PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'एक भएर अघि बढे हामी जित्नेछौँ, विभाजित भए पतन निश्चित छ'



सहयोग रञ्जित

'एक भएर अघि बढे हामी जित्नेछौँ, विभाजित भए पतन निश्चित छ'

अनुहारमा मुस्कान। गलामा खादा र माला। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान र चीनको सीमामा रहेको 'माउन्ट केटू' आरोहण गरी फर्किएका पर्वतारोहीहरुलाई स्वागत गर्नेको भीड छ। चारैतिरबाट प्रशंसकले घेरिएका छन् कीर्तिमान बनाएर फर्किएका आरोही। प्रहरीको ब्यान्डले 'यो नेपाली शिर उचाली' धुन बजाउँदा माहोल उत्साहित छ।

आरोहणका लागि विश्वकै जोखिमपूर्ण मानिने ८ हजार ६११ मिटर अग्लो 'साभेज माउन्टेन- केटू' को आरोहण गरेपछि १० जना नेपाली टोलीको नाम र काम विश्वभर प्रचारप्रसार भयो। अन्तर्राष्ट्रिय मिडियामा नेपालीहरुको नाम गुञ्जियो। पाकिस्तानले त नेपाली आरोहीहरुलाई 'रोयल ट्रिटमेन्ट' नै दियो। १० जना आरोहीलाई केटूको बेस क्याम्पबाट पाकिस्तानी सेनाको हेलिकप्टरले सम्मानसहित श्रीघर पुर्‍याइएको थियो। कसैले पनि गर्न नसकेको काम गरेर फर्केका पर्वतारोहीहरुले पाकिस्तानमा 'हिरोज्' का रुपमा स्वागत गरियो। पाकिस्तानी राष्ट्रपति र सरकारका अन्य पदाधिकारीहरुले खुलेर उनीहरुको स्वागत र प्रशंसा गरे।

कारण - हिउँदको यो हिमाल चढ्न कसैले सकेका थिएनन्। सगरमाथा त अहिले पर्वतारोहीको 'जकशन' नै बनिसक्यो। तर, माउन्ट केटूलाई हिउँदमा आरोहण गर्नु मृत्युसम्मुख पुग्नु थियो। नेपाली पर्वतारोहीहरुले असाधरण र असम्भव मानिएको कामलाई सम्भव गरेर विश्वलाई देखाए, कयौँ प्रतिकूलताबीच। त्यसैले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा चढेको धेरै वर्षपछि नेपालीहरुको नाम विश्वका अखबारहरुमा छाए।

विदेशभर चर्चा भइरह्यो। पाकिस्तानमा पनि सम्मान र बधाईको आइरो आइरह्यो। नेपाल फेकिँदा के यस्तै सम्मान पाइएला त? आरोहीहरुलाई शंका थियो। सोमबार शंका र खुसीबीच विमानस्थल उत्रेका पर्वतारोहीहरुले न्यायो स्वागत पाए। सरकारको तर्फबाट विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्वतारोहीकोको स्वागत गरे।

निर्मल पूर्जा , मिङ्मा शेर्पा, मिङ्मा ग्यालजे शर्पा, मिङ्मा तेन्जिङ शेर्पा, दावा तेन्जिङ शेर्पा लगातका कीर्तिमानी पर्वतारोहीहरुलाई विमानस्थलबाट काठमाडौँ परिक्रमा गराइयो। चारैतिर मोटरसाइकल र प्रहरीले स्कर्टिङले घेरिएका आरोहीहरुले हात हल्लाउँदै सबैसँग खुसी साटासाट गरिरहेका थिए।

ठमेलमा पर्यटन व्यवसायीहरुको स्वागत ग्रहरण गरेपछि नेपाल पर्यटन बोर्डमा पर्वतारोहीहरुको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो। पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा गरिएको सम्मान कार्यक्रममा हल खचाखच भरिएको थियो। सबै पर्वतारोहीको अनुभव सुन्न आतुर थिए। उक्त कार्यक्रमपछि प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रममा पुग्न नि हतारो थियो। त्यसैले कार्यक्रमलाई निकै छोटो बनाउने प्रयास गरियो।

केही औपचारिक कार्यक्रमपछि आरोहीहरुबाट अनुभव सुनाउन आए निर्मल पूर्जा । सुरुमै उनले आज आफूले केही कठोर भएर बोल्नुपर्ने बाध्यता सुनाए। केटू आरोहणको नेतृत्व गरेका पूर्जाले पाकिस्तानमा पाएको स्वागतलाई सम्झे। नेपालमा समेत त्यस्तै स्वागत पाएकोमा खुसी व्यक्त गरे। सफलता, शुभकामना, उत्सव सबै एक ठाउँमा भएको भन्दै उनले राम्रो कुराको मात्र नभई आज केही 'क्रिटिकल कमेन्ट' गर्ने बताए।

केटू जाने यसपटक आफ्नो प्लान नभएको तर ४० भन्दा बढी अन्तर्राष्ट्रिय पर्वतारोहीहरुले केटू जाने तयारी गरिरहेको सुनेपछि आफू ब्याग बोकेर टोलीका साथ पाकिस्तान हिँडेको सुनाए।

भने, 'यो त रेस हो। हाम्रो देशमा ८ हजारभन्दा अग्लो ८ वटा हिमाल छन्। तर कुनै पनि हिमाल हाम्रो नाममा थिएनन्। हाम्रो शेर्पा दाजुभाइहरुलाई विदेशमा सबैले चिन्छ। ८ हजार मिटरभन्दा अग्लो हिमालमा कसले काम गर्छ भनेर सबैलाई थाहा छ। तर, कामको कदर हामीले पाइरहेका थिएनौं।'

देशमा पर्वतारोहण क्षेत्रलाई सम्बोधन गर्न थुप्रै संघ–संस्था रहेको उनले अवगत गराए। नेपाल सरकार, पर्यटन बोर्ड, पर्यटन मन्त्रालयसहित थुप्रै संघ-संस्था यस क्षेत्रसँग आवद्ध भएको बताए। तर तिनीहरुले पर्वतारोहीप्रति आफ्नो जिम्मेवारी पूरा नगरेको बताए।  

'नेपालमा ट्यालेन्ट छ। तर यो प्रोजेक्टको लागि स्पोन्सरले मलाई दिएको हो नि पैसा। मैले त्यो पैसा खर्च गर्नुपर्ने हुन्छ। त्यो पैसाले मैले घर बनाउन सक्थेँ होला। मेरो अन्य साथीहरुले आ-आफ्नै पैसा खर्च गरे। साथीभाइसँग पैसा उठाएर जानुभयो। हाम्रो देशमा सरकार छ त!'

सरकारलाई प्रश्न गर्दै उनले नोर्गे र हिलारीले सगरमाथा चढेको दशकौँपछि अहिले फेरि विश्वभर देशको नाम उच्च बनाएको बताए। अनि प्रश्न गरे, 'खुसीको कुरा गरेर मान्छे कहिलै अगाडि जाँदैन। कमी कमजोरीलाई समातेर कुरा गर्‍यौँ भने बल्ल हामी अघि जान्छौँ। यतिका वर्ष भइसक्यो हामीले हिमाल चढ्न सुरु गरेको तर सरकारले अहिलेसम्म पर्वतारोहीहरुलाई सहयोग गर्न सकेको छैन।'

उनले पर्वतारोहीहरुलाई सरकार र सरोकारवालाहरुले किन सहयोग गर्नुपर्छ भन्ने समेत बताए।

'एकपटक फेरि नेपाललाई फेरि विश्वमाझ ल्यायौँ हामीले। हाम्रो टिमको सबैले ज्यानको बाझी राखेर, देशको लागि गर्छु नभनेको भए यो मिसन पूरा हुँदैन थियो। त्यसैले अब यो कुरालाई विचार गर्नुपर्छ।'

पूर्जा ले नेपालमै भएको 'ट्यालेन्ट'लाई बाहिर ल्याउनुपर्छ भनेर उनले सबैले सहयोग र सही बाटो देखाउनुपर्ने बताए।

केटू शिखर आरोहणबाट आफूहरुले विश्वलाई र नेपाली राजनीतिहरुलाई एकतामा बल हुन्छ र त्यसबाट मात्रै सफलता प्राप्त गर्न सकिन्छ भनेर देखाउन खोजेको बताए।

यो एकजना व्यक्तिको बारेमा मात्रै थिएन। कुनै स्वार्थको लागि थिएन। हामी शिखरको १० मिटर अघि नै रोकियौँ। हामी एकै समयमा शिखरमा राष्ट्रिय गान गाउँदै पाइला टेक्यौँ।

प्रधानमन्त्री कार्यालय पुगेका पूर्जाले त्यहाँ केटूको शिखरमा 'यो नेपाली शिर उचाली' गाउँदै पुग्दै गरेको अनुभव सुनाए। सँगै पोखे पर्वतारोहीहरुको दु:ख पनि।

देशको नाम राख्ने र आफ्नो हक स्थापित गर्न नसके भविष्यमा कहिलै त्यो सम्भव नहुने देखेर आफूहरु केटू पुगेको उनको भनाई थियो।

'के गर्नु हजुर गरिब देशमा जन्म भयो। न त हाम्रो सरकार बलियो छ। नेपालमा भन्ने हो भने विश्वका अन्य देशभन्दा धेरै दाजुभाइ पनि छन्। तर कसैले सहयोग गरेनन्। सबैले आ-आफ्नो पैसा राखेर हिमाल चढे। देशले के दियो भनेर नसोध हामीले के दियौँ भनेर पनि हेर। हामीले त्यही गर्यौँ' उनले भने।

नेपालकै लागि भनेर केटू शिखरमा पुगेको भन्दै उनले यसलाई ओलम्पिक जितेको भन्दा ठूलो सफलता भएको बताए। सँगै सरकारलाई पर्वतारोहीहरुको हकहितमा काममा अझै काम गर्नुपर्नेमा सुझाव पनि दिए।

पूर्जाले भने प्रधानमन्त्री ओली सबैको अभिभावक भएको र आफूहरु उनका छोरा भएको भन्दै छाती फुलाएर विश्वमा नाम चिनाएर फर्किएको बताए। देश गरिब भए पनि विश्वमा सकारात्मक सन्देश पुर्‍याउन आफूहरु सफल भएको भन्दै उनले केटूमा फहराएको नेपालको राष्ट्रिय झण्डा प्रधानमन्त्रीलाई हस्तान्तरण गरे। साथै उनले अब सर्वोच्च शिखर सगरमाथाका साथै अन्य हिमालमा कीर्तिमान बनाउने योजना रहेको र सरकारलाई सहजीकरण गर्न आग्रह समेत गरे।  

सरकार पक्षले भने उनको सुझावलाई मनन् गर्ने र पर्वतारोहीहरुलाई कदर गर्दै यसै विधामा समर्पितहरुलाई सम्मान गर्नेगरि पदक घोषणा गर्ने आश्वासन दिएको छ। स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परेको सबै क्षेत्रमा सरकारले सहयोग गर्ने बताएका छन्।

पूर्जा भने अब सबै एक भएर अघि बढ्नुपर्ने बताउँछन्। भन्छन्, 'अब हामी सबै एक भएर नेपालको नामलाई विश्वमा चिनाउने प्रयास गर्नुपर्छ। ह्वी युनाइट ह्वी क्नक्वेयर, ह्वी डिभाइड ह्वी फल '



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell