PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

संविधानको सहारा लिँदै केन्द्रीय कार्यसमितिको म्याद छ महिना थप्ने कांग्रेसमा प्रस्तावः एकीकरण गरेका दलबाट आउनेलाई केन्द्रीय सदस्य लड्‍न कडाइ



पहिलोपोस्ट

संविधानको सहारा लिँदै केन्द्रीय कार्यसमितिको म्याद छ महिना थप्ने कांग्रेसमा प्रस्तावः एकीकरण गरेका दलबाट आउनेलाई केन्द्रीय सदस्य लड्‍न कडाइ

काठमाडौं: नेपाली कांग्रेसको कार्यसमितिको म्याद छ महिना थप गर्नेगरि केन्द्रीय समितिमा प्रस्ताव पेस भएको छ। चार वर्ष कार्यकाल रहेको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ। संवैधानिक प्रावधान अनुसार नै थप ६ महिना बढाउने सक्ने व्यवस्थालाई टेकेर केन्द्रीय समितिमा उक्त प्रस्ताव पेस भएको हो।

महाधिवेशन आउँदो भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव गरिएको छ। 

कोरोनाका कारण लामो समयसम्म लकडाउन भएपछि महाधिवेशन अनिश्चित बनेको थियो। फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति प्रस्ताव गरिएको थियो।

तोकिएको अवधिमा महाधिवेशन नहुने भएसँगै ६ महिना समय थपको प्रस्ताव गरिएको हो। १४औँ महाधिवेशनबाट निर्णय पेस गर्नेगरि उक्त प्रस्ताव गरिएको हो।

प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९(४) (ख) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने। उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ।’

सम्बन्धित समाचार : काँग्रेस केन्द्रीय समितिका यी हुन् ३ प्रमुख एजेन्डा, कुन पक्ष होला हावी, देउवा कि पौडेल?

यस्तै, क्रियाशील सदस्य अवधिसम्बन्धी व्यवस्था निलम्बनको प्रस्ताव पनि गरिएको छ। यस्तै, कांग्रेसमा एकीकरण भएका वा विलय भएका दल राष्ट्रिय मान्यताप्राप्त भएको अवस्थामा मात्र त्यस्ता दलबाट कांग्रेस प्रवेश गरेकाले केन्द्रीय कार्यसमितिको उम्मेदवार हुन पाउने प्रस्ताव गरिएको छ।

प्रस्तावमा भनिएको छ, ‘कुनै राजनीतिक दल नेपाली कांग्रेससँग एकीकरण वा विलय हुँदा राष्ट्रिय मान्यताप्राप्त दल रहेछ भने त्यस्तो दल एकीकरण वा विलय हुँदा उक्त दलको केन्द्रीय कार्यसमितिको सदस्य रहेको व्यक्ति वा राष्ट्रिय मान्यताप्राप्त दलको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य भएको व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाउनेछ ।’

केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार ती सबै प्रस्तावित विषय हुन्। यसमाथि केही दिन छलफल चल्ने र सामान्य हेरफेरपछि पारित हुनेछन्।

'केन्द्रीय समिति विषेशतः महाधिवेशनको मितिमै केन्द्रित रह्यो। आज केन्द्रीय समितिमा राखिएका प्रस्तावहरुमाथि दुई तीन दिनसम्म छलफल चल्नेछ। र ती सामान्य हेरफेरपछि पारित हुनेछन्' पाण्डेले भने।

उनले संसद् पुनर्स्थापनाको विषयमा भोलिका बैठकमा छलफल प्रवेश हुने उनले बताए।

पढ्नुस् प्रस्तावको पूर्णपाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell