PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

भैरहवामा कांग्रेसको विरोधसभा : नेतालाई 'वीपीको समाजवादी' गलबन्दी, देउवा किन देखिए मलिन?

भैरहवामा कांग्रेसको विरोधसभा : नेतालाई 'वीपीको समाजवादी' गलबन्दी, देउवा किन देखिए मलिन?

पूजा पन्थी/पहिलोपोस्ट


बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्‍यो। यसैक्रममा कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका थिए।

कार्यक्रमलाई सफल बनाउनको लागि बिहानै देखि र्‍याली निकालिएको थियो। र्‍याली भैरहवा बजार परिक्रमा गरेर कार्यक्रम स्थलमा नआउँदै सभापति देउवा आइपुगे।

देउवा कार्यक्रम स्थलमा आउँदा सभा हुने स्थानमा थोरै संख्यामा मात्रै कार्यकर्ता थिए। यो देख्दा देउवाको अनुहारमा मलिनता छाएको देख्न सकिन्थ्यो। सभापति आएको केही समयमा नै र्‍याली आयो। त्यो देख्दा उनी प्रफुल्लीत भए। सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरे। निर्वाचनको मिति नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगर्नु शंकास्पद विषय भएको देउवाको भनाई थियो।

सम्बन्धित समाचार : जेठसम्ममा चुनाव हुनैपर्ने भन्दै निर्वाचन आयोगप्रति देउवाको शंका, 'बदमासी गर्न सक्छ है आयोगले, खै कार्यतालिका ल्याएको?'

रुपन्देहीका १६ पालिकाबाट हजारौंको संख्यामा रहेका कांग्रेस कार्यकर्ताहरुले ‘तनहुँमा भएको दुर्व्यवहार-अपमान र अत्याचार’, ‘बढ्दो महिला हिंसा र बलात्कार, अर्कमण्ड भयो ओली सरकार’, ‘अति भो अति भो, मुलुककै छवि छत्ति भो’, ‘लुम्बिनी प्रदेशको राजधानी रुपन्देही कायम गर’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

पछिल्लो समय नेकपा केपी शर्मा ओलीको फोटोसहितको ‘आई एम विथ केपी ओली‘ लेखिएको गलबन्दी चर्चामा आएको थियो। त्यसैको सिको गर्दै कांग्रेसले पनि ‘वीपीको समाजवाद दिगो विकासको लागि’लेखिएको गलबन्दी तयार गर्‍यो।

भैरहवामा आयोजना गरिएको कार्यक्रममा सभापति देउवासहितका नेताहरुलाई सो गलबन्दी प्रदान गरिएको थियो। तर, पार्टी सभापति देउवा, नेता बालकृष्ण खाँण, भरत शाह लगायतले सो गलबन्दी नलगाई छेउमै राखे। तर, जिल्ला समितिका सचिव रामकृष्ण खाँणले भने लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell