PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ओली 'डिफेन्सिभ' भइसकेको प्रचण्ड-नेपालको दावी : राजनीतिक वातावरण हाम्रो पक्षमा गयो



पहिलोपोस्ट

ओली 'डिफेन्सिभ' भइसकेको प्रचण्ड-नेपालको दावी : राजनीतिक वातावरण हाम्रो पक्षमा गयो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपीशर्मा ओली डिफेन्सिभ भएको दाबी गरेको छ।

माघ २३ गतेको काठमाडौंमा भएको आमसभापछि ओली समूहमा निरासा छाएको प्रचण्ड-नेपालको ठम्याई छ।

ओलीले ३ लाख मानिस आमसभामा उतार्ने दाबी गरे पनि ३०/४० हजार भन्दा बढी उपस्थित नहुँदा उनीहरु आफै आरोप प्रत्यारोपमा लागेको प्रचण्ड-नेपालले दाबी गरे।

ओली समूहको २३ गतेको आमसभाको जवाफ दिने तयारीमा रहेको ओली इतर समूहले २८ गतेको सभालाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ।

प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषदको बैठकमा प्रचण्डले ओली डिफेन्सिभ भएको बताएका हुन्।

आफू समूहका शिक्षकलाई फकाउन उनले ओली शैक्षिक क्षेत्र सुधारको बाधक भएको आरोप समेत लगाए।

'केपी ओली नै शिक्षा क्षेत्रको सुधार रोक्ने व्यक्ति हो। यसो भन्दा केपी ओलीसँग बढी नै रिस गरेको जस्तो देखिएला। तर, शिक्षा क्षेत्रको सुधारका प्रस्ताव क्याबिनेटमा थन्किएका छन्। त्यसैले ओली नै यसका बाधक हुन्,' उनले भने।

प्रतिगमन बिरुद्धको लडाइ सकिएपछि प्रस्तावहरु अघि बढाउने प्रचण्डको भनाई थियो।

शिक्षकप्रति ओलीले दोहोरो मापदण्ड अपनाएको उनको भनाई थियो। कुनै कमिटीमा नराखौं भन्ने ओलीले केन्द्रीय कमिटी बिस्तारमा अधिकांश शिक्षकलाई राख्नु ठगी भएको उनको तर्क थियो।

'पार्टीको कुनै कमिटीमा शिक्षक साथीलाई नराख्नु भन्ने केपी ओलीको ठगीवाला कुरा थियो। नभए अहिले केन्द्रीय कमिटीमा थुप्रै साथी राख्नुभएको छ। ओलीले वैचारिक समूहसँग शिक्षकले लगाव राख्छन् भनेर नराखेको रै'छ। ओली बुद्धिजिविसँग अलि तर्सिने रहेछन्,' प्रचण्डले भने।

संविधान र नागरिकमाथि प्रतिगमन गरेर ओली हारिसकेको उनको भनाई थियो।

'केपीजीले जसरी प्रतिगमन गर्नुभयो उहाँले बाजी हार्नुभयो। जित्ने कुनै सम्भावना पनि छैन। हामी क्रान्तिका पक्षमा उभियौं। हाम्रो जित कसैले रोक्ने सक्दैन्,' उनले भने।

आफू पद लोभी नभएको बरु पार्टी बचाउन त्याग गर्ने नेता भएको उनले दाबी गरे।

'मैले त पार्टी जोगाउन पद छोडेकै हो। म पार्टी बनाउँछु भन्दै हिँडेको मानिस हो नि। प्रतिक्रान्ति गर्नका लागि क्रान्तिकारी विचारलाई भुत्ते बनाइदिने कुरा हो, पदका लागि हो भन्दै केपीका मानिसहरु प्रचार गर्दै हिँडेका छन्,' उनले भने।

माओवादी जनयुद्ध शान्ति प्रक्रियामा आउँदा पनि धेरैलाई मन नपरेको प्रचण्डको भनाई थियो। तर, आफूहरुको ताकतका अगाडि कसैको केही नचलेको उनको भनाई थियो।

'जनताको ताकत यति बलियो भयो कि हामीलाई रोक्ने सकेनन्। जनताको ताकतलाई चुनौति दिन नखोजेका होइनन्। किन हामीलाई दुई दुई पटक संविधानसभाको चुनाव गर्नु पर्‍यो? मलाई त थाहा छ कुनकुन शक्तिहरुको कस्तो भूमिका थियो भन्ने,' उनले भने।

प्रचण्डले देशको राजनीतिक वातावरण बिस्तारै आफ्नो पक्षमा बन्न थालेको दावी गरे।

'वातावरण विस्तारै सकारात्मक बन्दै गएको छ। जनता र देशका पक्षमा वातावरण बन्दै छ। २८ गतेको सभाले पनि थाहा होला,' उनले भने।

ओली अब रक्षात्मक भइसकेको उनको दाबी थियो।

'केपी ओली समूह डिफेन्सिभ हुनेतिर गए। उनकै सेक्युरिटीले ३०/३५ हजार भन्दा बढी थिएनन् भनेपछि अहिले मुखामुख गरिरहेका छन्,' उनले भने।प्रचण्ड अघि सम्बोधन गरेका माधव नेपालले पनि ओली समूह निराश भएको दाबी गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell