत्रकार तथा लेखक वाग्ले बिद्रोही नेताको स्वरुपमा उत्रिएको देखियो। आफूहरु बालुवटार घेर्न आएको र गेटमा गएर जनप्रतिनिधिलाई भेट्ने भन्दै त्यहाँ उपस्थित सबैलाई फेरि आग्रह गरे, 'ओली मन्दिर मन्दिर जाउन्। हामी बालुवाटर घेर्न जाउँ।'

उनको आह्वान लगत्तै सडकमा बसेका सबै उठे र प्रहरीसँग धक्कामुक्की गर्दै बालुवाटार तिर लागे। प्रहरीले रोक्ने प्रयास गर्दागर्दै मुठभेड गर्दै अघि हिँडेका अभियन्ताहरुलाई प्रहरीले केही वरै रोक्यो। आन्दोलनकारीहरुले अघि बढ्ने प्रयास गर्दा प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गर्‍यो।

आन्दोलनका क्रममा ढुंगामुढाको प्रयास समेत भयो। अगुवाहरुले भने ढुंगामुढा गर्न खोज्ने युवाहरुलाई रोके। लाठीचार्जबाट आन्दोलनकारी र पत्रकारहरु पनि घाइते भए। घाइते आन्दोलनकारीलाई भिडबाट हटाउन रघुजी पन्तसहित अन्य अभियन्ता अग्रसर देखिए। प्रहरीले झडपको केही समयमा नै टंगाललाई खाली गरायो। 

तस्विरमा प्रदर्शन : टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

नागरिक आन्दोलनमा प्रहरीले दमन गरेपछि नागरिक अगुवाहरुले ओलीको शासनकालमा 'जनआन्दोलनको झझल्को' आएको प्रतिक्रिया दिए। माघको महिना शहीदको महिना भएको भन्दै नागरिक अभियानले अब शहीदलाई झुण्डाइएको र मारिएको ठाउँमा गएर ओलीको प्रतिगमनविरुद्ध आन्दोलन सुरु गर्ने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell