PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाका कारण गतवर्ष प्रदर्शन रोकिएका फिल्महरु 'होल्ड'मै, निर्देशकहरु भन्छन् : 'फिल्म रिलिज गर्ने उचित समय आएकै छैन'



लक्ष्मी बलायर

कोरोनाका कारण गतवर्ष प्रदर्शन रोकिएका फिल्महरु 'होल्ड'मै, निर्देशकहरु भन्छन् : 'फिल्म रिलिज गर्ने उचित समय आएकै छैन'

गत वर्ष फागुन ३० गते सिनेमा घरहरुमा 'म यस्तो गीत गाउँछु २' प्रदर्शन हुने पक्का भइसकेको थियो। पहिलो भाग सफल भएसँगै सिक्वेल पनि राम्रै हुने अनुमान निर्माण पक्षको थियो। तर फिल्म प्रदर्शन भएन। कारण - कोरोना भाइरसको संक्रमण।

नेपालमा कोरोना संक्रमण शून्य रहेको अवस्था थियो त्यतिबेला। तर संक्रमणको जोखिम भने बढ्दै थियो। त्यसैले सिनेमाघरहरु संचालनमा रोक लगाइएसँगै फिल्म प्रदर्शन हुन सकेन।

हाल कोरोना संक्रमणको अवस्था सामान्य भइ सिनेमा घरहरु संचालनमा छ। तर 'म यस्तो गीत गाउँछु २' भने प्रदर्शनको मिति तय गर्ने आँट गरेको छैन। 'म यस्तो गीत गाउँछु २' का निर्देशक सुदर्शन थापा हल खुलेता पनि अहिले नै फिल्म प्रदर्शन गर्ने तयारीमा नरहेको बताउँछन्।

उनी भन्छन्, 'शतप्रतिशत फिल्म हल खुलेको छैन। सामाजिक दुरी कायम गरेर नै हलमा फिल्म हेर्न पाइने भनिएको छ। अहिले फिल्म रिलिज गर्ने सोच नै बनाएको छैन।'

++‌+

कोरोनाका कारण ठप्प बनेको नेपाली फिल्म क्षेत्रलाई आशा देखाउँदै माघ १ गते सिनेमा घरमा ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भएको थियो। करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ डेब्यु फिल्म। प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशीलगायतको अभिनय भए पनि फिल्मले सोचे अनुरुप दर्शकलाई हलसम्म तान्न सकेन। त्यसपछि हलमा कुनै पनि नेपाली फिल्म रिलिज हुन सकेका छैनन्।

यही फिल्मको उदाहरण देखाउँदै निर्माताहरु अहिले नै 'होल्ड' मा रहेका फिल्मलाई पर्दामा उतार्न तयार छैनन्।

'नीरफूल' गत वर्षको चैत ७ मै रिलिज हुने कुरा थियो। उसो त नीरफूलको पहिलो रिलिज डेट गत वर्षको फागुन ३० गते तोकिएको थियो। पछि चैत ७ लाई सारियो। त्यो पनि कोरोनाका कारण प्रभावित बनेको थियो। हल खुलिसकेका छन्, अब प्रदर्शन कहिले त? फिल्म अहिले नै प्रदर्शन नगर्ने बताउँछन् निर्देशक वल।

भन्छन्, 'हलमा दर्शकको माहोल भने बन्न सकेको छैन। दर्शक नआउँदा फिल्म रिलिज गर्ने कुरा नै भएन। अवस्था सामान्य बनिसकेको छैन। वैशाखपछि अवस्था के हुन्छ अनि सोच्छु।'

आर्थिक भारको कुरा

प्रदर्शन गर्न तयार पारेको फिल्म 'होल्ड' मा राख्दा आर्थिक भार निकै झेल्नु परेको निर्देशक सुर्दशन बताउँछन्। त्यसैले सबै कुरा सामान्य भएपछि मात्र फिल्म रिलिज गर्ने सोच छ उनको।

सुदर्शन जस्तै वल पनि रिलिज हुने फिल्म रोकिदाँ आर्थिक भार परेको सुनाउँछन्।

भन्छन्, 'रिलिज गर्नै लागेको फिल्म रोकिँदा लामो समयसम्म हुर्काएको बाली काट्ने बेलामा आधीहुरी आएको जस्तो हुन्छ।'

वलका अनुसार सरकारले चलचित्र क्षेत्रलाई भनेर राहत प्याकेज ल्याएको छ। हल खुलेको ६ महिनासम्म फिल्म रिलिज गर्नेलाई पोस्टर, प्रर्दशन सामाग्री, ट्रेलर रिलिजमा खर्च व्यहोर्ने कुरा भएको छ। उक्त प्याकेज राम्रो भएपनि त्यसले 'नीरफूल' र 'म यस्तो गीत गाउँछु'समेट्न नसकेको बताउँछन् उनी।

'यी दुवै फिल्मले प्रमोसनमा २० देखि ३० लाख खर्च गरिसकेको थियो। फेरि रिलिज गर्दा त्यति नै लगानी जान्छ। यो दुइटा फिल्ममाथि अन्याय भएको छ। जसलाई सरकारको प्याकेजले समेट्न सकिरहेको छैन,' उनले गुनासो गरे।

+++

गत वर्ष फागुनचैतमा ४ वटा फिल्म प्रदर्शन हुने तय भएको थियो। 'चपली हाइट ३' र 'प्रेमगीत ३' प्रतिक्षित चलचित्र थिए।  चैत्र २८ मा रिलिज हुने भनिए पनि प्रदर्शन हुन सकेन। हाल 'प्रेमगीत ३' फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ। निर्देशक सन्तोष सेन भन्छन् 'अहिले फिल्म रिलिज गर्ने सोच नै छैन।'

निकै खर्च गरेर फिल्मलाई 'पोलिस' लगाउने काम भइरहेको बताउने उनी आफ्नो फिल्म रिलिज गर्न समय लिने मुडमा छन्।

'वैशाखदेखि दशैँबिचमा फिल्म रिलिज गरिसक्ने सोच छ,' उनले भने।

'चपली हाइट ३' का निर्देशक निकेश खड्का पनि फिल्म रिलिजका लागि उचित समय कुरिरहेका छन्। 'धेरै लगानी लगाएकाले देशविदेशमा अवस्था सामान्य नभए सम्म फिल्म रिलिजबारे केही नि सोचेको छैन,' उनले भने।

डिजिटल प्लेटफर्ममा छैन भर

कोरोना संक्रमणका कारण विश्वभर नै सिनेमा क्षेत्र प्रभावित बन्यो। सिनेमा घर महिनौंसम्म बन्द रहँदा 'ओभर द टप' (ओटीटी)  प्ल्याटफर्म चर्चामा रह्यो। हलिउड र बलिउडका कयौं चलचित्रहरु डिजिटल प्ल्याटफर्ममा रिलिज भए। नेपालमै ओटीटी प्ल्याटफर्म चलाउने धेरै देखिए। तर, नेपाली फिल्म निर्माताहरुले रिक्स लिएर फिल्म ओटीटीमा प्रदर्शन गर्न सकेनन्।

निर्देशक वल कोरोनाको समयमा डिजिटल प्ल्याटफर्मको दायरा बढेको बताउँछन्। भन्छन् 'कोभिड१९ ले गर्दा डिजिटल प्लेटफर्मबाट फिल्म हेर्ने बानी बसेको छ। मनोरञ्जन लिन हलसम्म नै जानुपर्छ भन्ने मान्यता हटेको छ।'

तर, नेपाली फिल्म निर्माताहरुले हल केन्द्रित भएर फिल्म बनाउने भएकोले ओटीटी प्ल्याटफर्ममा जान नसकेको उनले बताए।

भन्छन् 'नेपालमा शतप्रतिशत डिजिटल प्ल्याटफर्मको विकास भएको छैन। ‌ओटीटीमा लगानी सुरक्षित गर्न गाह्रो छ। त्यसैले हलमा रिलिज गरीसकेपछि मात्रै ओटीटीमा फिल्म रिलिज गर्ने सोच छ ।'

नयाँ वर्षमा आउँदै यी फिल्महरु

निर्देशकहरुकै कुरा मान्ने हो भने गत वर्ष प्रदर्शन हुने भनिएका चलचित्रहरु फेरि प्रदर्शन हुने सम्भावना यो वर्ष पनि निकै न्यून छ। रिलिज भएको एउटा फिल्मले पनि दर्शक तान्न नसकेको अवस्थामा सिनेमाघरमा नयाँ फिल्म चलाउने रिक्स भने थोरैले मात्रै लिन सक्छन्।

अन्यौलताबिच नयाँ वर्षलाई टार्गेट गरेर केही फिल्म प्रदर्शन हुने लाइनमा छन्। जसमध्ये फिल्म ‘कृष्ण लीला’ को प्रदर्शन मिति तय भइसकेको छ। चैत २७ गते सिनेमा हलमा कृष्ण लीला प्रदर्शन हुने तय भएको छ। त्यसैगरी 'लप्पन छप्पन २' पनि चैत २७ बाट नै रिलिज हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell