PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बैतडीको बलात्कार र हत्याले उठाएको प्रश्न : कम उमेरका किन पर्छन् अपराधीको 'टार्गेट'मा?



सविन ढकाल

बैतडीको बलात्कार र हत्याले उठाएको प्रश्न : कम उमेरका किन पर्छन् अपराधीको 'टार्गेट'मा?

काठमाडौं : धेरैजसो बलात्कारको घटनामा प्रहरीको अनुसन्धानमा एउटै जसो निष्कर्ष भेटिन्छ - 'वान इच टू वान' कमै सम्भव देखिन्छ। अर्थात् एक जना पुरुषले आफ्नै उमेरकी स्वस्थ्य अर्को महिलालाई सजिलै बलात्कार गर्न कठिन हुन्छ। बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार र हत्यासँगै सुल्झिनसकेको प्रश्न हो - हत्या अगाडि कि बलात्कार? सामुहिक बलात्कार त होइन?

उस्तै उमेर समूहको हो भने एकजना पुरुषको प्रयासलाई सहजै प्रतिकार गर्न सक्छन् महिलाले। तर, यदि डर त्रास, धम्की र अन्य नशालु पदार्थ दिइएको छ भने 'वान इच टू वान'को निष्कर्षले काम गर्दैन। त्यसैगरी कम उमेरका बालिकाको हकमा पनि मिल्दैन। बलात्कार र हत्यासम्म पुगेका घटनामा उमेरको फ्याक्टर प्रष्ट देखिन्छ। पछिल्लो समय धेरैजसो कम उमेरका बालिका नै बलात्कारको सिकार हुनुको पछाडिको कारण यही हो।

बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा १७ वर्षीय भागरथी भट्टको शव फेला पर्‍यो। शरीरको तल्लो भागको कपडा खोलिएको, सटको टाँक खोलिएका र शरीरमा दाँतले टोकेका दाग देखिन्थ्यो। योनीबाट रगत बगेको थियो। त्यसैले पनि हो, घटनास्थलमा पुगेका जो कोहीले पनि बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले।

जिल्ला अस्पताल बैतडीमा शनिवार शवको पोस्टमार्टम भएको छ। चिकित्सकले प्रहरीलाई पोस्टमार्टम रिपोर्टको ब्रिफिङ गरिसकेका छन्। घटनामा 'रेप एन्ड मर्डर' देखिएको छ। तर, रेप पहिला कि मर्डर पहिला भन्ने खुलिसकेको छैन। 'हत्या भएको त सबैले भन्न सक्ने अवस्था छ। रेप पनि भएको देखियो। तर, कुन पहिला भन्ने अझै खुलेको छैन,' एक उच्च प्रहरी अधिकृतले भने।

 सम्बन्धित समाचारः भागरथीको हत्या : घटनास्थलले संकेत गर्छ बलात्कारपछि मारिइन् उनी, प्रहरीमाथि चर्को दवाव

यसरी मारिएको किशोरीको उमेर १७ वर्ष थियो। घटना बुधवार नै भएको देखिएको छ। उनी विद्यालयबाट घर जान भनेर करिब साढे २ बजेतिर हिँडेकी थिइन्। उनको घर विद्यालयबाट करिब ५ किलोमिटरको दुरीमा पर्छ। जङ्गलको एकान्त ठाउँलाई छिचोलेपछि मात्र घर पुगिन्छ। तर उनी त्यो दिन घर नपुग्दै अपराधीको सिकार भइन्।

उनी सधैँ हिँड्ने कच्ची सडकभन्दा करिब ७० मिटर तल उनको शव फेला परेको थियो। शव भएको ठाउँबाट केही पर झाडी माडिएको देखिएको छ। उनले त्यो स्थानमा आफूलाई बचाउन प्रतिकार गरेको जस्तो देखिन्छ। तर, प्राइमरी घटनास्थल पत्ता नलागेसम्म यही हो भन्न सकिँदैन। शरीरको कपडाको प्रकृति, अपराधको नेचर, घटनास्थलमा फेला परेको फुटेको मोबाइलको प्रकृतिले भने उनले आफूलाई बचाउन प्रतिकार गर्न खोजेको देखिएको छ।

चौतर्फी प्रेसर परेपछि प्रहरीको ठूलै जत्थाले घटनाको अनुसन्धान गरिरहेको छ। सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदी समेत घटनास्थलमा नै एक दिनदेखि छन्। बलात्कार पुष्टि भइसकेको छ। तर, प्रहरीले आधिकारिक रूपमा मुख खोलेको छैन। विगतका घटनाले सबक सिकाएको प्रहरी यस्ता घटना हतारो प्रतिक्रिया दिने पक्षमा पनि छैन।

बलात्कार भएपछि प्रश्न जन्मिन्छ, सामूहिक कि एकल? एकल बलात्कार भए किशोरीको उमेरभन्दा बढी उमेर समूहको मानिसबाट भएको हुनसक्ने आँकलन गरिन्छ। प्रहरीले अहिले सबै पक्षका मानिसलाई बोलाएर अनुसन्धान गरिरहेको छ।

'मलाई एउटा घटना याद छ। एउटै उमेरको मानिसले खेतको कान्लामाथि तानेर बलात्कार गर्‍यो भनेर अदालतमा बयान दिएकै आधारमा पनि मुद्दा कमजोर भएको थियो। त्यसैले बलात्कारको केसमा दुई पक्षको उमेर, शारीरिक बलले पनि माने राख्दछ,' पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने।

बिहीवार मृत भेटिएकी भट्ट १७ वर्षकी थिइन्। पछिल्लो समय प्रहरीको तथ्याङ्क केलाउने हो भने सबैभन्दा धेरै बलात्कारको सिकार बालिका नै हुने गरेका छन्।

बालिका नै बलात्कारको सिकार

२०७५ साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भयो। दिउँसोको समयमा बाटोबाट करिब ७० मिटरभित्र उखुबारीमा लगेर हत्या गरिएको खुलेको छ। तर शव भेटिएको स्थानमा बलात्कार नभएर त्यही आसपास भएको अनुसन्धानमा खटिएका प्रहरीले बताउँदै आएका छन्।

१३ वर्षकी र कम तौल भएकी बालिकालाई एउटा वयस्क पुरुषले सहजै बोकेर एकान्तमा लगी बलात्कार गर्न सम्भव देखिएको थियो। पोस्टमार्टम रिपोर्टले पनि उनको सामूहिक बलात्कार नभएको देखाएको छ।

प्रहरीको तथ्याङले दैनिक देशभर ३ जना बालबालिका बलात्कृत हुने गरेको देखाउँछ। गएको ६ महिनामा मात्र देशभर ८ सय ४ जना बालिका बलात्कृत भएको देखाएको छ। आर्थिक वर्षको पुस महिनासम्म देशभर १ हजार २ सय ७२ वटा बलात्कारका घटन भएका थिए। जसमा ८ सय ४ जना बालिका र ४ सय ६७ जना महिला रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादु कुँवरले जानकारी दिए।

जसमा १० वर्षमुनिका बालिकाको सङ्ख्या १ सय ४९ जना रहेको छ। ११ देखि १६ वर्षसम्म ४ सय ८२ जना छन्। १७ देखि १८ जना १ सय ७३ जना रहेको प्रहरीले जानकारी दिएको छ।

'बालिका बलतकृत हुनुको सङ्ख्या बढ्नुमा धेरै कुराले असर पार्छ। प्राविधिक पहुँच, शारीरिक लगायत धेरै कुराले गर्दा आपराधिक मानसिकतालाई जन्म दिएको देखिन्छ,' पूर्व डीआइजी मल्लले भने।

आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार १ सय ६७ वटा बलात्कार घटना भए। जसमा १ हजर ३ सय ९३ वटा घटनामा बालिका नै सिकार भएको देखिन्छ। महिलाको सङ्ख्या भने ७ सय ७१ छ। १० वर्ष मुनि बालिका बलात्कृत हुने सङ्ख्या २ सय ७३ रहेको छ। ११ देखि १६ उमेर समूहमा ८ सय १ जना रहेको छ। १७ र १८ वर्ष उमेर समूहमा ३ सय १९ जना रहेका छन्।

आर्थिक वर्ष २०७५/७६मा बलात्कारको घटना २ हजार २ सय ५४ वटा भएका छन्। बालिकाको सङ्ख्या १ हजार ४ सय २० वटा रहेका छन्। धेरै जसो बलात्कारको घटनामा आफन्त र चिनेजानेका बाट नै हुने गरेको छ। बलात्कारपछि घटना खुल्ने डरमा हत्या गर्ने गरेको भेटिएको छ।

'अनुसन्धानले ८० प्रतिशत बलात्कारको घटना चिनिजानेकाबाट नै भएको देखिएको छ। अपराध खुल्ने डरले बलात्कारपछि हत्या गर्ने गरेका छन्,' पूर्व डीआइजी मल्लले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell