काठमाडौं: आजबाट नेपाली क्रिकेट टोलीको दोस्रो चरण प्रशिक्षण सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघि पहिलो चरणमा क्यानले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका २१ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। उक्त प्रशिक्षण शुक्रवार सकिएको थियो।
आजबाट सुरु हुने दोस्रो चरणको प्रशिक्षणमा सिनियर खेलाडीहरुको सहभागिता जनाउने छन्। यसअघि क्यानले दोस्रो चरणका लागि बोलाइएका खेलाडीमध्ये आरिफ शेख चोटका कारण उपलब्ध हुने छैनन्।
यी हुन् दोस्रो चरणमा प्रशिक्षणका लागि बोलाइएका खेलाडी
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर, कुशल मल्ल, अभिनाश बोहोरा, कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, विक्रम सोब, सुन्दीप जोरा, पृथु बास्कोटा, साहब आलम, वसन्त रेग्मी
सिरिज भने स्थगित
नेपाल क्रिकेट संघ (क्यान) ले सिडब्लुसी आईसीसी लिग टू अन्तर्गत ओमनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजलाई लक्षित गर्दै प्रशिक्षणमा खेलाडीहरुलाई बोलाएको थियो। यद्यपि २०२१ मार्च महिनामा नेपाल, ओमन र युएसए सम्मिलित एकदिवसीय सिरिज भने स्थगित भइसकेको छ।
ओमन सिरिजका लागि क्यानले माघ २२ गते बन्द प्रशिक्षणका लागि ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। यसमध्ये पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका २१ जना खेलाडीको प्रशिक्षण सुरु गरिएको थियो भने बाँकी सिनियर खेलाडीले पछि प्रशिक्षणमा आउने बताइएको थियो।
यसअघि पनि कतारमा सिरिज खेल्न नेपाली टोलीको घोषणा भएर पनि पछि खेल स्थगित भएको थियो।
व्हाटमोरको प्रशिक्षण
नेपाली क्रिकेट टोलीका नवनियक्त प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन्। पहिलो चरणमा २१ जना खेलाडीलाई प्रशिक्षण दिएका उनले बाँकी २० जना सिनियर खेलाडीलाई आजबाट प्रशिक्षण दिनेछन्।
